गत आर्थिक बर्षको यसै अवधिको तुलनामा खुद नाफा घटेपनि अन्य हाइड्रो कम्पनीहरुको वित्तिय विवरणलाई हेर्दा चिलिमे नै अग्रस्थानमा देखिएको छ ।
चुक्ता पूँजी, जगेडा कोष, विद्युत विक्री मार्फत हुने आम्दानी, सञ्चालन नाफा, खुद नाफा प्रतिशेयर आम्दानी र लगानीमा प्राप्त हुने प्रतिफलमा चिलिमे अब्बल देखिएको हो ।
१२ हाइड्रोमध्ये चिलिमेले सबैभन्दा धेरै २६ करोड ७९ लाख खुद नाफा आर्जन गरेको छ भने अरुण काबेलीको खुद नाफा सबैभन्दा कमजोर देखियो । अरुण काबेलीले २६ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ ।
१२ कम्पनीमध्ये सानिमा माई र वुटवल पावरको खुद नाफा १० करोड भन्दा माथि छ भने ७ वटा हाइड्रोको ५ करोड हाराहारी रहेकोमा २ वटा हाइड्रोले एक करोडभन्दा कम खुद नाफा कमाएका छन् ।
त्यसैगरी विद्युत विक्री गरेर सबैभन्दा बढी आम्दानी गर्ने हाइड्रोका रुपमा पनि चिलिमे पहिलो बनेको छ ।
चिलिमे हाइड्रोले विद्युत विक्री मार्फत ३६ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ भने सबैभन्दा कम रिडि हाइड्रोले विद्युत विक्री मार्फत १ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको छ । प्रशारण लाइन निर्माणको प्रक्रिया चलिरहेकाले अरुण काबेलीले भने हालसम्म विद्युत विक्री गर्न सकेको छैन ।
चुक्ता पूँजीका आधारमा हेर्ने हो भने सबैभन्दा धेरै चुक्ता पूँजी चिलिमे हाइड्रोको ३ अर्ब ९६ करोड रुपैयाँ छ भने वरुण हाइड्रोको सबैभन्दा कम २५ करोड ५२ लाख रुपैंया छ । त्यस्तै सानिमा माई र वुटवल पावरको चुक्ता पूँजी २ अर्बभन्दा बढी तथा यूनाइटेड मोदी, नेशनल हाइड्रो र अरुण काबेलीको एक अर्बभन्दा बढी छ ।
जगेडा कोषका आधारमा पनि चिलिमेसँग सबैभन्दा बढी अर्थात ५ अर्ब २४ करोड रुपैयाँ सञ्चित छ भने नेशनल हाइड्रोको जगेडा कोष ४२ करोड ३८ लाख रुपैयाँले ऋणात्मक छ ।
प्रायः सबै सूचाङ्कमा चिलिमे अब्बल रहेपनि प्रतिशेयर आम्दानी सानिमा माई हाइड्रोको धेरै छ । सानिमाको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ७६ पैसा रहेको छ भने सबैभन्दा कम अरुण काबेलीको ६८ पैसा छ ।
नेटवर्थका आधारमा २९८ रुपैयाँ ११ पैसाका साथ वुटवल पावर अगाडि रहेको छ भने सबैभन्दा कम नेशनल हाइड्रो पावरको नेटवर्थ ६९ रुपैयाँ ४२ पैसा कायम छ ।