सानिमा बैंकको 'थ्रि इन वान' एकाउन्टबाट यसरी हुन्छ अनलाइनबाट शेयर कारोबार

Nov 22, 2018 Tirtha Raj Poudyal

अनलाईन कारोबार प्रणालीबाट आम लगानीकर्ताहरुले शेयर कारोबार गर्ने मिति नजिकिँदै गर्दा सानिमा बैंकले अनलाईन मार्फत घरमै बसेर शेयर कारोबार गर्न मिल्ने थ्रि इन वान (3 in 1) खाता सञ्चालनमा ल्याएपछि अहिले शेयर बजारमा यसको चर्चा परिचर्चा सुरु भएको छ ।

इन वान खाताको प्रयोग गरेर सानिमा बैंकमा खाता रहेका सम्पूर्ण व्यक्तिगत ग्राहकहरुले आफ्नो घर, कार्यालय वा संसारको कुनै पनि स्थानबाट अनलाईन मार्फत बिना कुनै झण्झट शेयर कारोबार गर्न सक्नेछन्।

यसरी कारोबार गर्दा शेयर कारोबारको रकम राफसाफ गर्नको लागि समेत बैंक वा ब्रोकर कार्यालय धाउनु नपर्ने बैंकले जनाएको छ । नेपालमा यस्तो सुविधा पहिलो पटक भित्राएको बैंकको दाबी छ ।

गैह्र आवासीय नेपाली (एनआरएन) ले प्रवद्धन गरेको सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा अनलाईन मार्फत शेयर कारोबारको सुविधा दिनकै लागि थ्रि इन वान खाता सञ्चालन ल्याएको जनाएको छ ।

 

यस खातामा ग्राहकहरूले डिम्याट खाता, लगानी खाता र बैंक खाताको प्रयोग एकै प्लाटफर्मबाट उपयोग गर्न सक्नेछन् । यसका लागि सानिमा क्यापिटलले हाल सीमित शेयर ब्रोकर कम्पनीहरुसँग सहकार्य गरेर अगाडि बढेको र आवश्यकता अनुसार अन्यसँग पनि सहकार्य गरिने जनाएको छ ।

दोस्रो बजारमा सानो कारोबार गर्ने र कार्यालयको कामकाजले आफुसँग भएको पूँजी परिचालन गर्न ब्रोकर कार्यालय जान नसकिरहेको व्यक्तिहरुलाई लक्षित गरि यो सेवा ल्याइएको सानिमा बैैंकका चिफ डिपोजिट अफिसर बबीसिंह गर्तौलाले बताए ।

यो खाता खोलेपछि विदेशमा रोजगारीमा जानेहरुले पनि विदेशबाटै शेयर खरिद बिक्री गर्न सक्नेछन् ।

थ्रि इन वान खाता के हो र कसरी खोल्न सकिन्छ ?

थ्रि इन वान एकाउन्ट बैंक र सानिमा क्यापिटलको सहकार्यमा सञ्चालित सेवा हो । सानिमा बैंक र सानिमा क्यापिटलले संयुक्त रुपमा आफ्ना ग्राहकहरुलाई धितोपत्रको दोस्रो बजारबाट इन्टरनेट बैंकिङ्ग मार्फत शेयर खरिद बिक्री गर्न सकिने प्रविधि युक्त सुविधा दिनका लागि सानिमा थ्रि इन वान  (3 in 1) खाता सञ्चालनमा ल्याएको हो ।

थ्रि इन वान खाता अन्तर्गत बचत खाता, लगानी खाता र डिम्याट खाता रहने छन् । सो खाताहरु खोल्नका लागि ग्राहकले बैंकको वेवसाइटमा रहेको थ्रि इन वानमा क्लिक (click) गरि आवश्यक विवरण भरेर आवेदन दिनुपर्नेछ ।


 

अनलाइन मार्फत आवेदन दिएपछि ग्राहकले दिएको इमेल ठेगानामा आवेदन प्राप्त भएको जानकारी पाउनेछन् । साथै बैंकले खाता खोलिदिएपछि बचत खाताको विवरण ग्राहकले दिएको इमेलमा नै प्रदान गर्नेछ ।

ग्राहक पहिचान विवरण (KYC) लगायत अन्य आवश्यक प्रक्रिया पूरा गर्नका लागि भने एक पटक नागरिकता सहित परिचयपत्रका ग्राहक बैंकमा जानुपर्नेछ। यस पश्चात् ग्राहकको हितग्राही खाता (DEMAT Account) नम्बर इमेलमा प्राप्त गर्नुहुनेछ ।

अनलाईन मार्फत शेयर कारोबारका लागि सानिमा बैंकमा बचत खाता हुने र सानिमा क्यापिटलमा डिम्याट खाता हुने ग्राहकले लगानी खाता खोलेर यो सेवा लिन सक्नेछन् ।

कसरी हुन्छ त शेयर खरिद-बिक्री ?

