पहिले प्रत्याभुतीकर्ताको डिम्याट खातामा शेयर जम्मा गरेर दोस्रो बजारबाट सम्झौताका तेस्रो पक्षको खातामा शेयर पठाउन बोर्डले मंगलबार निर्देशन दिएको थियो ।
सोही निर्देशन अनुसार छिटो शेयर सूचीकरण गराउनका लागि मर्चेण्ट बैंकरहरुलाई पत्राचार गरिएको नेपाल बैंकले जनाएको छ । साथै नेपाल बैंकले भनेको छ, ‘नेप्से र सिडिएससी तर्फको प्रकृया पनि छिटो पूरा भएर केही दिनमा नै एफपिओ सूचीकरण हुनेछ ।’
बैंकले एफपिओ निष्काशनका दौरान प्रत्याभुतीकर्ता मर्चेण्ट बैंकरहरुले तेस्रो पक्षलाई सिधै शेयर बिक्री गर्न सक्ने सम्झौता भएको थियो । बोर्डको निर्देशनले नेपाल बैंक र मर्चेण्ट बैंकरका बीचमा शेयर नामसारीका विषयमा भएको सम्झौता खारेज भएको छ ।
अब नेपाल बैंकको शेयर प्रत्याभुती गरेका ८ मर्चेण्ट बैंकरहरुले पहिले आफ्नो खातामा शेयर जम्मा गर्नुपर्ने हुन्छ । सो पश्चात दोस्रो बजारबाट सम्झौता अनुसारका तेस्रो पक्षको नाममा जम्मा गराउनुपर्छ ।
एफपिओमा सिधै शेयर आवेदन नगरेका विभिन्न व्यक्ति तथा संस्थालाई मर्चेण्ट बैंकरहरुले दोस्रो बजारबाट शेयर नामसारी गराउँदा शेयर दलालले कमिशन पाउने छन् भने पूँजीगत लाभकर पनि समायोजन हुन्छ ।
नेपाल बैंकले गत असार १५ गतेदेखि प्रतिकित्ता २८० रूपैयाँका दरले एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ निष्कासन गरेको थियो। तर प्रत्याभूतीकर्ताले प्रणाली बाहिर गएर १२४ जना व्यक्ति तथा संस्थालाई निर्धारित मूल्य भन्दा कम मूल्यमा एफपिओ बिक्री गरेको फेला परेपछि हालसम्म सो शेयर सूचीकरण हुन सकेको थिएन।