दशैं मनाएर लगानीकर्ताहरु अझै कर्मथलो राजधानी नआइपुगिसकेको हुँदा शेयर बजारमा कारोबारीको उपस्थित न्यून रहेको छ । जसको कारण आइतबार १४ करोड पाँच लाख ४९ हजार रुपैयाँको शेयर कारोबार भयो ।
दशैं अघिको अन्तिम कारोबार दिन असोज २९ गते भने ३३ करोड ५८ लाखको कारोबार भएको थियो । आइतबार करिब दुई दर्जन सूचिकृत कम्पनीहरुले बार्षिक नवीकरण शुल्क नबुझाएका कारण ती कम्पनीको शेयर कारोबार हुन सकेन । जसले पनि कारोबार रकम घटेको हो ।
बजार खुले देखि नै क्रमश सुधार हुँदै आएको बजार बढेर १२४६.५२ बिन्दुमा पुगेको छ । कारोबारकाे क्रममा सात अंकसम्म नेप्से उक्लेपनि पछि फेरी गिरावट आएको थियो । यसदिन १२४ कम्पनीका ७ लाख ७२३ कित्ता शेयर दुई हजार २०४ पटक खरिद बिक्री भए । सेन्सेटिभ ईन्डेक्स १.१८ अंकले बढेर २६५.२८ अंकमा पुगेको छ।
हालसम्म गत आर्थिक बर्षको नाफाबाट बोनस घोषणा नगरेका वाणिज्य बैंकहरुको शेयर लगानीकर्ता तानिएका छन् । चालू आवको प्रथम त्रैमासिक प्रतिवेदन र लाभांश घोषणा हुन बाँकीले गर्दा पनि वाणिज्य बैंकमा लगानीकर्ता तानिएका हुन् ।
आइतबार शिर्ष कारोबार हुने १० कम्पनीहरुको सूचीमा सबै बाणिज्य बैंक रहेका छन् । प्रभु बैंकको सबैभन्दा धेरै तीन करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यसैगरि एनआईसी एशिया बैंकको एक करोड ८१ लाख र एनएमबि बैंकको एक करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सिभिल बैंक, मेगा बैंक, जनता बैंक, माछापुच्छ्रे बैंक, प्राइम कमर्सीयल बैंक, सानिमा बैंक र कुमारी बैंकको धेरै कारोबार भएको छ ।
कारोबारमा आएका उप-समूह मिश्रित देखिएका छन् । दश उप सूचकमध्ये पाँच सूचकमा वृद्धि भएको छ भने पाँच घटेको छ । जीवन बीमा सबै भन्दा धेरै ३४.७ अंकले वृद्धि भएको छ । यस्तै बैंकिङ्ग ६.५९, अन्य ५.२३ विकास बैंक ३.८५ र वित्त २.२९ अंकले वृद्धि भएको छ ।
यस दिन होटलको सूचक सबै भन्दा धेरै १५.१२ अंकले घटेको छ । उत्पादन तथा प्रशोधन १०.८३, जलविद्युत ६.६७, लघुवित्त ४.३९ र निर्जीवन बीमा १.८८ अंकले ऋणात्मक बनेको छ ।
आइतबारको बजारमा भागर्व विकास बैंकका शेयरधनीहरुले सबैभन्दा धेरै ६.२५ प्रतिशतले कमाएका छन् । यस्तै ग्रीन डेभलपमेन्ट बैंकको ५.०८ प्रतिशत, हिमालयन डिस्टीलरीको ३.८५, प्रभु बैंकको ३.३२,र पूर्णिमा विकास बैंकको शेयरमूल्य ३.१३ प्रतिशतले बढेको छ ।
यता धेरै गुमाउने कम्पनीको शिर्ष स्थानमा मिर्मिरे लघुवित्त रहेको छ । कम्पनीका शेयरधनीले आइतबारको बजारबाट ४.७९ प्रतिशतका दरले गुमाएका छन् । यस्तै ग्लोबल आइएमई लघुवित्तका ३.२८ प्रतिशत, राधी विद्युत कम्पनी ३.०६, अरुण भ्याली हाइड्रोपावर २.९८ र मेरो माइक्रो फाइनान्सको शेयरमूल्य २.३१ प्रतिशतले गिरावट भएको छ ।