नयाँ लगानीकर्ता अहिले नै बजार प्रवेश किन गर्ने ?

Nov 26, 2018 Merolagani

- आनन्द कुमार भट्टराई ।
महाभारतको भारतीय टेलिश्रृखंला हामी सबैले हेरेकै छौं। त्यसमा सेनापतीले हुंकार भरेर भन्ने एउटा डायलग "आक्रमण" बाट हामी सबै परिचित छौं र यदाकदा हामी पनि त्यो डायलग कतिपय सन्दर्भमा उच्चारण गर्ने गर्छौं।

यहाँ मननयोग्य कुरा के हो भने युद्धमा नेतृत्व गर्ने दुवै पक्षका सेनापतीले युद्ध जित्छु भनेर नै आक्रमणको आदेश दिएका हुन्छन् र सो आदेश पालन गर्न सैनिकहरु जीवन मरणको विचार नै नगरि युद्धमा होमिएका हुन्छन् ।

त्यहाँ दुवै पक्षका सेनापतिले तत्कालीन युद्ध गर्नै पर्ने परिस्थिती, आफ्नो युद्ध क्षमता, युद्धको तयारी तथा जित्नै पर्ने मानसिकता लिएर युद्धको आदेश "आक्रमण " भनेर दिएका हुन्छन् र सैनिकले त्यो आदेश पालना गरिरहेको हुन्छ ।

माथिको प्रसङ्ग हाम्रो शेयर बजारसँग पनि कता कता मिलेको जस्तो देखिन्छ । हाम्रो शेयर बजारको बहुसंख्यक आम लगानीकर्ता युद्धका सैनिक जस्तै हुन् जसले आफ्नो भूमिका आफ्नो स्व:विवेकले भन्दा पनि सेनापतीको चाहना बमोजिम निर्वाह गरिरहेका हुन्छन् ।

यहाँ तिनका तार्किक ज्ञान बमोजिमको क्रियाले स्थान पाएको हुँदैन अथवा उनीहरु आफ्नो स्व:विवेकिय निर्णयले अगाडि बढ्न खोजे पनि नेता लगानीकर्ता (सेनापती) को तथष्ट नीतिले गर्दा पछाडि फर्कन बाध्य हुन्छन् । त्यसैले गर्दा अहिले तार्किक हिसाबले शेयर बजार प्रवेश गर्ने बेला तथा शेयर खरिद गर्ने बेला भए पनि बजार यथास्थितिमा अथवा क्रमश: घट्दो क्रममा छ । यसो हुनुमा तर्क (Logic) र भावना (Emotion) ले ठूलो भूमिका खेलिरहेको छ ।

  • तर्क ( Logic )

शेयर बजारका पण्डितहरुको भनाईलाई मान्ने हो भने जब बजार तल्लो बिन्दुमा हुन्छ तब खरिद बढाउनुपर्छ र जब बजार माथिल्लो बिन्दुमा हुन्छ तब बिक्री गरि बाहिरिनुपर्छ । 

बजारमा तीन किसिमका लगानीकर्ताहरु (Conservative, Moderate र  Aggressive) भएको कारणले बजारको तल्लो बिन्दु र माथिल्लो बिन्दु कुन तहलाई मान्ने भन्ने विषयमा एक मत (मतैक्य) नभए पनि मूल्य आम्दानी (P/E Ratio) अनुपात १२ को आसपास वा सो भन्दा तल र मूल्य किताबी मूल्य ( P/B Ratio) २ को आसपास वा सो भन्दा तल भएको अवस्थालाई तल्लो विन्दुको रुपमा लिने गरिएको छ ।

यस्तो अवस्थामा विश्व शेयर बजारका पण्डितहरु वारेन बफेट, भारतका झुनझुनवाला अथवा विजय केडिया जस्ता लगानीकर्ताले कम्पनीको अवस्थाको विश्लेषण गरि शेयर खरिद गर्ने मौका गुमाउँदैनन् । तिनको यस्तै तार्किक ब्यवहारले गर्दा आज उनीहरु अरबौंका मालिक छन् ।

