नेपालको शेयर बजारको सन्दर्भमा अनलाईन पद्धतीको शुरुवात एउटा कोशेढुङ्गा

Nov 13, 2018 Merolagani

- आनन्द कुमार भट्टराई।
वि.सं.२०३३ सालमा सेक्यूरिटी खरिद बिक्री केन्द्रको स्थापना पश्चात २०५० साल पौष २९ गते ओपन आउट (क्राई ९ खुला बोलकबोल पद्धती) सिष्टमबाट शुरुवात भएको नेपालको पूँजी बजार १४ वर्ष पछि २०६४ सालमा विस्थापित भई कम्प्युटरकृत प्रणालीको शुरुवात गरियो ।

पूर्ण स्व:चालित कारोबारको विषयमा बेला बखत बहस चल्दै गर्दा भविष्यमा उक्त प्रणालीमा जानुको विकल्प नरहेकोले आवश्यक अनिवार्य पूर्वाधारको विकास गर्दै जाने क्रममा २०६७ सालमा केन्द्रीय निक्षेप प्रणाली (CDCS) को स्थापना गरियो ।

त्यसैगरि २०७२ साल माघदेखि पूर्ण अभौतिक धितोपत्रको कारोबारकोको शुरुवात सँगै २०७३ सालबाट शेयर कारोबार समय ३ घन्टाबाट बढाएर ४ घन्टा कायम गरियो ।

दोश्रो बजारमा जनताको आकर्षण बढदै गई लगानीकर्ताको संख्या क्रमश वृद्धि हुँदै गएपछि लगानिकर्ताको हित संरक्षणको लागि भनेर विभिन्न लगानीकर्ता संघको स्थापनाले पनि यसै समयमा तिब्रता पायो ।

संघको स्थापना पश्चात लगानीकर्ताहरु एकजुट भएको कारणले विगत केहि वर्ष देखि विदेशमा जस्तै पूर्ण स्व:चालित कारोबारको मागले तिब्र गति लिन थाल्यो र यसै क्रममा सरकारले पनि यसको आवश्यकता महसुस गरि काम कारर्वाही अगाडि बढ्दै गई वि.सं. २०७५ साल कार्तिक २० गते यसले मूर्तरुप लिन पुग्यो जसको लागि सरकार र नेप्सेलाई साधुवाद दिनैपर्छ ।

तल उल्लेखित विविध कारणले आपूर्तीको तुलनामा माग सिर्जना हुन नसकी बजार स्वभाविक गतिले अगाडि बढ्न सकेको छैन ।

१. लगानीकर्ताको संख्यामा उल्लेख्य वृद्धि हुन नसक्नु,

२. पूँजी वृद्धिको कारण तथा नयाँ-नयाँ कम्पनी सूचीकृत हुनाले शेयरको आपूर्तिमा अत्यधिक मात्रले वृद्धि हुनु तर सो को तुलनामा माग सिर्जना हुन नसक्नु,

३. शेयर बजारप्रति सरकारको दृष्टिकोण सकारात्मक भएन भन्ने जस्ता आरोपको कारणले नयाँ लगानीकर्ता उदासिन तथा संस्थागत लगानीकर्ता निष्क्रिय रहनु,

४..देशको कुना काप्चासम्म शेयर दलाल ब्यवसायीको सेवा पुर्याउन नसक्नु ।

यी र यस्तै अन्य सबै समस्याको समाधान एउटै रामबाण औषधिबाट गर्ने सोच मुताविक पूर्ण स्व:चालित कारोबार पद्धतिको शुरुवात भई एउटा नयाँ युगको शुरुवात भएको छ .

