आइतबार 'क' वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.२८ अंकले ओरालो लागेर २५४ अङ्कमा ओर्लिएको छ ।
बिहीबारको तुलनमा आईतबार कारोबार रकममा वृद्धि भए पनि बजार सूचकमा भने भारी अंकले गिरावट आएको हो । बिहीबार शेयर बजार ३.३१ अंकले घटेर १२०५.५८ मा पुगेको थियो भने कारोबार रकम २३ करोड ९८ लाख रुपैयाँ कायम भएको थियो ।
आइतबार १४५ कम्पनीका १० लाख ७९ हजार ४२७ कित्ता शेयर ३३ करोड ३७ लाख रुपैयाँमा खरिद बिक्री भएका छन् । गत बिहीबारको तुलनामा कारोबार रकम झण्डै साढे ९ करोड रुपैयाँले बढेको हो ।
बैंकहरुको व्याजदर घट्ने आशामा रहेका लगानीकर्ता व्याजदर नघट्ने संकेत देखेपछि बजारमा उत्साहित हुन सकिरहेका छैनन् ।
आइतबार नै बैंकर्स संघले व्याजदरका सम्बन्धमा सदस्य बैंकका प्रमुख कार्यकारीहरुको बैठक बोलाएको थियो ।
तर बैठकमा हाल कायम व्याजदरका कारण समस्या उत्पन्न भएको भन्दै साना बैंकले व्याजदरमा परिमार्जन गर्दै सानाले सहयोग पाउनु पर्ने बताएका थिए । यसले व्याजदर घट्ने संकेत नगरेको बुझ्न सकिन्छ ।
संघका सदस्य बैंकहरु नै व्याजदरको विषयलाई लिएर २ फरक धारमा उभिएपछि बैठक निष्कर्ष विहीन बनेको थियो । यसले व्याजदर तत्काल नघट्ने संकेत देखिएको छ । यसको पनि आइतबार बजारमा प्रभाव परेको हो ।
आइतबार कारोबारमा आएका दश उपसमूहको सूचक मध्ये व्यापार समूहको सूचक मात्र झिनो अंकले सकारात्मक भएको छ भने बाँकी नौं वटै उप समूहको सूचक तल झरेको छ ।
जीवन बीमा समूहको सूचकमा सबै भन्दा धेरै ४९ अंकले गिरावट आएको छ । निर्जीवन बीमामा २९.८, हाइड्रोपावरमा १२.५८, बैकिङ्गमा १०.१६, विकास बैंकमा ९.४३, लघुवित्तमा ८.८८, अन्यमा ७.१, वित्तमा ३.९ र होटल समूहको सूचकमा ०.२८ अंकले गिरावट आएको हो ।
यस दिन सबै भन्दा धेरै नेपाल बैंकको ४ लाख ७९ हजार ९१६ कित्ता शेयर १४ करोड ५ लाख रुपैयाँ बढीमा कारोबार भयो । एनआईसी एसिया बैंकको ७० हजार ६७५ कित्ता शेयर दुई करोड ९८ लाख रुपैयाँ र प्रभु बैंकको ४५ हजार ४३८ कित्ता शेयर एक करोड १५ लाख रुपैयाँमा किनबेच भएको छ ।
केही समय अघि नेपाल बैंकले २८० रुपैयाँको दरमा निष्काशन गरेको एफपिओ सूचीकरण भएपछि थोरै भए पनि नाफामा बेच्नेहरुको बाक्लो उपस्थितीले मूल्य घटेर नेपाल बैंकको अधिक कारोबार भएको हो। त्यसै गरी १० प्रतिशत बोनस बितरणको प्रस्ताव गरेको एनआईसी एशिया कारोबार रकमका आधारमा दोस्रो स्थानमा परेको छ ।
यस दिन कुनै पनि कम्पनीको शेयर मूल्य उल्लेख्य रुपमा वृद्धि भएन ।
पञ्चकन्या माईको शेयर मूल्य २.४४ प्रतिशतले बढेको छ । आइतबार कोारबामा आएका १४५ कम्पनी मध्ये साना तथा मझौला किसिमका २६ कम्पनीको मात्र शेयर मूल्य केही मात्रामा बढेको छ ।
यता गुमाउने कम्पनीहरुमा समता माइक्रोफाइनान्सको शेयर मूल्य ८.४९ प्रतिशतले घटेर पहिलो स्थानमा परेको छ। झिनो बोनसका साथमा भारी आकारको हकप्रद प्रस्ताव गर्दै साधारण सभा बोलाएका कारण समताको शेयरमूल्यमा भारी गिरावट आएको हो ।
त्यसैगरि सर्पोट माइक्रोफाइनान्स र राधि विद्युत कम्पनीको शेयर मूल्य ५ प्रतिशत बढीले तल झरेको छ ।
धेरैजसो सूचीकृत कम्पनीहरुले लाभांश प्रस्ताव गरिसकेको अवस्थामा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् । वाणिज्य बैंकहरु र बीमा कम्पनीको लाभांसलाई पर्खेर बसेका लगानीकर्ता अझै पनि सामान्य किसिमको लाभांशबाट प्रभावित नहुने संकेत यस अघिका प्रस्तावित लाभांशले देखाई सकेको छ ।
एकातिर व्याजदरको मार, अर्कातिर आशलाग्दो लाभांश नआउनु लगायत कारणले बजार अझै सहज हुन नसक्ने हो कि भन्ने त्रास लगानीकर्तामा छ। अर्कातिर सरकारी खर्चको आकार न्युन हुँदा वित्तीय बजारका साथै बैंकहरुमा परेको समस्याले पनि बजारलाई नकरात्मक बनाई रहेको छ ।