चुक्ता पूँजी ८ अर्ब ७४ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ७२ करोड रुपैयाँ छ ।
गत वर्षको यसै अवधिमा बैंकको जगेडा कोषमा ४ अर्ब ९३ करोड सञ्चित थियो ।
बैंकले प्रिमियम सहित प्रतिकित्ता ३३३ रुपैयाँमा एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ बिक्री गरेको थियो । जसबाट बैंकको जगेडा कोषमा उल्लेख्य सुधार भएको हो।
नाफा बढेपनि प्रतिशेयर आम्दानी घट्यो
असोज मसान्तसम्म बैंकले ५५ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा १८.८१ प्रतिशतले धेरै हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले ४६ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चुक्ता पूँजी वृद्धिको तुलनामा बैंकले नाफा बढाउन नसक्दा प्रतिशेयर आम्दानी केहि खस्किए पनि बैंकका अन्य सूचकहरु भने सकारात्मक रहेका छन् ।
बैंकको नाफा बढेपनि पूँजी वृद्धिको अनुपात कम हुँदा प्रतिशेयर आम्दानी तीन रुपैयाँ ७ पैसाले घटेको छ ।
समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २६ रुपैयाँ २१ पैसामा कायम भएको छ । गतवर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी २९ रुपैयाँ १५ पैसा थियो ।
फ्रि प्रोफिट ४९ करोड २४ लाख
नेपाल फाइनान्सियल रिर्पोटिङ स्टयाण्डर्ड (एनएफआरएस) अनुसार बैंकले ४९ करोड २४ लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको फ्रि प्रोफिट ९.११ प्रतिशतले धेरै हो । गत वर्षको प्रथम त्रैमासमा बैंकको फ्रि प्रोफिट ४५ करोड १३ लाख रुपैयाँ थियो ।
एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरे पछि बैंकले शेयरधनीलाई लाभांश वितरण गर्न सक्नेछ ।
निक्षेप भन्दा कर्जाको वृद्धिदर धेरै
असोज मसान्तसम्ममा बैंकले निक्षेप संकलनमा भन्दा कर्जा लगानी जोड दिएको छ । ८५ अर्ब ८३ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ८२ अर्ब ७७ करोड ९३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
गत बर्षको पहिलो त्रैमासको तुलनामा बैंकको निक्षेप १९.३० प्रतिशतले बढ्दा कर्जा ३०.३९ प्रतिशतले बढेको छ ।
यस अवधिमा बैंकले ९७ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्ष यसै अवधिको तुलनामा ५६.२० प्रतिशत अर्थात ३५ करोड १२ लाख रुपैयाँले धेरै हो ।
खराब कर्जा एक प्रतिशत तल
बैंकको निष्कृय कर्जा अनुपात घटेको छ । गत वर्षको यसै अवधिमा १.६७ प्रतिशत रहेको निष्कृय कर्जा ०.७६ प्रतिशतमा झारेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ ७५ पैसा छ भने मूल्य आम्दानी अनुपात १३.५१गुणा बढी छ ।