जसको सफलताको लागि नेपाल सरकार, नियामक निकाय, वित्तिय संस्था, धितोपत्र दलाल ब्यवसायी, प्रणाली विकासकर्ता वार्इकाे (YCO) कम्पनी तथा लगानीकर्ता सबैले संयमित भई सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ । अन्यथा चलनचल्तीको भाषामा भन्नु पर्दा ब्याक टु मंगलमान (Back to Mangalman) भन्नु पर्ने अवस्था नआउला भन्न सकिन्न ।

यस्तो अवस्थामा विरोधी तथा चलखेल गर्नेले मौका पाउनुका साथै अनेक अफवाह (प्रोपोगण्डा)  मच्चाउनु स्वभाविक नै हो । तर यहाँ मनन् योग्य कुरा के हो भने यस्तो नयाँ पद्धतीको स्वच्छ विकासको लागि यस्तो प्रोपोगण्डा राम्रो खुराक हो जसले यस्तो प्रणालीको विकासमा सहयोग पुर्याउँछ ।

चाहे नेपाल होस् या अन्य विकसित मुलुक ब्यक्ति जहिले पनि नयाँ पद्धती प्रति शुरुमा उदासिन हुने, विरोध गर्ने तथा नयाँ पद्धतीलाई हाँसोको रुपमा उडाउने चलन यहाँ मात्र होईन की विश्वको अन्य मुलुकमा पनि हुने गरेको ईतिहास पाइन्छ । हाम्रो सामु पनि त्याे नाैलाे विषय होईन ।

हरेक सिक्काको दुई पाटो भने जस्तै हरेक नयाँ पद्धतीको विरोधी तथा हिलोमा माछा मार्न पल्केका र समर्थक हुने नै भए ।

विकसित देशमा समेत नयाँ पद्धतीको शुरुवाती दिनमा कतिपय समस्याहरु देखा पर्छन् भने हामी त प्रविधिमा भर्खर अगाडि बढिरहेको हुनाले हामीकाँहा त्रुटी नहुने कुरै भएन। फरक मात्राको भिन्नतामा मात्र हो। फेरि कतिपय समस्याहरु प्रयोगमा आईसकेपछि मात्र थाहा हुने भएकोले त्यस्तो समस्याको त स्वागत नै गर्नुपर्छ जसको निराकरणले प्रणाली अझै सुरक्षित र मजबुत हुँदै जान्छ ।

तिहारको बिदा भन्दा एक दिन अगाडि अर्थात २०७५ साल कार्तिक २० गते अर्थमन्त्रीबाट ११ बजे यसको उद्घाटन भएपछि शेयरको स्व:चालित पद्धतीको विधिवत शुरुवात भयो । उक्त दिन ५० वटा ब्रोकरबाट ४ घन्टाको अवधीमा करिब ३ देखि ४ करोडको मात्र कारोबार भयो ।

उक्त पहिलो दिन ब्रोकर एसोसिएसनको ५० ब्रोकरको भाईबर ग्रुपको मेसेज हेर्दा ब्रोकरको तनावको कुनै सीमा नै नभएको प्रष्ट देखिन्छ ।

कसैले लगर्इन भएन भन्छन् त कसैले अर्डर नै लिएन भन्छन् । फेरि कसैले अर्डर बुकमा अर्डर नै देखिएन भन्छन् । यी र यस्तै अनेक थरी समस्याहरु। उता लगानीकर्ताहरुको आफ्नै गुनासा हामीले डिस्प्ले हेर्न नपाएपछि कसरी खरिद बिक्री आदेश दिने ? उक्त दिनभरी सम्भवत: नेपालमा भाइबर  ग्रुप अति ब्यस्त भएको यो नै होला ।

अत: ब्रोकरबाट नयाँ पद्धतीको प्रयोग गर्दा देखिएको समस्याहरु अवगत गराई समाधान हुनुपर्ने भनि सोही साँझ नेप्सेमा नेप्से प्रतिनीधि तथा सफ्टवेयर विकासकर्ता वाइकाेका प्रतिनीधिहरुसँग ब्रोकरहरुको छलफल भएको थियो र वाइकाेले तिहारको ४ दिनको बिदामा यी सबै समस्याहरु समाधान हुने आश्वासन समेत दिएको थियो ।

तिहारको बिदा पश्चात खुलेको आइतबारको बजारमा कारोबार रकम बढेर ९ करोड त भयो तर ब्रोकरहरुको कतिपय समस्या जस्ताको त्यस्तै देखियाे । जसले गर्दा कतिपय ब्रोकरले राम्रोसँग काम गर्न नसकेर पनि कारोबार कम भएको अनुमान गर्न सकिन्छ । सोमबार कारोबार रकम बढेर १३ करोड पुगे पनि केहि समस्याहरु अझै समाधान हुन सकेका छैनन् ।