  • भावना ( Emotion )

शेयर बजारमा आम लगानीकर्ताको ब्यवहारमा तर्कले भन्दा पनि भावनाले बढी प्रभाव पारिरहेको हुन्छ । एकातिर कम्पनीको सबै आधारभूत सूचकहरुको आधारमा अहिलेको मूल्यमा खरिद गर्नुपर्छ भनेर उसको दिमागले तर्क गर्छ भने अर्को तर्फ बजार फेरि पनि घटे भने के गर्ने अथवा बजार त भोली पनि घटछ भन्ने डर र त्रास जस्तो भावना (जसलाई हामी Emotion भन्छौ ) ले गर्दा उसले या त खरिद गर्दैन वा पहिले खरिद गरेको पनि घाटा खाएर बिक्री गर्दछ ।

शेयर बजारमा यस्तो ब्यवहार देखाउने लगानीकर्तालाई सामाजिक कार्यकर्ता (Social Worker ) भनिन्छ किनकी यिनले बिक्री गर्ने बेलामा खरिद गरेर तथा खरिद गर्ने बेलामा बिक्री गरेर बुद्धिमान शेयर लगानीकर्ताहरुको लागि मुनाफाको बाटो खोली दिन्छन्।

आम लगानीकर्ता सामाजिक कार्यकर्ता बन्ने की विजेता खेलाडी बन्ने  ?

परिभाषाले नै प्रष्ट हुन्छ की सामाजिक कार्यकर्ता (Social Worker) भन्नाले अरु (समाज) को लागि काम गरि दिने । यिनले आफूले दु:ख अथवा घाटा खाएर अरुको लागि कमाउने बाटो बनाई दिन्छन् । हाम्रो शेयर बजारमा यस्तो लगानीकर्ताको बाहुल्यता बढी छ ।

बजार जतिबेला उचाईमा हुन्छ त्यति बेला यिनले खरिद गर्छन्। यस्तो बेलामा Price to Earning Ratio (P/E Ratio)  २४/२५ भन्दा पनि बढी र Price to Book Value (P/B Ratio) ४/५ भन्दा पनि बढी हुन्छ । अर्थात यिनले विजेता खेलाडीले बिक्री गर्ने शेयर खरिद गर्छन् र खरिद गरेको भोलिपल्ट वा केही दिन पछि बजार घटन् थाल्छ ।

बजार घट्न थाले पनि तिनले थोरै घाटा खाएर बिक्री नगरी फेरि बढ्ने अवसर कुरेर बस्छन्। तर बजार एकदम माथि गएर घट्न थालेपछि फेरि तल्लो बिन्दुमा क्रमश: आउन थाल्छ र जब बजार तल्लो बिन्दुमा आउँछ त्यतिबेला ती लगानीकर्ताको धैर्यको बाँध फुट्छ र तिनले उच्चतम घाटा खाएर बिक्री गर्छन् र त्यो शेयर फेरि विजेता खेलाडीले खरिद गर्दछ ।

यहाँ मनन् योग्य कुरा के हो भने यति बेला बजार फेरि मूल्य आम्दानी (P/E Ratio ) अनुपात १२ को आसपास वा सो भन्दा तल र मूल्य किताबी मूल्य ( P/B Ratio ) २ को आसपास वा सो भन्दा तल आईसकेको अवस्था हुन्छ। अर्थात खरिद गर्ने बेलामा यिनले फेरि सामाजिक कार्यकर्ता (Social Worker) को भूमिका निर्वाह गरेर अरुको लागि घाटा खाएर शेयर बिक्री गर्छन् ।

अहिलेको हाम्रो शेयर बजारमा आक्रमण भनीदिने सेनापतीको खाँचो छ ।

सबै सूचकहरु सकारात्मक हुँदा पनि बजार बढनुको सट्टा क्रमश घट्दै जानुको पछाडी आम लगानीकर्तामा आत्मविश्वास (Confidence)  को अभावनै हो । आम लगानीकर्तामा आत्मविश्वासको अभावले गर्दा थप खरिद बढाउन ईच्छुक नहुनु ( बैंक ब्याज घट्न नसक्नु एउटा प्रमुख कारण हो भन्न सकिन्छ ), नयाँ लगानीकर्ता प्रवेश गर्न इच्छुक नहुनु तथा संस्थागत लगानीकर्ताले प्रवेश गर्न नचाहनु ।

