‘मुंगेरीलाल के हसिन सपने’ होइन शेयर बजार

Dec 03, 2018 Merolagani

नीरव पुडासैनी
आर्थिक सूचाङ्कहरु आशातित सुधारको पथतर्फ लाग्न नसकेको वर्तमान परिप्रेक्ष्यमा अर्थतन्त्रको ऐना शेयर बजारमा चमत्कारी सुधारको अपेक्षा राख्नु दिवा सपना मात्र हुनेछ ।

शोधानान्तर अवस्था दिन प्रतिदिन घाटामा गइरहेको छ । तरलताको उच्च अभावमा बैंकहरु पिल्सिरहेका छन् । उपभोक्ता मूल्य सूचाङ्क बढिरहेको छ। यस्तो अवस्थामा शेयरका अङ्कहरु मात्र प्रगतिको आश गर्नु ‘मुंगेरीलाल के हसिन सपने’ सरह मात्र हुनेछ ।

तर यसको अर्थ सपना नदेखौं आशा नगरौं भन्न खोजेको होइन । सपना देखौं, आशा गरौं तर वस्तुपरक भएर । तसर्थ नेपालको शेयर बजारमा खरिद गर्दा सधैँ तीनवटा कुराको हेक्का राखौं:

पहिलोः कुन शेयर किन्ने, उक्त कम्पनीको हालको अवस्था, त्यसको वासलात, सरकारी निर्णयले त्यसलाई पार्न सक्ने असर आदी ।

दोस्रोः कति शेयर किन्ने, आफ्नो जोखिम बहन क्षमताको आंकलन गरेर मात्र शेयर किन्ने, ऋणमा या मार्जिन सुविधामा शेयर किन्ने हो भने कति समयसम्म सो शेयर पाल्न सकिन्छ त्यसको पूर्वानुमान गर्नु उपयुक्त हुन्छ ।

तेस्रोः कुन मूल्यमा शेयर किन्ने त्यो स्वयं आफूले निर्णय गर्नुपर्छ । उदाहरणका लागि अहिलेको अवस्थामा यदि आजको मूल्यमा थप शेयर किन्ने हो भने पहिला किनेको मूल्यभन्दा ३५–४५ प्रतिशत हाराहारीमा मूल्य छ भने किन्न उत्तम हुन्छ । त्यस्तै पुराना शेयर छैनन् भने त्यो अवस्था निकै राम्रो देखिन्छ । तसर्थ मूल्यको चयन स्वयं लगानीकर्ताले गर्नु उत्तम हुन्छ ।

त्यसैगरी अहिलेको अवस्थामा कारोबारमा भन्दा लगानीमा जोड दिएर शेयर खरिद गर्नु राम्रो देखिन्छ । तथापि यसले केही समयको धैर्यको माग भने पक्कै गर्छ । सायद यही भएर संस्थागत लगानीकर्ताहरु थप शेयर खरिदको विषयमा उदार हुन सकिरहेका छैनन्। जसरी अहिलेको अवस्थामा संस्थागत लगानीकर्ताहरु कूल पूँजीको केही हिस्सा मात्र बजारमा प्रवेश गराइरहेका छन्, आम लगानीकर्ताले पनि त्यसै गर्नुको विकल्प छैन।

तरलतामा सुधार हुने बित्तिकै अर्थबजारले पुनः गति लिन थाल्छ

हाम्रो अर्थतन्त्रमा शोधानान्तर अवस्थामा सुधारको साथै तरलतामा सुधार हुने बित्तिकै अर्थबजारले पुनः गति लिन थाल्छ। जसका संकेतहरु भावी दिनमा पक्कै देखिनेछ । तसर्थ अर्थतन्त्रलाई मध्यनजर गरेर आफ्नो कारोबार रणनीति परिवर्तन गर्नु उपयुक्त हुनेछ ।

कारोबार रणनीति परिवर्तन गरिरहन सक्नु नै सफल लगानीकर्ताको संकेत हो । सायद संस्थागत वा ठूला लगानीकर्ताहरु र साना लगानीकर्ता बीचको फरक यहि हो । तर अहिलेको बजारमा कारोबारको हिसाबले यसपटक ठूला लगानीकर्ताहरु संस्थागत बाहेकका पनि थलिएको भान हुन्छ ।

