अनलाइन कारोबार प्रणाली सुरु भए पछिका ३ दिन अपेक्षित रुपमा शेयर कारोबार हुन नसकेपछि सोमबार सिंहदरबार प्लाजास्थित नेपाल स्टक एक्सचेञ्ज पुगेको इन्भेष्टर्स फोरमको टोलीले नेप्सेलाई छिटो समस्या समाधान गर्न ध्यानाकर्षण गराएको हो ।
नेप्सेका पदाधिकारीसँगको भेटमा फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले लगानीकर्ता र नियामक निकायको लामो प्रतिक्षा निराशामा बदलिएको गुनासो गरे । अनलाइन प्रणालीलाई पूर्ण रुपमा कार्यान्वायनमा ल्याई पुरानो प्रणाली हटाउँदा उत्पन्न समस्याले १५ लाख लगानीकर्ताको १४ खर्ब बढीको सम्पत्ती बन्धक भएको उनको भनाई थियो ।
डिस्पेलेबाट जानकारी लिएर धेरैजसो लगानीकर्ताले शेयर कारोबारको निर्णय गर्दै आएकोमा त्यो समेत बन्द भएको भन्दै समस्यालाई महत्वका साथ आत्मसाथ गर्न पौडेलले नेप्से व्यवस्थापनको ध्यानाकर्षण गराए ।
'आज ५० वटा ब्रोकरबाटमात्र कारोबार गर्न सकिने सिस्टममा नै समस्या आएको छ । भोली लाखौ लगानीकर्ताले शेयर खरिद बिक्रीका लागि एकै पटक अनलाइन प्रणाली चलाउँदा प्रणालीले धान्छ ?' भेटमा नेप्सेका पदाधिकारीलाई फोरमका अध्यक्ष पौडेलले प्रश्न गरे ।