घरायसी तथा मृत्युपछिको शेयर नामसारीको जिम्मा सिडिएससीलाई, अब झनै सरलीकृत

Oct 26, 2018 Merolagani

नेपाल धितोपत्र बोर्डले घरायसी तथा मृत्युपछिको शेयर नामसारी प्रक्रियालाई सरलीकृत गर्दे यसको जिम्मा केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) लाई दिएको छ। बोर्डले केन्द्रीय निक्षेप सेवा विनियामवली, २०६८ लाई तेस्रो पटक संशोधन गर्दै घरायसी तथा मृत्युपछिको शेयर नाम सारिको जिम्मा सिडिएससीलाई दिएको हो।

यसअघि सडिएस एण्ड क्लियरिङ्गको स्थापना भए पश्चात धितोपत्रको राफसाफ तथा नामसारी कार्य उक्त कम्पनीबाट हुने गरको तर घरायसी तथा मृत्यु नामसारी कार्य नेप्सेले नै गर्दै आईरहेको थियो ।

सिडिएसीले धितोपत्रको राफसाफ तथा नामसारी कार्य स्व:चालित प्रणालीमार्फत गरिरहेको एवं धितोपत्रको अभौतिकिरण भए पश्चात घरायसी तथा मृत्यु नामसारी सम्बन्धी कार्य नेप्सेले गर्दा धेरै समय लाग्ने, अनावश्यक झण्झट ब्योहोर्नु पर्ने लगायतका विविध कठिनाई शेयरधनीहरले व्यहोरिरहेको भन्दै बोर्डले यसको सबै जिम्मा सिडिएससीलाई दिएको जनाएको छ ।

यसअघि देशै भरिका लगानीकर्ता शेयर नामसारी गर्न राजधानी आउन बाध्य हुने गरेका थिए। अब सिडिएससीबाट नै यो सबै काम हुने भएपछि लगानीकर्तालाई समेत राहात मिल्ने भएको छ ।

बोर्डले पास गरेको विनियमावली अनुसार कागजी रूपमा भएका वा अभौतिक शेयर नामासरी गर्न सबैभन्दा पहिले लगानीकर्ताले निक्षेप सदस्यकहाँ तोकिएको ढाँचामा निवेदन दिनुपर्छ। प्राप्त भएको निवेदनलाई निक्षेप सदस्यले सिडिएससीको प्रणालीमा प्रविष्टि गर्ने छन्।

निक्षेप सदस्यले प्रणालीमा प्रविष्टी गरे पश्चात प्रणालीबाट उपलब्ध हुने विवरण सहित निवेदन तथा संलग्न सम्पूर्ण कागजात आवश्यक कारबाहीका लागि सिडिएससीमा पेश गर्नुपर्नेछ । यसरी निक्षेप सदस्यबाट प्राप्त हुन आएको निवेदन तथा कागजातको आवश्यक जाँचबुझ गरी उपयुक्त देखिएमा सिडिएससीले निवेदन बमोजिम धितोपत्रको हस्तान्तरण यथाशीघ्र गरि दिनुपर्ने व्यवस्था गरिएको छ ।

>>>अब निक्षेप सदस्यबाटै घरयासी नामसारी हुने, यस्ता छन् आवश्यक कागजात

 

धितोपत्रको धनीको मृत्युपछिको नामासरीको हकमा अब राष्ट्रिय दैनिकको सट्टा सिडिएससीको वेब साइटमा ३५ दिने सूचना जारी गरे पुग्ने व्यवस्था विनियमावलीमा गरिएको छ। धितोपत्र धनीको मृत्यु पश्चात् हकवालामा सर्ने धितोपत्रको हस्तान्तरण गर्दा सो धितोपत्रसँग सम्बन्धित बोनस तथा लाभांश लगायतका लाभहरु समेत हकवालाको नाममा हस्तान्तरण हुने व्यवस्था विनियमावलीमा गरिएको छ।

हाल बैंक तथा वित्तीय संस्था, धितोपत्र दलाल, मर्चेन्ट वैंकर तथा तिनका शाखाहरुमार्फत देशै भरिबाट डिपि सेवा प्रदान भइरहेको परिप्रेक्ष्यमा उल्लेखित व्यवस्थावाट सूचीकृत धितोपत्रको घरायसी तथा मृत्यु नामसारी प्रक्रिया अत्यन्त सरल, सहज तथा व्यापक भई लगानीकर्ताहरु लाभान्वित हुने देखिन्छ ।

हाल ६७ निक्षेप सदस्यले ७७ वटै जिल्लाबाट निक्षेप सेवा उपलब्ध गराएका छन्।

के-के कागजात आवश्यक पर्छ ?