जस्तो ग्राहककाे विवरण (KYC) मा बैंक खाता नं. १५ अङ्क राख्नुपर्छ भनेकोमा १३ अङ्क राख्दा समेत  वैद्यानिक बैंक खाता नम्बर राख्नुहाेस् (Please enter a valid Bank account number) भन्ने मैसेज आउँछ । यी र यस्तै समस्याहरुको समाधान अझै हुन नसक्दा लामो समयको ब्यग्रतापछि आएको अनलाईन प्रणालीप्रति चौतर्फि आक्रमण हुन थालेको छ ।

मैले माथि भने जस्तै प्रयोगमा देखिएको यस्तो त्रुटीलाई लिएर छापा तथा अनलाईन समाचार माध्यममा अनेक कुराहरु आए । झन सामाजिक सञ्जालमा त यसको हुर्मत नै लिई नियामक निकाय माथि ब्यङ्गवाणको प्रहार समेत नभएको होईन ।

यस्ता ब्यङ्गवाणको प्रहार गर्नेहरु यथास्थितिलाई रुचाउने तथा नयाँ प्रणालीमा जान नखोज्ने र निरुद्धेश्य विरोध गर्ने प्रवृतिका आलोचक हुन् भन्नुमा अत्युक्ती नहोला । तर नियामकले यस्ता आलोचकहरूबाट उठान भएका समस्याहरुको निराकरण छिटो भन्दा छिटो गर्नुपर्छ अनि मात्र तिनै आलोचकबाट वाहवाही लिन सकिन्छ ।

अहिले यो पद्धती कार्तिक भित्र ५० वटा ब्रोकरबाट मात्र सञ्चालन गरि माघ देखि आम लगानीकर्ताले पनि सोझै जहाँकतैबाट पनि खरिद बिक्रीको अर्डर दिने ब्यवस्था गर्ने भन्ने सुनिएको छ । यो वास्तवमा अति राम्रो कुरा हो । किनकी यो पद्धतीको अहिलेको प्रयोगकर्ता भनेको जम्मा-जम्मी ५० वटा ब्रोकरहरु नै हुन् ।

ती सबै ब्रोकरहरु आचारसंहितामा बाँधिएका हुनाले तिनले प्रयोमा देखिएका समस्याहरुलाई उचित तरिकाले नियामक समक्ष प्रस्तुत गर्छन् तर आम लगानीकर्तामा यो पद्धतीको पहुँच पुगिसकेपछि त्रुटी रहित हुन नसकेमा नियामकले लाखौं प्रयोगकर्ताबाट रचनात्मक पृष्ठपोषण पाउनुको सट्टा ब्यापक विरोधको सामना गर्नुपर्ने हुन्छ ।

अत: केहि समय लागे पनि ब्रोकरहरुबाट पर्याप्त पृष्ठपोषण लिई तदअनुरुपको सुधार गरेर हुन सक्छ भने लगानीकर्तालाई पुन: मक ट्रेडिङ्गमा सहभागी गराई उनीहरुलाई अभ्यस्त बनाएर मात्र आम लगानीकर्ताहरुको पहुँचमा यो पद्धती पुर्याउनु दूरगामी हिसावले राम्रो हुनेछ ।

लागू भैसकेको पद्धतीको कमी कमजोरीलाई लिएर आरोप-प्रत्यारोप गर्नुभन्दा समस्याहरुको समाधान त्वरित किसिमले गर्दै पद्धतीलाई सुरक्षित तथा प्रयाेगकएमैत्तारी (युजर फ्रेण्डली) बनाउनुको विकल्प छैन। त्यसैगरी ब्रोकरहरु पूर्ण रुपले अभ्यस्त नभई यसलाई आम लगानीकर्ताको पहुँचमा पुर्याउने हताराे किमार्थ गरिनु हुँदैन ।