थ्रि इन वान खाता अन्तर्गत बचत खाता, लगानी खाता र हितग्राही (डिम्याट) खाता रहेको हुन्छ । जसमा बचत खाता, लगानी खाता र डिम्याट खाता अन्तर सम्बन्धित हुन्छन् ।

थ्रि इन वान खाता खोलिसकेपछि बैंकको ग्राहकले इन्टरनेट बैंकिङ्ग मार्फत शेयर कारोबार गर्न सक्नेछन् । ग्राहकले (I – Banking) को credential प्राप्त भएपछि ग्राहकले आफैँ कारोबार गर्न पाउनेछन् ।

ग्राहकले आफ्नो बैंक खातामा रहेको मौज्दात रकम जति शेयर खरिदको लागि माग गर्न सक्नेछन् भने बिक्रीको हकमा पनि सानिमा क्यापिटलको डिम्याट खातामा रहेको शेयर बिक्रीका लागि आदेश दिन सक्नेछन् ।

 

 

शेयर खरिद वा बिक्री गर्दा ग्राहकले शेयर खरिद वा बिक्री गर्ने सम्बन्धित कम्पनीको अघिल्लो दिन कारोबार बन्द भएको शेयरमूल्यको १० प्रतिशत माथि वा तलसम्मको रेञ्जमा खरिद वा बिक्रीको आदेश दिन सक्नेछन् ।

ग्राहकलाई कारोबार सुविधाका लागि खातामा रहेको बैंक मौज्दात र डिम्याट खातामा रहेको शेयर विवरण खरिद बिक्री गर्ने पेजमा नै उपलब्ध हुनेछ ।

यसरी ग्राहकले नेप्सेले प्रदान गरेको टेडिङ्ग कोडका आधारमा खरिद वा बिक्री के गर्ने हो सोही अनुसार छनौट गरि सम्बन्धित कम्पनीको स्टक सिम्बोल छनौट गरि खरिद वा बिक्रीको कित्ता , खरिद वा बिक्री गर्न चाहेको मूल्य राखी अर्डर गर्नसक्नेछन् ।

 

 

यसरी गरिएको कारोबारको लागि सानिमा क्यापिटलले कारोबार राफसाफको लागि शेयर दलाल व्यवसायी (ब्रोकर कम्पनी) सँग थप सहकार्य गरेको छ । ग्राहकले पठाएको शेयर खरिद वा बिक्रीको आदेश सानिमा क्यापिटलले सञ्चालनमा रहेका शेयर दलाल सदस्य मार्फत नै गराउनेछ ।

ग्राहकले दिएको खरिद बिक्रीको कारोबार आदेश सफल नभएको खण्डमा अर्डर (Order place) गरेकै दिन ग्राहकहरुको बचत खातामा फिर्ता गर्नेछ । आदेशको आंशिक कारोबार भएको खण्डमा कारोबार नभएको रकम फिर्ता हुनेछ ।

ग्राहकले दिउँसो साढे २ बजेसम्म मात्र शेयर खरिद वा बिक्री गर्न सक्नेछन् । यस सुविधा अन्तर्गत हरेक दिन दिउँसो २.३० देखि ६.०० बजेसम्म कारोबार गर्न बन्द रहनेछ ।

थ्रि इन वान एकाउन्टबाट शेयर कारोबार गर्दा कति लाग्छ शुल्क ?

थ्रि इन एकाउन्ट खोल्न तथा यस खाताबाट कारोबार गर्नका लागि ग्राहकले सानिमा बैंकलाई कुनै शुल्क बुझाउनु पर्दैन ।

यो खाता प्रयोग गरेर शेयर खरिद गर्दा ग्राहकले निक्षेप सदस्यता शुल्क (डिपी चार्ज) र सानिमा क्यापिटलले प्रदान गर्ने लगानी व्यवस्थापन शुल्क सहित कूल कारोबारको न्यूनतम १५० रुपैयाँदेखि अधिकतम ०.९० प्रतिशत शुल्क काट्नेछ ।

शेयर खरिद गर्ने ग्राहकको सानिमा बैंकमा रहेको बचत खाताबाट यस्तो शुल्क कट्टा गरि लगानी खातामा जम्मा हुन्छ । ब्रोकर कार्यालयबाट कारोबार सम्पन्न भएपश्चात यो शिर्षकमा कट्टा गरिएको रकमबाट वास्तविक शुल्क समायोजन गरि बाँकी रकम सोही दिन बचत खातामा फिर्ता हुन्छ । 

बिक्रीको हकमा भने प्रत्येक दिन गरिने कारोबारको ०.१० प्रतिशत वा न्यूनतम २० रुपैयाँदेखि अधिकतम १०० रुपैयाँभन्दा बढी तिर्नुनपर्ने बैंकले जनाएको छ ।

त्यसका अतिरिक्त ग्राहकले सानिमा क्यापिटलमा हितग्राही खाता खोल्नका लागि वार्षिक शुल्क सहित १५० रुपैयाँ बुझाउनुपर्नेछ । मेरो शेयर सुविधाका प्रयोगका लागि थप ५० रूपैयाँ लाग्नेछ ।  

पाँच कार्यदिनमा दिनमा खातामा शेयर, बैंकमा ब्यालेन्स

थ्रि इन वान खाता मार्फत हुने शेयर कारोबार एकै कार्यदिनमा पूर्ण स्वचालित (Fully Automation) रुपमा हुनेछ ।

शेयर खरिद वा बिक्रीको काम सफल भएपश्चात् खरिदको हकमा पाँच कार्यदिनमा ग्राहकहरुको डिम्याट खातामा शेयर जम्मा हुने र बिक्रीको हकमा पनि पाँचौ दिनमा बचत खातामा रकम जम्मा हुनेछ ।

थ्रि इन वान पूर्णत स्वचालित प्रक्रिया भएको हुनाले ग्राहकहरुले यो सेवा छिटो छरितो तरिकाले प्रयोग गर्नसक्ने बैंकले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।