घरायसी, अंशबण्डाबाट प्राप्त हुने वा धितोपत्रधनीको मृत्युपछि एकाघरको परिवारमा शेयर नामसारि गर्नका लागि हकवालाले धितोपत्र केन्द्रीय निक्षेप सेवा (तेस्रो संसोधन) विनियमावली २०७५ ले व्यवस्था गरेको कागजात पेश गर्नुपर्ने उल्लेख गरेको छ ।

जसमा धितोपत्र नामसारी गर्नका लागि नामसारी लिने वा दिने दुवैले नागरिकताको प्रतिलिपि, नाता प्रमाणित हुने प्रमाणपत्रको प्रतिलिपि तथा मञ्जुरीनामा आवश्यक पर्ने उल्लेख छ ।

मृत्यु पश्चात हुने धितोपत्र नामसारीका लागि भने मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि, मृतकको नागरिकताको प्रमाणित प्रतिलिपि तथा हकवालाको नागरिकताको प्रमाणित प्रतिलिपि, नाता प्रमाणित प्रमाणपत्र तथा उल्लेखित सम्पूर्ण हकवालाको नागरिकताको दुई/दुई प्रति प्रतिलिपि उल्लेख छ ।

यसरी नामारी गराउने निवेदकले प्रतिलिपिकाे सक्कल प्रति समेत लिइ निवेदक स्वयं उपस्थित हुनुपर्ने विनियमावलीमा उल्लेख छ ।

कति लाग्छ हस्तान्तरण दस्तुर ?

धितोपत्र केन्द्रीय निक्षेप सेवा (तेस्रो संसोधन) विनीयमावली २०७५ ले एक व्यक्तिको नामबाट अर्को व्यक्तिको नामामा धितोपत्र हस्तान्तरण गरे वापत लाग्ने शूल्कको सम्बन्धमा पनि स्पष्ट व्यवस्था गरेको छ ।

हस्तान्तरण गर्न चाहने व्यक्तिले निवेदन दिने निक्षेप सदस्यलाई आवश्यक दस्तुर बुझाउनुपर्ने हुन्छ ।
घरयासी वा अंशबण्डाबाट गरिने हक हस्तान्तरणको लागि धितोपत्रको चुक्ता रकमको दुई प्रतिशत वा न्यूनतम २०० रुपैयाँ शूल्क तिर्नुपर्ने हुन्छ ।

धितोपत्र धनीको मृत्यु भएपछि हकवालामा पर्ने धितोपत्रको हक हस्तान्तरणका लागि धितोपत्र चुक्ता रकमका आधारमा निक्षेप सदस्यले लिने शूल्क निर्धारण गरिएको छ ।

जसमा एक लाख रुपैयाँसम्मको धितोपत्र हस्तान्तरण गर्नका लागि न्यूनतम २५ रुपैयाँ वा एक लाखको ०.५ प्रतिशतले हुने अधिकतम ५०० रुपैयाँसम्म बुझाउनुपर्नेछ ।

त्यस्तै एक लाखदेखि पाँच लाखसम्म न्यूनतम ५०० रुपैयाँ वा ०.२ प्रतिशतका आधारले अधिकतम एक हजार रुपैयाँसम्म दस्तुर तिनुपर्ने हुन्छ । चुक्ता रकम पाँच लाख भन्दा माथि १० लाख रुपैयाँसम्म रहेको धितोपत्रको हक हस्तान्तरणका लागि न्यूनतम एक हजार रुपैयाँ वा चुक्ता रकमको ०.१५ प्रतिशतले हुन आउने अधिकतम १५०० रुपैयाँसम्म शूल्क लाग्नेछ ।

चुक्ता रकम १० लाख भन्दा माथिको मृत्यु नामसारी गर्नका लागि न्यूनतम एक हजार ५०० वा चुक्ता रकम अनुसारको ०.१ प्रतिशतले हुन आउने बराबरको रकम हक हस्तान्तरण शूल्क वापत निक्षेप सदस्यलाई बुझाएर नामसारी गर्न सक्दछन् ।

यसरी निक्षेप सदस्यले लिने हक हस्तान्तरण शूल्कको ६० प्रतिशतले हुने रकम सिडिएससीलाई बुझाउनुपर्ने हुन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।