सायद उनीहरुको अनुमान विपरीत बजार गयो वा उनीहरुले राफसाफ मूल्यमा बजार प्रवेश गरेनन् वा राफसाफ गरिसकेर थप शेयर किन्न उनीहरु हिचकिचाइरहेका छन् । तर जे भएपनि अर्थतन्त्रमा सुधारका संकेतसँगै ठूला तथा संस्थागत लगानीकर्ताहरुको प्रवेश हुनेछ । योसँगै बजारले पुनः लय लिनेछ ।

अंकहरुको खेलमा नआत्तिऔँ

विगत डेढ दशक बीचको उतार-चढाव हेर्ने हो भने आशाका किरणहरु धेरै देखिन्छन् । नेप्से परिसूचक ५४५ बाट १८६ हुदैँ क्रमशः २१८ र १८८८ को सर्वाधिक उच्च अंक हुदैँ अहिलेसम्म ११३५.९१ अंकमा बजार आउनु वा चलायमान हुनु बजारको सुन्दर पक्ष हो ।

तसर्थ यस्ता अंकहरुको खेलमा नआत्तिऔँ । यसबीचमा बजारमा धेरै उतार-चढाबहरु भए, यहीँ उतार-चढाबलाई नगदमा रुपान्तरण गर्ने प्रयास गर्नु नै शेयर कारोबारीको पहिलो प्रयास हुनुपर्छ । तर हेक्का रहोस् यस्तो अवस्थामा आफ्नो राफसाफ मूल्यको सही पहिचान गर्न सक्नुपर्छ । अन्यथा, बजारमा फसिने डर हुन्छ ।

हालको स्थितिको सुक्ष्म अध्ययन गर्ने हो भने, धेरैभन्दा धेरै शेयर लगानीकर्ताहरु उचित समयमा उचित मूल्यमा राफसाफ गर्न नसकेका कारण बजारमा फसेको देखिन्छ । तर यो सबै लोभको कारण हो ।

शेयर बजारमा यस्तो लोभ आउनु स्वभाविक हो । शेयर बजारमा एउटा भनाई छः ‘एउटाको लोभ अर्काको कमाईको आधार हो ।’ साँढे (बुल) ले पैसा कमाउँछ, भालु (बियर) ले पैसा कमाउँछ, सुँगुर (पिग) मारिन्छ । त्यसका कारण अधिक लोभका कारण खति हुन्छ ।

सायद वर्तमान अवस्थामा आम लगानीकर्ताहरु सँगै ठूला लगानीकर्ताहरु अधिक लोभका कारण फसेका त होइनन्? तसर्थ सुँगुर होइन साँढे र भालु हुने प्रयास गरौं। छोटो समयमा अधिक मुनाफाको आशा नगरौं, सुँगुर भएर मारिने चेष्टा नगरौं ।

लगानीको सुरक्षा कसैले गरिदिँदैनन्, स्वयम् आफैँले गर्नुपर्छ

तपाईको लगानीको सुरक्षा कसैले गरिदिँदैनन्, स्वयम् आफैँले गर्नुपर्छ । शेयर बजारमा अरुको भरमा लगानी गर्ने होइन । बजारको गतिविधि बुझ्न प्राविधिक र आधारभूत विश्लेषणहरु पढ्ने बानी गर्नुपर्छ ।

यदि कसैले अंकको आधारमा बजारको सूचाङ्क निश्चित अंकमा आउने दाबी गर्छ भने त्यसको आधारमा गरिने लगानीको जिम्मेवारी स्वयं आफैँले लिनुपर्छ । शेयर बजारमा लगानी गरिसकेपछि मनोवैज्ञानिक रुपमा घाटाको तयारी गर्न पनि सिक्नुपर्छ । एउटाको घाटा नै अर्काको नाफा हो ।