शेयरको अनलाईन कारोवारको उद्घाटनको क्रममा अर्थमन्त्रीबाट शेयर बजारको सन्दर्भमा सकारात्मक कुराहरु आएपनि लगानीकर्ता अझै विश्वस्त हुन सकेका छैनन् भने शेयरको अनलाईन कारोवारको प्रणालीमा देखा परेको विभिन्न प्रणालीगत त्रुटीले गर्दा लगानीकर्तामा यसले सोचे जस्तो उत्साह पनि थप्न सकेको छैन ।

त्यस्तै धितोपत्र बोर्डका अध्यक्षबाट अनलाईनको शुरुवातले दैनिक कारोबार ५ अर्ब पुग्छ भन्ने अभिब्यक्ति आउनुलाई पनि सकारात्मकनै मान्नु पर्छ । तर त्यसको लागि कतिपय नीतिगत समस्याहरु समाधान गरिनु पर्छ जसमा एनआरएनलाई लगानी अनुमति दिने, अनलाईनलाई बैंक खाता संग आवद्ध गर्ने, देशको कुना काप्चा सम्म अनलाईनको पहुँच पुर्याउने र बैंकको ब्याजदरलाई घटाउने जस्ता विषय महत्वपूर्ण हुन् । र उक्त अभिब्यक्तिबाट यस्ता विषयमा बोर्डले भूमिका खेल्ने मानसिकता बनाएको अनुमान गर्न सकिन्छ ।

यी सबै कारणले गर्दा यस्तो बेलामा भईरहेका तथा नयाँ संस्थागत लगानीकर्ताले महाभारत युद्धका सेनापतीले जस्तो हुंकार गरेर " आक्रमण " को शैलीले आफ्नो ब्यवहार नदेखाउन्जेल बजारमा सकारात्मक प्रभाव पर्ने छाँटकाँट देखिदैन । र यसको लागि सरकारबाट माथि भनिएका नीतिगत कुराको संबोधन हुनै पर्ने अवस्थाको श्रृजना भईसकेको छ ।

यद्यपी शेयरको अनलाईन कारोवारको उदघाटनको क्रममा अर्थमन्त्रीबाट ११ प्रतिशत ब्याजदर खाने दिन गए भन्दै संस्थागत लगानीकर्ताहरुलाई शेयर बजारमा लगानी बढाउन तथा अर्थ ब्यवस्थाको वर्तमान सूचक तथा शेयर बजारको सूचकमा तालमेल नभएको भनी घटदो बजार प्रति चिन्ता ब्यक्त गरे तापनी त्यसले कोरामिनको काम गर्न नसक्दा बजारमा चलखेलनै भएको हो की भन्ने संशय लगानीकर्ताबाट ब्यक्त हुनु  नौलो विषय होईन ।

बजारमा सेनापतीको प्रवेश गर्ने बेला भएकै हो त ?

विश्व रङ्गमञ्चमा समयानुकूल सही निर्णय गरेर शेयर बजारबाट अरबौंको मालिक भएका शेयर पण्डितहरुको लगानी ब्यवहार तथा तिनका गुरुमन्त्रलाई आत्मसात गर्ने हो भने लगानीकर्ताले अहिलेको अवस्थाको विश्लेषण गरेर सही लगानी ब्यवहार देखाउनुपर्ने बेला भएको छ ।

चालु आर्थिक वर्ष २०७५/७६ को प्रथम चौमासिकको वित्तीय रिपोर्टलाई आधार मान्दा नेप्सेमा सूचीकृत २७ वटा बैंकमध्ये अधिकांश बैंकको P/E Ratio १२ को आसपास रहेको छ  भने P/B Ratio २ भन्दा कम रहेको छ ।

