कम्पनीले आर्थिक वर्ष २०६३/६४ देखि २०६७/६८ को वार्षिक साधारण सभा अमृतभोग क्याटरर्स कालिकास्थान, काठमाडौंमा शुक्रबार दिउसो १ बजेका लागि राखेको थियो ।
साधारण सभामा उपस्थित रहेका शेयरधनीहरुले लाभांश विनाको साधारण सभा स्थगित गनुपर्ने माग राख्दै सभा सञ्चालनमा केहिबेर अवरोध सृजना गरेपछि निर्धारित समय भन्दा झण्डै दुई घण्टा ढिलो साधारण सभा सुरु भएको छ । साधारण सभामा बोल्ने अधिकांश लगानीकर्ताले लाभांश सहितको साधारण सभा तुरुन्तै राख्नुपर्ने माग गरेका छन् ।
कम्पनीले यसअघि लगानीकर्तालाई १२० प्रतिश बोनस सेयर र ५.१४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । तर नियामक बीमा समितिले अनुमोदन नगरेपछि कम्पनीको लाभांश रोकिएको थियो ।
कम्पनीले घोषणा गरेको बोनसको प्रलोभनमा परेर चर्को मूल्यमा शेयर किन्ने लगानीकर्ताहरु बढी आक्रोशित देखिएका छन् ।
राष्ट्रिय बीमा कम्पनीले २०५१ सालदेखि २०७१ सालसम्म बीमा संस्थानका रुपमा रहँदाको कतिपय हिसाब अझै मिलाउन नसकेका कारण १२० प्रतिशत बोनस वितरण गर्ने प्रस्तावलाई तत्काललाई स्थगित गर्दै साधारण बोलाएको हो ।
राष्ट्रिय बीमा कम्पनीले विभिन्न आर्थिक वर्षको गरी झण्डै ८० करोड रुपैयाँ बराबरको सस्पेन्स एकाउण्टको हिसाब मिलान गर्न बाँकी छ । कमपनीले आर्थिक वर्ष २०७२/७३ सम्मको लेखापरीक्षण भने पुरा भएको छ ।
तर सस्पेन्स एकाउण्टको हिसाब नमिलेका कारण २०६८/६९ पछिका लेखापरीक्षण भईसकेका वर्षको साधारण सभा हुन नसकेको हो । अब सस्पेन्स हिसाब मिलान भएपछि अर्को साधारण सभाबाट मात्र बीमा कम्पनीले यस अघि प्रस्ताव भएको १२० प्रतिशत बोनस वितरण गर्नेछ ।