दोब्बरले बढ्यो बैंक तथा वित्तीय संस्थामा महिलाको खाता

Nov 02, 2018 Merolagani

पछिल्लो समयमा वित्तीय क्षेत्रमा नेपाली महिलाको पहुँच क्रमशः बढ्दै गएको पाइएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले सार्वजनिक गरेको मानव विकास सूचकाङ्कको ‘वित्तीय संस्थामा महिलाका खाता’ शीर्षकमा सो विषय समावेश गरिएको छ ।

सन् २०११ देखि सन् २०१७ सम्मको तथ्याङ्कमा नेपाली महिलाले पछिल्लो छ वर्षमा नै दोब्बर खाता खोलेको पाइएको हो ।

प्रतिवेदनअनुसार सन् २०११ मा २१ दशमलब दुई प्रतिशतले मात्रै बैंक तथा वित्तीय संस्थामा खाता खोलेका थिए भने सन् २०१७ को अन्त्यमा आइपुग्दा सो सङ्ख्या बढेर ४१ दशमलब ६ प्रतिशतमा पुगेको छ ।

प्रतिवेदनले महिला क्रमशः वित्तीय संस्थाको पहुँचमा पुग्दै गएको र त्यो सङ्ख्या क्रमशः बढ्दै जाने देखाएको छ । शहरी तथा ग्रामीण क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच बढ्दै गएको, बचत गर्नुपर्छ भन्ने मान्यताको विकास भएका कारण पनि महिलाको सङ्ख्यामा वृद्धि भएको हो ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा हरेक नेपालीको एक बैंक खाता अनिवार्य खोल्ने कार्यक्रम ल्याएको छ । सो कार्यक्रमले समेत महिलाको सङ्ख्यामा वृद्धि हुने देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको सङ्ख्या गत २०७५ भदौ मसान्तमा १५१ रहेका छन् । हाल २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ६६ लघुवित्त संस्था सञ्चालनमा रहेका छन् ।

बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल गत असार मसान्तमा छ हजार ६५१ रहेकामा गत २०७५ भदौ मसान्तसम्ममा छ हजार ८१९ पुगेका छन् ।

सङ्घीयता कार्यान्वयनका क्रममा गठन भएका ७५३ स्थानीय तहमध्ये २०७५ भदौ मसान्तसम्म ६६६ स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिति पुगेको छ । सरकारले सबै स्थानीय तहमा वाणिज्य बैंकलाई आफ्ना शाखा विस्तार गर्न बाध्यकारी व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता गोविन्दप्रसाद नागिलाका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने नेपालीको सङ्ख्या रु दुई करोड ३५ लाख रहेका छन् । “एकै व्यक्तिका पनि तीन÷चार वटासम्म बैंक खाता रहेका छन्, सबै खातालाई फरकफरक खाताका रुपमा लिइन्छ”, सहायक प्रवक्ता नागिलाले भने। 

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशमध्ये भारतमा सन् २०११ मा २६ दशमलब पाँच प्रतिशत महिलाले खाता खोलेकामा सन् २०१७ मा बढेर ७६ दशमलब ६ प्रतिशत पुगेको छ ।

यस्तै भूटानमा २७ दशमलब ७ प्रतिशत महिला बैंक तथा वित्तीय संस्थाको पहुँचमा पुगेका छन् । पाकिस्तानमा सन् २०११ मा मात्रै तीन प्रतिशत महिलाले बैंक तथा वित्तीय संस्थामा खाता खोलेकामा सन् २०१७ मा पुग्दा सात प्रतिशत पुगेका छन् ।

छिमेकी देश बङ्गलादेशमा सन् २०११ मा २६ प्रतिशत महिला बैंक तथा वित्तीय संस्थामा आबद्ध रहेको र त्यो सङ्ख्या सन् २०१७ को अन्त्यसम्म बढेर ३५ दशमलब आठ प्रतिशतमा पुगेको छ । अफगानिस्तानमा सात दशमलब दुई प्रतिशत महिला मात्रै वित्तीय संस्थाको पहुँचमा रहेका छन् । यस्तै श्रीलङ्कामा ७३ दशमलब चार प्रतिशत महिला वित्तीय संस्थाको पहुँचमा छन् ।

अष्ट्रलियामा ९९ दशमलब दुई, अष्ट्रियामा ९८ दशमलब चार, बेल्जियममा ९८.८, चीनमा ७६ दशमलब चार प्रतिशत महिलाको पहुँचमा बैंक तथा वित्तीय संस्था रहेका छन् । यस्तै बेलायतमा ९६ दशमलब एक प्रतिशत ४, अमेरिकामा ९२ दशमलब ७ प्रतिशत मात्रै बैंकिङ पहुँचमा रहेका छन् ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले महिलालाई नै केन्द्रित गरेर खाता खोल्ने कार्यक्रम अगाडि सारेका छन् । राष्ट्रिय वाणिज्य बैंकले महिलालाई नै केन्द्रित गरे महालक्ष्मी बचत खाता कार्यक्रम सञ्चालन गरेको छ ।

कृषि विकास बैंकले एक घर, एक खाता हाम्रो अभियान सञ्चालन गरेको छ । निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले पनि महिला केन्द्रित खाता कार्यक्रम सञ्चालनमा ल्याएका छन् । यी विभिन्न कार्यक्रमले बैंक तथा वित्तीय संस्थामा महिलाको पहुँच बढाएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।