यस संसोधनसँगै शेयरधनीलाई एकाघर परिवारको शेयर नामसारीका लागि नेपाल स्टक एक्सचेञ्जको कार्यालय धाउनुपर्ने युगको अन्त्य भएको छ ।
मोफसलमा रहेका शेयर लगानीकर्ताहरुले यो व्यवस्थासँगै थप सुविधा पाउने भएका छन् । यसअघि घरयासी शेयर नामसारीका लागि नासमारीमा संलग्न हुने व्यक्तिहरु स्वंयम नेप्सेको कार्यलयमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको थियो ।
सिडिएससीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले धितोपत्र नामसारी सम्बन्धी विनीयमावली तेस्रो संसोधन गर्दै सो विनियमाली असोज २३ गते देखि कार्यान्वयनमा ल्याएको हो ।
यो व्यवस्थाले धितोपत्रको घरायसी, अंशबण्डाबाट प्राप्त हुने वा धितोपत्रधनीको मृत्युपछि हकवालामा हुने हक हस्तान्तरणमा सहयोग पुग्नेछ ।
कसरी हुन्छ नामसारी ?
घरायसी, अंशबण्डाबाट प्राप्त हुने वा धितोपत्रधनीको मृत्युपछि एकाघरको परिवारमा शेयर नामसारि गर्नका लागि हकवालाले धितोपत्र केन्द्रीय निक्षेप सेवा (तेस्रो संसोधन) विनीयमावली २०७५ अनुसारको फारम भरी धितोपत्र नामसारी हुने व्यक्तिको विवरण सहित आफ्नो हितग्राही खाता रहेको निक्षेप सदस्य आवश्यक पर्ने शूल्क सहित निवेदन दिनुपर्ने हुन्छ ।
यसरी आवश्यक पर्ने कागजात सहित निवेदकले दिएको निवेदन तथा संलग्न कागजात रुजु गरि निक्षेप सदस्य (डिपी) ले सिडिएससीको प्रणालीमा प्रविष्ट गर्ने गर्दछ । यसरी प्रणालीबाट उपलब्ध हुने विवरण सहित डिपी सदस्यले निवेदन तथा आवश्यक सम्पूर्ण कागजात सहित सिडिएससीमा पेश गर्नुपर्छ ।
अभौतिक शेयरको हस्तान्तरणका लागि धितोपत्र नामसारी गरिदिन चाहेको व्यक्तिको धितोपत्र रहेको खाताको विवरण सहित र भौतिक रुपमा रहेको शेयर हस्तान्तरणका लागि धितोपत्रको प्रमाणपत्र सहित आफ्नो हितग्राही खाता रहेको निक्षेप सदस्य कहाँ निवेदन आफ्नो हितग्राही खाता रहेको निक्षेप सदस्य कहाँ निवेदन दिनुपर्ने हुन्छ ।
तर मृत्यु पश्चात हुने नामसारीको हकमा भने मृत्यु भएको धितोपत्रधनीको नाममा रहेको धितोपत्रको विवरण र आफूले पाउने विवरण सहित निवेदन दिनुपर्ने सिडिएसीले जनाएको छ । मृत्यु पश्चात हुने नामसारीका लागि अन्य कसैको हकदाबी गर्नका लागि सिडिएससीको वेभसाइटमा ३५ दिने सूचना प्रकाशित गरेर समय प्रदान गर्नुपर्ने उल्लेख छ । यसपछि मात्र हक हस्तारण गर्नुपर्ने उल्लेख छ ।
यसरी निक्षेप सदस्यबाट प्राप्त हुने निवेदन र कागजातको आवश्यक जाँचबुझ गरि उपयुक्त देखिएमा सिडिएससीले हक हस्तान्तरण गर्ने गर्दछ ।
यसरी हक हस्तान्तरण गर्दा भौतिक रुपमा धितोपत्र रहेको भए हस्तान्तरण हुने शेयर अभौतिक रुपमा निवेदकको खातामा जम्मा गरिदिन सूचीकृत संस्था र सो संस्थाको शेयर रजिष्ट्रारको निवेदन दिनुपर्ने व्यवस्था छ । धितोपत्र बोर्डले अभौतिक शेयरको मात्र कारोबार थालेपछि शेयर प्रमाणपत्रहरुलाई अभौतिक रुपमा जम्मा गर्नुपर्ने व्यवस्थाको थालनी भएको थियो ।
के-के कागजात आवश्यक पर्छ ?