यो अवस्था नेप्से सन् २०११ को जुनमा २९२ को सबभन्दा तल्लो बिन्दुमा रहेको बेलाको जस्तै हो । सूचीकृत अन्य अधिकाशं विकास बैंक, फाईनान्स कम्पनी तथा अन्य कम्पनीको पनि यस्तै अवस्था रहेको छ ।

अर्थ ब्यवस्थाको विभिन्न पक्षहरु मध्ये शेयर बजार पनि एक महत्वपूर्ण पक्ष हो । यसलाई अर्थ ब्यवस्थाको ‌ऐना पनि भनिन्छ। त्यसैले सरकारले यसलाई प्रवर्धन गर्नैपर्छ । सरकार यथास्थितिमा मुकदर्शक भएर बस्दा आम तथा गरिब र साना लगानीकर्तानै मारमा पर्ने र त्यस्ताको संख्या उल्लेख्य भएकोले यस विषयमा न्यायोचित शैलीमा केहि सम्बोधन हुनु समयको माग हो भन्नुमा अतिशयोक्ती नहोला ।

त्यस्ता विषय - बैंक ब्याजमा अंकुश लगाएर बढ्न नदिई घटाउने ब्यवस्था, अनलाईन पद्धतीको प्रयोगमैत्री युजर म्यानुवलको विकास गरि यथासक्य आम लगानीकर्ताको पहुँचमा पुर्याउने ब्यवस्था, अनलाईन कारोबारलाई बैंक खातासँग आवद्ध गर्ने, एनआरएनलाई अनलाईन मार्फत शेयर बजारमा प्रवेश गराउने ब्यवस्था - हुन सक्छन् ।

एउटा कुरा नबिर्सौ की विश्वको हरेक देशको शेयर बजारमा कम्पनीहरुको मूल्य P/E Ratio, P/B Ratio, PEG Ratio ( P/E to growth ) Debt to Equity Ratio जस्ता सूचकहरुको आधारमा तय भएको हुन्छ र लगानीकर्ताले यिनै सूचकलाई कम्पनीको ब्यवस्थापन तथा भविष्यको वृद्धि ( Growth) सँग दाँजेर शेयर मूल्य यथार्थ छ की छैन भनी स्व:मूल्याङ्कन गरि कारोबार गरिरहेका हुन्छन् । त्यसैले आम लगानीकर्ताले पनि यसै अनुकूलको ब्यवहार गर्ने बानी बसाल्नु नै उत्तम विकल्प हो ।

अन्तमा शेयर खरिद बिक्री सम्बन्धी एउटा टिप्स

शेयर बजार सधै बढिरहने र सधै घटिरहने भन्ने हुँदैन । बढे पछि घट्ने र घटे पछि बढ्ने यसको शाश्वत चरित्र हो। त्यसैले अहिले लगानीकर्ताले आफ्नो ज्ञान, साहस र धैर्यको परिचय दिई संयमतापूर्वक ब्यवहार गर्ने बेला हो। यसै सन्दर्भमा कुनै विद्धानले भनेका तलका कुराले लगानीकर्ताको मार्गदर्शन गर्न सक्छ की ? भनी प्रस्तुत गरिएको छ ।

(लेखक भट्टराई अर्थ मन्त्रालयका अवकाश प्राप्त उपसचिव हुन्)

 

comments powered by Disqus

शेयर बजारको अस्वाभाविक राजनीति

Dec 15, 2018

- आनन्द कुमार भट्टराई।
मुलुकको शेयर बजार अहिले एकदमै तातेको अवस्थामा छ। चारैतिर यसकै चर्चा छ। एकथरि लगानीकर्ता विभिन्न माग राखि रिले अनसनमा छन् भने त्यसलाई सत्ता ईत्तर फक्षका विभिन्न घटकबाट सांकेतिक समर्थन पनि बढ्दो छ। वास्तवमा मुलुकको लागि यस्तो अवस्थामा किमार्थ पनि राम्रो मान्न सकिँदैन।