निजी क्षेत्रको अब्बल बैंकको रुपमा परिचय बनाएको एभरेष्टले बुधबार प्रकाशित गरेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार ६३ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको उल्लेख छ ।
बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा ५३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंकले १९.१८ प्रतिशतले आफ्नो खुद नाफा बढाएको हो ।
राष्ट्र बैंकको रेगुलेटरी एड्जस्टमेन्टले फ्रि प्रोफिटमा संकुचन
एनएफआरएस प्रतिवेदन अनुसार एभरेष्ट बैंकले ४९ करोड एक लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ । गत बर्ष यस्तो रकम ५३ करोड १४ लाख रहेको थियो । गत बर्षको तुलनामा यस बर्षको प्रथम त्रैमासिक अवधिमा ४ करोड १३ लाख रुपैयाँले फ्रि प्रोफिट घटेको हो ।
एनएफआरएस रिर्पोट अनुसार बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टमा १४ करोड ३२ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफा भन्दा लाभांश क्षमता उच्च घटेको हो ।
(रकमलार्इ हजारमा देखाइएकाे छ ।)
राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरण योग्य नाफा (फ्रि प्रोफिट) केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न मिल्छ ।
निक्षेप र कर्जा परिचालन खर्ब माथि
समीक्षा अवधिमा एभरेष्ट बैंकको कर्जा विस्तार भन्दा निक्षेप संकलनको विस्तारको केही सुस्त रहेको छ ।
चालू आर्थिक बर्षको प्रथम त्रैमासिक अवधिमा एभरेष्टले कर्जा लगानी २६.२१ प्रतिशतले बढाउँदा निक्षेप संकलन २१.१० प्रतिशतले बढाएको छ ।
त्यसैगरि निक्षेप संकलनमा ९९ अर्ब ३७ करोड १२ लाखबाट एक खर्ब २० अर्ब ३३ करोड ९१ लाख तथा कर्जा परिचालनतर्फ ८१ अर्ब ८५ करोड ९३ लाखबाट एक खर्ब तीन अर्ब ३१ करोड ८१ लाखमा बढोत्तरी गरेको छ ।
चुक्ता पूँजी र जगेडा कोष
बैंकको चुक्ता पूँजी ६ अर्ब ११ करोड ५२ लाखबाट ८ अर्ब १० करोड ६८ लाख रुपैयाँ पुगेको छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ५६ पैसा र मूल्य आम्दानी अनुपात २०.२५ गुणा रहेको छ ।
बैंकले ६ अर्ब ६७ करोड ८२ लाखको जगेडा कोष ८ अर्ब ६३ करोड ४७ लाखमा बढाएको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३२.५७ प्रतिशत, र जगेडा कोष २९.३० प्रतिशत बढेको छ ।
खुद ब्याज आम्दानी करिब २८ करोड बढ्यो
यस अवधिमा एभरेष्ट बैंकले २७ करोड ९६ लाख रुपैयाँले खुद ब्याज आम्दानी बढाएको छ । चालू आवको प्रथम त्रैमासमा ३ अर्ब ६ करोड ८९ लाख ब्याज आम्दानी गरेर १ अर्ब ७५ करोड ८२ लाख ब्याज खर्च गरेको छ ।
जसबाट उसले एक अर्ब ३१ करोड ६ लाख खुद ब्याज आम्दानी गरेको छ । गत बर्ष यसै अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३ करोड ९ लाख रुपैयाँ रहेको थियो ।
निष्कृय कर्जा अनुपात घट्नु सकारात्मक
समिक्षा अवधिमा बैंकले आफ्नो खराब कर्जा अनुपात घटाउँदै लगेको छ । व्यवसायको आकारमा बढोत्तरी हुँदै जाँदा खराब कर्जा नियन्त्रण गर्दै जानुलाई बैंकको प्रगति नै मान्नुपर्छ ।
गत आर्थिक वर्षको तीन महिना अवधिमा बैंकमा ०.२६ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा घटेर ०.२१ प्रतिशतमा झरेको छ ।
कर्जा विस्तार सीमा नजिक
प्रथम त्रैमासिक प्रतिवेदन अनुसार एभरेष्ट बैंकको कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमा ८० प्रतिशत नजिक रहेको छ ।
बैंकको कर्जा निक्षेप अनुपात ७७.३२ प्रतिशत रहेकोले थप कर्जा प्रवाहमा सीमा लाग्ने अवस्था आएको छ । गत वर्षको यसै अवधिमा बैंकको यस्तो अनुपात ७६.९१ प्रतिशत रहेको थियो ।
त्यस्तै बैंकको आधार ब्याजदर ८.८० प्रतिशत र कोषको लागत ६.०८ प्रतिशत छ ।