वि.सं. २०७५ साल कार्तिक २० गते यसको उद्घाटनको क्रममा सरकार तथा सरोकारवाला विभिन्न नियामक निकायका प्रतिनिधीहरुले यसको सफलताको कामना गरेका छन् ।

सरकार तथा नियामक निकायका प्रतिनिधिबाट कतिपय कुराहरु प्रष्ट रुपमा नभई सांकेतिक रुपमा आउँछ । उद्घाटनको क्रममा अर्थमन्त्रीबाट आर्थिक वृद्धि र शेयर बजारबीच तालमेल हुनुपर्छ भन्दै लगानीकर्तालाई सचेत रहन आग्रह गरिनुको पछाडि अगामी दिन आर्थिक हिसाबले सुखद रहने छन् र हल्लाको पछि नलागी कम्पनिको अवस्था विश्लेषण गरी लगानी गर्न लगानीकर्तालाई सन्देश दिन खोजेको जस्तो देखिन्छ ।

त्यसैगरी आवश्यकता भन्दा बढी हल्ला गरिएको तरलताको समस्या छिट्टै समाधान हुने भएकोले ११ प्रतिशतको ब्याज खाने दिन गए भन्दै संस्थागत लगानीकर्तालाई शेयर बजारमा लगानी गर्न आग्रह गरिनुलाई अब संस्थागत लगानीकर्तालाई दुरुत्साहित गरिने छैन भन्ने सन्देश दिन खोजिएको छ ।

सोही मञ्चमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेबत बहादुर कार्कीको पूर्ण अनलाईन कारोबार प्रणालीको सफल कार्यान्वयनले शेयर बजारमा दैनिक कारोबार रकम बढेर पाँच अर्ब रूपैयाँसम्म पुग्नसक्ने भनी ब्यक्त गरिएको सम्भावनालाई पनि अन्यथा लिन मिल्दैन ।

किनकी अन्य देशमा पनि अनलाईन कारोबार प्रणालीको शुरुवात भएपछि कारोबार रकममा ब्यापक वृद्धि भएको थियो । हाम्रो देशमा पनि त्यो अवस्था नआउला भन्न सकिन्न तर त्यसको लागि निम्न ब्यवस्था अनिवार्य अवलम्बन गरिनु पर्दछ । 

१. कारोबारलाई बैंक खाता तथा डिम्याट खातासँग रियलटाईममा आवद्ध गर्ने। यो नभएमा कारोबार कुनै पनि हालतमा ५ अर्ब पुग्दैन ।

किनकी विश्वमा अनलाईन वस्तु खरिद बिक्रीको मात्रा दिन दुना, रात चौगुना वृद्धि हुँदै गएको तथ्य हाम्रो सामु ताजै छ ।

जब ब्यक्तिलाई बस्तु खरिद गर्न कहिँ कतै जान नपर्ने र भुक्तानी कसरी र कहाँ गएर गर्ने भन्ने चिन्ता हुँदैन तब उसको खरिद ब्यवहारमा ब्यापक परिवर्तन आई उसले पहिले भन्दा उपभोगको मात्रा बढाँउछ।

यसले गर्दा कारोबार रकममा वृद्धि हुन जान्छ । यहि नियम शेयर बजारमा लागू हुने भएको र निकट भविष्यमा नै त्यसतर्फ फड्को मार्ने सोच हुनसक्ने भएको कारणले गर्दा धिताेपत्र बाेर्डका अध्यक्षज्यूबाट कारोबार ५ अर्ब पुग्छ भन्ने संकेत गरिएको हुनसक्छ ।

२. रियलटाईम अनलाईन सञ्चालन भएपछि लगानीकर्ताले विश्वको जुनसकै कुनाबाट पनि शेयर खरिद बिक्री गर्नसक्ने भएकोले गैह्र-आवासिय नेपालीलाई उनीहरुले विदेशमा कमाएको रकम स्वदेशी पूँजी बजारमा लगानी गर्न सक्ने वातावरण अविलम्ब तयार पार्नुपर्दछ । तर यसो गर्दा विदेशी मुद्रा त भित्रन्छ तर अर्कोतर्फ नेपालको कालो धन हुण्डी मार्फत उता गई विदेशी मुद्राको रुपमा नभित्रियोस भन्ने तर्फ भने सरकार चनाखो हुनुपर्छ ।