घरायसी, अंशबण्डाबाट प्राप्त हुने वा धितोपत्रधनीको मृत्युपछि एकाघरको परिवारमा शेयर नामसारि गर्नका लागि हकवालाले धितोपत्र केन्द्रीय निक्षेप सेवा (तेस्रो संसोधन) विनीयमावली २०७५ ले व्यवस्था गरेको कागजात पेश गर्नुपर्ने उल्लेख गरेको छ ।
जसमा धितोपत्र नामसारी गर्नका लागि नामसारी लिने वा दिने दुवैले नागरिकताको प्रतिलिपि, नाता प्रमाणित हुने प्रमाणपत्रको प्रतिलिपि तथा मञ्जुरीनामा आवश्यक पर्ने उल्लेख छ ।
मृत्यु पश्चात हुने धितोपत्र नामसारीका लागि भने मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि, मृतकको नागरिकताको प्रमाणित प्रतिलिपि तथा हकवालाको नागरिकताको प्रमाणित प्रतिलिपि, नाता प्रमाणित प्रमाणपत्र तथा उल्लेखित सम्पूर्ण हकवालाको नागरिकताको दुई/दुई प्रति प्रतिलिपि आवश्यक पर्ने उल्लेख छ ।
यसरी नामारी गराउने निवेदकले प्रतिलिपिकाे सक्कल प्रति समेत लिइ निवेदक स्वयं उपस्थित हुनुपर्ने विनियमावलीमा उल्लेख छ ।
कति लाग्छ हस्तान्तरण दस्तुर ?
धितोपत्र केन्द्रीय निक्षेप सेवा (तेस्रो संसोधन) विनीयमावली २०७५ ले एक व्यक्तिको नामबाट अर्को व्यक्तिको नामामा धितोपत्र हस्तान्तरण गरे वापत लाग्ने शूल्कको सम्बन्धमा पनि स्पष्ट व्यवस्था गरेको छ ।
हस्तान्तरण गर्न चाहने व्यक्तिले निवेदन दिने निक्षेप सदस्यलाई आवश्यक दस्तुर बुझाउनुपर्ने हुन्छ ।
घरयासी वा अंशबण्डाबाट गरिने हक हस्तान्तरणको लागि धितोपत्रको चुक्ता रकमको दुई प्रतिशत वा न्यूनतम २०० रुपैयाँ शूल्क तिर्नुपर्ने हुन्छ ।
धितोपत्र धनीको मृत्यु भएपछि हकवालामा पर्ने धितोपत्रको हक हस्तान्तरणका लागि धितोपत्र चुक्ता रकमका आधारमा निक्षेप सदस्यले लिने शूल्क निर्धारण गरिएको छ ।
जसमा एक लाख रुपैयाँसम्मको धितोपत्र हस्तान्तरण गर्नका लागि न्यूनतम २५ रुपैयाँ वा एक लाखको ०.५ प्रतिशतले हुने अधिकतम ५०० रुपैयाँसम्म बुझाउनुपर्नेछ ।
त्यस्तै एक लाखदेखि पाँच लाखसम्म न्यूनतम ५०० रुपैयाँ वा ०.२ प्रतिशतका आधारले अधिकतम एक हजार रुपैयाँसम्म दस्तुर तिनुपर्ने हुन्छ । चुक्ता रकम पाँच लाख भन्दा माथि १० लाख रुपैयाँसम्म रहेको धितोपत्रको हक हस्तान्तरणका लागि न्यूनतम एक हजार रुपैयाँ वा चुक्ता रकमको ०.१५ प्रतिशतले हुन आउने अधिकतम १५०० रुपैयाँसम्म शूल्क लाग्नेछ ।
चुक्ता रकम १० लाख भन्दा माथिको मृत्यु नामसारी गर्नका लागि न्यूनतम एक हजार ५०० वा चुक्ता रकम अनुसारको ०.१ प्रतिशतले हुन आउने बराबरको रकम हक हस्तान्तरण शूल्क वापत निक्षेप सदस्यलाई बुझाएर नामसारी गर्न सक्दछन् ।
यसरी निक्षेप सदस्यले लिने हक हस्तान्तरण शूल्कको ६० प्रतिशतले हुने रकम सिडिएससीलाई बुझाउनु पर्ने हुन्छ ।