असोज मसान्तको प्रतिवेदन अनुसार सिबिआईएल म्युचुअल फण्डद्धारा सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ को सबै सूचक बढेका छन् भने अन्य चारवटाको धेरै सूचकमा गिरावट आएको छ ।
प्रतिइकाई सम्पत्ति मूल्य (NAV)
सिटिजन्स म्युचुअल फण्ड १ को प्रति इकाई खुद सम्पत्ति मुल्य बढेको छ भने एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१, एनएमबि हाईब्रिड फण्ड एल–१, एनआईबिएल प्रगति फण्ड, एनआईबिएल समृद्धि फण्डको प्रति इकाई खुद सम्पत्ति मुल्य घटेको छ ।
सिटिजन्स म्युचुअल फण्ड १ को प्रतिइकाई सम्पत्ति मूल्य १२ पैसाले बढोत्तरी भएको छ भने एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ को सबैभन्दा धेरै दुई रुपैयाँ २४ पैसाले घटेको छ ।
एनएमबि हाईब्रिड फण्ड एल–१ को प्रतिइकाई सम्पत्ति मूल्य एक पैसा, एनआईबिएल समृद्धि फण्ड १४ पैसा र एनआईबिएल प्रगति फण्डको पनि १९ पैसाले घटेको छ ।
खुद सम्पत्ति
खुद सम्पत्तिका आधारमा पनि सिटिजन्स म्युचुअल फण्ड १ को मात्र बढेको छ । सिटिजन्स म्युचुअल फण्ड १ को खुद सम्पत्ति भदौ मसान्तको तुलनामा असोज मसान्तमा ९१ लाख ५८ हजारले बढेको छ ।
उता एनएमबि हाईब्रिड फण्ड एल–१ को ४ लाख ६२ हजार, एनआईबिएल समृद्धि फण्डको एक करोड ३४ लाख ८९ हजार, एनआईबिएल प्रगति फण्डको एक करोड ४० लाख ७३ हजार र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ को सबैभन्दा बढी १६ करोड ८० लाख ८४ हजार रूपैयाँले खुद सम्पत्ति घटेको छ ।
सूचीकृत शेयरमा लगानी
भदौ मसान्तको तुलनामा असोज मसान्तमा सिटिजन्स म्युचुअल फण्ड १ को ६ करोड ३८ लाख ५२ हजार रुपैयाँले सूचीकृत शेयरमा लगानी बढेको छ भने एनआईबिएल प्रगति फण्डकाे ४० लाख १७ हजार र एनआईबिएल समृद्धि फण्डको २२ लाख एक हजारले बढेको छ ।
उता एनएमबि हाईब्रिड फण्ड एल–१ को सूचीकृत शेयरमा गरिएको लगानी ३९ लाख २६ हजार र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ को सबैभन्दा धेरै एक करोड दुई लाख १८ हजार रुपैयाँले गिरावट अाएकाे छ ।
आय/व्यय
पाँच म्युचुअल फण्डमध्ये सिटिजन्स म्युचुअल फण्ड १ को आम्दानी ९१ लाख ५८ हजार रुपैयाँले बढेको छ भने अन्य सबै फण्डको असोज मसान्तको आम्दानी भदौको भन्दा घटेको छ ।
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१को आम्दानी सबैभन्दा धेरै घटेको छ । फण्डको आम्दानी भदौ मसान्तको तुलनामा एक करोड ५७ लाख ९० हजार रुपैयाँले घटेको हो ।
एनआईबिएल प्रगति फण्डको एक करोड ४० लाख ७३ हजार, एनआईबिएल समृद्धि फण्डको एक करोड ३४ लाख ८९ हजार र एनएमबि हाईब्रिड फण्ड एल–१ को आम्दानी भदौ मसान्तको तुलनामा पाँच लाख ८२ हजार रुपैयाँले घटेको छ ।