कम्पनीले मंसिर १९ गते देखि २६ गते सम्म दोस्रो चरणमा संस्थापक संगठित संस्थाका कर्मचारी र ऋणदाता संस्था कर्मचारी संचयकोषका कर्मचारीहरुलाई शेयर निष्काशन गर्दैछ ।
त्यसपछि मात्रै दुबै चरणमा निष्काशन भएको शेयर एकैपटक वितरण गर्ने तयारी रहेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
कम्पनीले पहिलो चरणमा कार्तिक २८ गते देखि मंसिर १४ गते सम्म कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।
दोस्रो चरणमा संस्थापक संगठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्था कर्मचारी संचयकोषका कर्मचारीहरुका लागि ६ लाख कित्ता शेयर मंसिर १९ गते देखि आबेदन खुल्ला गर्दैछ ।
जसमा संस्थापक शेयरधनीहरुले न्यूनतम ५० कित्तादेखि ५०० कित्तासम्म र ऋणदाता संस्था कर्मचारी सञ्चयकोषका कर्मचारीले ५० देखि अधिकतम १२ सय कित्तासम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशक तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ भने एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीआईबिएल क्यापिटल लिमिटेड सहबिक्री प्रबन्धक रहेका छन् ।
सञ्चयकोषका बचतकर्ता र कर्मचारी तथा संस्थापक संस्थाका कर्मचारीलाई शेयर निष्काशन गरिसकेपश्चात तेस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक बासीका लागि ६० करोड बराबरको ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने योजना कम्पनीको छ । त्यसपछि चौथो चरणमा सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गरिने ग्लोवल आइएमई क्यापिटलले जनाएको छ ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी छ अर्ब २१ करोड रुपैंया छ भने जारी पूँजी छ अर्ब रुपैंया छ ।