अर्थतन्त्रको संकूचन मात्र होइन, लगानीकर्ताको मनोविज्ञान तथा लोभको कारण बजारले दैनिक आफ्नो अघिल्लो दिनको न्यून मूल्यलाई तोडिरहेको छ । तथापि निराश हुनुपर्ने अवस्था छैन । पूर्वाधारमा लगानीका साथै त्यसका लागि चाहिने कच्चा पदार्थको उत्पादन देशमा भइरहेको प्रगतिको आधारमा भन्ने हो भने, तरलताको संकट चाँडै अन्त्य हुने अनुमान गर्न सकिन्छ ।

तर बैंकहरुको बेलगाम ऋण प्रवाहलाई रोक्न पनि राष्ट्र बैंकले सीसीडी रेसियोमा कडाई गरिरहनुपर्छ। क्षणिक हेरेर तरलता अभाव सहज हुने बहानामा सीसीडी खुकुलो पार्नु शेयर बजारका लागि उपयुक्त हुँदैन । आर्थिक गतिविधिको कारण बजारमा तरलता सिर्जना हुन दिनु उत्तम हुन्छ । यसका लागि सरकारले थप कदम चाल्नुपर्छ ।

लगानीकर्ताहरु आफ्नो भावना र आवेगका कारण  गुमाउँछन् 

अनलाइन कारोबारको पूर्ण सञ्चालनसँगै शेयर बजारमा धेरै कारोबार बढ्ने आंकलन गर्न सकिन्छ । तथापी शेयर बजारका लगानीकर्ताहरु आफ्नो भावना र आवेगका कारण बजार गुमाउँछन् । आवेग हाबी भएको अवस्थामा उनीहरु देशको समग्र सूचाङ्कमा ध्यान दिँदैनन् या बुझ्ने प्रयास गर्दैनन् । यस्तै बजार चक्रको अनुमान लगाउँदा लगानीकर्ताहरुको मनोदशा हाबी हुन्छ । जुन कुरा नेप्से १८८८ हुँदा प्रस्ट देखियो ।

त्यसकारण शेयर बजारमा कारोबार गर्ने लगानीकर्ताहरु सधैँ राफसाफ मूल्यमा सजग हुनुपर्छ । खरिद बिन्दु र मूल्य दुबैको आधार तय गर्नुपर्छ । लगानीकर्ताहरु कम्पनीका प्रकाशित वित्तीय विवरणहरु हेर्दैनन्, अरुले भनेकै भरमा लगानी गर्छन् । यकिन नभएपनि करिब ८५–९० प्रतिशत लगानीकर्ता यही प्रवृत्तिका छन् । ९० प्रतिशत लगानीकर्ता बिना योजना लगानी गर्छन् ।

जोखिम बहन गर्ने क्षमताका आधारमा लगानी गर्नुस् 

अर्काथरी लगानीकर्ताहरु जति धेरै जोखिम लियो त्यति धेरैँ मुनाफा गर्न सकिन्छ भनेर सोच्छन्, यो नितान्त गलत हो । उक्त शेयरको मूल्य कम छ वा धेरै घटेको छ, त्यसकारण अहिले किन्नु उत्तम हो । लगानीकर्ताले यो धारणा पाल्नु घातक हो ।

‘मुंगेरीलाल के हसिन सपने’ होइन शेयर बजार । छिमेकीले कमाएको देखेर सपना बुन्दै बजार प्रवेश नगर्नुस् । पूँजी बजार सबैको लागि होइन । जोखिम बहन गर्ने क्षमताका आधारमा लगानी गर्नुस् ।

यति भनिरहँदा बजार सधैँ आदर्श पूर्वक चल्छ भन्ने होइन, त्यसका धेरै चलखेलहरु हुन्छन् । आम लगानीकर्ताहरु यस्ता चलखेलयुक्त भ्रामक कुराहरुतर्फ आकर्षित हुन हुँदैन । त्यसकारण नोक्सानको ख्याल गरी त्यसको मूल्य चुकाउन तयार भएर मात्र बजार प्रवेश गरौं ।

(लेखक पुडासैनी शेयर विश्लेषक हुन् । )

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।