स्ट्याण्डर्ड चार्टर्डकाे खुद नाफा १३ करोड बढ्यो, प्रतिशेयर आम्दानीमा भने गिरावट

Nov 13, 2018 Merolagani

स्ट्याण्डर्ड चार्टर्ड बैंक (SCB) ले चालू आर्थिक बर्षको प्रथम त्रैमासमा ६३ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको नाफा बढेपनि उच्च पूँजी वृद्धिको असरले प्रतिशेयर आम्दानी भने गत वर्षको यसै अवधिको तुलनामा १८ रुपैयाँ २९ पैसाले घटेको छ।

गत आर्थिक वर्षको प्रथम त्रैमासमा ५० करोड ०२ लाख खुद नाफा कमाएको बैंकले अहिले १३ करोड ३९ लाख रुपैयाँले खुद नाफा बढाएको हो । खर्चका शिर्षहरुलाई नियन्त्रणमा राख्दै खुद नाफा बढाउन सक्नुलाई बैंकको सफलता मान्न सकिन्छ ।

पूँजी वृद्धिको असर प्रतिशेयर आम्दानीमा

शतप्रतिशत बोनस बाँडेपछि चार्टर्डको प्रतिशेयर आम्दानी ह्वात्तै घटेको छ । गत वर्षको प्रथम त्रैमासमा बैंकको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ९५ पैसा रहेकोमा चालू आवको यसै अवधिमा ३१ रुपैयाँ ६६ पैसामा खुम्चिएको हाे ।

उच्च पूँजी वृद्धिले बैंकको नाफा बढ्दा पनि प्रतिशेयर आम्दानी १८ रुपैयाँ २९ पैसाले घटेको हो । बैंकको प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ७४ पैसा र मूल्य आम्दानी अनुपात २२.३३ गुणा रहेको छ ।

खुद नाफाभन्दा झण्डै ५ करोड कम फ्रि प्रोफिट

एनएफआरएस प्रतिवेदन अनुसार बैंकले यस अवधिमा ५८ करोड ४५ लाख रुपैयाँ वितरणयोग्य नाफा (फ्रि प्रोफिट) गरेको छ । गत वर्षको यसै अवधिमा बैंकको फ्रि प्रोफिट ४७ करोड १२ लाख रुपैयाँ रहेको थियो ।

बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टमा ४ करोड ९६ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको चालू आवको प्रथम त्रैमासमा खुद नाफा भन्दा लाभांश क्षमता घटेको हो ।

राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरण योग्य नाफा (फ्रि प्रोफिट) बाट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।

विदेशी स्वामित्वको यस बैंकले गत वर्ष शतप्रतिशत बोनस वितरण गरेर ८ अर्ब एक करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको थियाे । बैंकको जगेडा कोषमा ६ अर्ब ७८ करोड ९१ लाख रुपैयाँ सञ्चित रहेको छ । बोनस बाँडेपछि बैंकको जगेडा कोष एक अर्ब ६८ करोड २४ लाख रुपैयाँले घटेको छ।

निक्षेप संकलन घट्यो, कर्जा लगानीमा सुधार

समीक्षा अवधिमा चार्टर्ड बैंकको निक्षेप संकलन रकम पाँच अर्ब ९५ करोड रुपैयाँले घटेको छ भने कर्जा लगानी सात अर्ब ५२ करोडले बढेको छ । खुद ब्याज आम्दानी पनि नौं करोड १६ लाख रुपैयाँले सुधार भएको छ ।

चालू आर्थिक वर्षकाे प्रथम त्रैमासमा बैंकले ६५ अर्ब ४७ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरेर ४८ अर्ब ३६ करोड ४८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

व्यवसाय विस्तारबाट बैंकले एक अर्ब ५० करोड २७ लाख ब्याज आम्दानी गर्दा ६६ करोड तीन लाख ब्याज खर्च गरेको छ । जसबाट उसले ८४ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

गत आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकले ७१ अर्ब ४२ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन गरेर ४० अर्ब ८३ करोड ५२ लाख बराबरको कर्जा लगानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात केही बढेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा०.१८ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात ०.२१ प्रतिशतमा बढेको छ ।

थप व्यवसाय विस्तारको ठाउँ

चालू आवको प्रथम त्रैमासमा चार्टर्डको पूँजी कोष अनुपात २३.४४ प्रतिशत, आधार ब्याजदर ८.१४ प्रतिशत र कोषको लागत ४.८२ प्रतिशत र कर्जा निक्षेप अनुपात ६८.३४ प्रतिशत रहेको छ ।

बैंकको निक्षेप संकलन लागत र आधार ब्याजदर नियन्त्रमा रहनु तथा पूँजी कोष अनुपात सबल र कर्जा निक्षेप अनुपात थोरै रहनुले अन्य वाणिज्य बैंकहरुको तुलनामा सस्तो ब्याजदरमा कर्जा प्रवाह गरेर नाफा बढाउने सक्ने ठाउँ रहेको देखिन्छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट १७.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।