हरेक वर्ष नविकरण शुल्क समयमा नबुझाउँदा धेरैजसो कम्पनीहरुको सेयर कारोबार रोक्का हुँदै आएको छ । यस पटक पनि लगानीकर्ताको मर्मलाई सूचीकृत कम्पनीहरुले बेवास्ता गरे । जसले धेरै कम्पनीहरुको सेयर कारोबार रोक्का हुन पुग्यो ।
जसका कारण आम लगानीकर्ता भने समस्यामा पर्दै आएका छन्। यसरी सेयर कारोबार रोक्का भएकामध्ये २ कम्पनीले बल्ल नविकरण शुल्क बुझाएका छन् । सो पछि नेप्सेले ती २ कम्पनीको सेयर कारोबार सुचारु गराएको छ ।
नेप्सेका अनुसार नविकरण शुल्क बुझाएपछि आरएसडीसी लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्तको शेयर कारोबार बुधबारदेखि सुचारु गरिएको हो ।
आइतबार २ दर्जनभन्दा बढी कम्पनीहरुले वार्षिक नविकरण शुल्क नबुझाए पछि नेप्सेले सबै कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो ।
कम्पनीहरुले प्रत्येक आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्य अर्थात असोज मसान्तमा नबीकरण शुल्क बुझाउनु पर्ने हुन्छ । यो विषय थाहा भएर पनि कम्पनीहरुले हेलचेक्राँई गरेका हुन् ।
यसले सूचीकृत कम्पनीहरु लगानीकर्ताप्रति जवाफदेही नहुनुका साथै संस्थागत सुशासनमा कमजोर रहेको देखाएको हो ।
यस्ता कम्पनीहरुलाई सेयर कारोबार रोक्का गर्ने मात्र नभई अझै कडा किसिमको कार्वाही गर्नु पर्ने टड्कारोबा आवश्यक्ता देखिएको छ । नत्र भने प्रत्येक आर्थिक वर्षमा नविकरण शुल्क तिर्नुपर्ने विषय थाहा हुँदा हुँदै किन कम्पनीहरु गल्ती दोहोर्याई रहन्छन् ?
कारोबार रोक्का गरिएका कम्पनीमध्ये सोमबार ५ वटाको, मंगलबार २ वटा कम्पनीको र बुधबार थप २ गरी ९ कम्पनीको मात्र सेयर कारोबार सुचारु भएको हो ।
नेप्सेले धितोपत्र कारोबार नियमावली बमोजिम सूचीकरण नविकरण शुल्क असाेज मसान्तसम्म बुझाउन भदौमा नै सूचीकृत सबै कम्पनीलाई पत्राचार गरेको थियो । एक महिनासम्म कम्पनीहरु रमिता हेरेर बसेका कारण अहिले यो अवस्था आएको हो ।