३. शेयर बजारको पहुँच देशभरि पुर्याउनका लागि बैंकलाई लाई ब्रोकर लाईसेन्स दिनुपर्छ भन्ने ब्यापक जनदबावको कारणले अहिले सो सम्बन्धी नीति स्वीकृत भई सम्भवत दुई बैंकले निवेदन समेत दिई सकेको अवस्था छ ।

तर यसमा हुने लगानीको तुलनामा प्रतिफल न्यून भएकोले अधिकांश बैंक त्यति ईच्छुक छैनन् । यो समस्याको समाधान पनि रियलटाईम अनलाईन सञ्चालन भएपछि स्वत: हुन सक्ने देखिन्छ । अहिलेको प्रणालीमा लगानीकर्तासँग भुक्तानी ग्रहण गर्न र भुक्तानी दिनको लागि छुट्टै ब्रोकर अफिस खोल्नुपर्ने बाध्यता रहेको छ र त्यसमा हुने लगानीको कारणले ब्रोकरहरुले देशैभर शाखा सञ्जाल विस्तार गर्न ईच्छुक देखिँदैनन् ।

तर रियलटाईम अनलाईन सञ्चालन भएपछि भौतिक रुपमा चेक तथा नगदको आदान-प्रदान नभई स्वत: खातामा नै रकम घटबढ हुने भएकोले ब्रोकरहरुले आवश्यक परेको ठाँउमा आफ्नो एजेन्ट राखी काम गर्न सक्छन् ।

त्यस्ता एजेन्टले लगानीकर्ताको डिम्याट एकाउन्ट खोलिदिने, लगानीकर्ताको परिचय आफ्नो सिष्टममा राख्ने, अनलाईनबाट कसरी कारोबार गर्ने भनेर शिक्षा दिने काम गर्छन् । यसबाट दोश्रो बजारको पहुँच देशब्यापी हुनेछ ।

यति गर्न सकियो भने पक्कै पनि नेपाललको पूँजी बजारमा दैनिक ५ अर्ब रूपैयाँ बराबरको कारोबारको सपना साकार हुन धेरै समय लाग्दैन ।

अब के गर्ने ?

देशको अर्थमन्त्री जस्तो प्रभावशाली ब्यक्तित्वबाट उद्घाटन भएको अनलाईन कारोबार प्रणालीलाई राज्यले आफूले स्वामित्व ग्रहण गरेको अवस्थामा बुझ्नुपर्ने हुन्छ । त्यसैले अब यसको सफलता र असफलता सँग राज्यको साख प्रत्यक्षरुपले गाँसिएको छ ।

अब राज्य कुनै पनि हालतमा यसबाट पछाडि फर्कन सक्दैन । त्यसैले नेप्सेले वाइकाेका प्रतिनिधी र ब्रोकरका प्रतिनिधिसँग हरेक दिन बेलुका बैठक बसी देखा परेका समस्याहरु समाधान गर्न वाइकाेलाई दबाव दिनुपर्छ । अहिले देखा परेका समस्या त्यस्तो समाधनै गर्न नसकिने प्रकृतिको नभएकोले गम्भिरतापूर्वक समय दिएमा सहजै समाधान हुनसक्ने देखिन्छ ।

अन्तमा लागू भैसकेको पद्धतीको कमी कमजोरीलाई लिएर आरोप-प्रत्यारोप गर्नुभन्दा समस्याहरुको समाधान त्वरित किसिमले गर्दै पद्धतीलाई सुरक्षित तथा प्रयाेगकर्ता मैत्री (युजर फ्रेण्डली) बनाउनुको विकल्प छैन। त्यसैगरी ब्रोकरहरु पूर्ण रुपले अभ्यस्त नभई यसलाई आम लगानीकर्ताको पहुँचमा पुर्याउने हतार किमार्थ गरिनु हुँदैन ।

(नोट: लेखक अर्थ मन्त्रालयका अवकाश प्राप्त उपसचिव हुन् ।)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।