नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको दुई महिना अर्थात भदौ मसान्तसम्म शोधनान्तर घाटा २५ अर्ब ४५ करोड रहेको छ । यस्तो घाटा अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब ८७ करोड मात्रै थियो ।
अमेरिकी डलरमा शोधनान्तर घाटा अघिल्लो वर्षको दुई महिनामा ५ करोड ७३ लाख डलर रहेकोमा समीक्षा अवधिमा २३ करोड ९ लाख डलर रहेको छ ।
यस्तै समिक्षा अवधिमा चालू खाता घाटा विस्तार भई ३५ अर्ब ५६ करोड पुगेको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १९ अर्ब ७४ करोड थियो ।
चालू खाता एवम् शोधनान्तर स्थिति वस्तु आयातमा भएको उच्च वृद्धिका कारण समीक्षा अवधिमा चालू खाता घाटा उच्चदरले बढेको राष्ट्र बैंकले जनाएको छ ।
के हो शोधनान्तर ?
शोधनान्तर स्थितिले मुलुक भित्रिने र बाहिरिने रकमबीचको अवस्था (सम्बन्ध) देखाउँछ । बाहिरिनेभन्दा भित्रने रकम बढी भएमा शोधनान्तर बचतमा हुन्छ भने भित्रिनेभन्दा बाहिरिने रकम बढी भएमा शोधनान्तर स्थिति घाटामा हुन्छ ।
शोधनान्तर स्थितिलाई भुक्तानी सन्तुलन पनि भनिन्छ । यसअन्तर्गत चालु खाता, पुँजीगत खाता तथा वित्तीय खाता हुन्छन । मुलुकले वस्तु तथा सेवाका लागि प्राप्त गर्ने र तिर्ने रकम चालु खातामा राखिन्छ भने पुँजीगत लगानी, लाभांश ऋण सहयोगलगायतका शीर्षकमा हुने रकमको प्रवाहलाई पुँजीगत खातामा देखाइन्छ ।
नेपालको सन्दर्भमा चालु खाताको हिस्सा ठूलो हुने भएकाले शोधनान्तर स्थिति निर्धारणमा पनि वस्तु तथा सेवाको व्यापारले महत्वपूर्ण योगदान गर्छ ।
मुलुकको शोधनान्तर स्थिति घाटामा रहँदा विदेशी लगानी निरुत्साहित हुन्छ । उत्पादनमा नकारात्मक प्रभाव पर्ने भएकाले मुलुकको परनिर्भरता बढ्छ र विदेशी विनिमय सञ्चितिमा ह्रास आउँछ । यो बचतमा रहँदा अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ ।