सोमबार मरोलगानीले राजधानीमा रहेका केही ब्रोकर कार्यालयहरु पुगेर शेयर लगानीकर्ताहरुसँग साक्षात्कार गर्दा अधिकांश लगानीकर्तालाई अनलाइन कारोबार प्रणालीमा कसरी सहभागि हुने जानकारी नै नभएको भेटिएको हो ।
हुनत नेप्सेले पटक पटक ब्रोकर र लगानीकर्तालाई अनलाइन कारोबारका बिषयमा तालिमहरु पनि दिदै आएको थियो । अनलाइन सुरु गर्नु अगाडि नेप्सेले मोक ट्रेडिङ समेत सञ्चालन गरेको थियो । तर पनि नियमित कारोबारमा संलग्न हुने अधिकाश लगानीकर्तालाई अनलाइन कारोबारको प्रक्रिया नै थाहा नहुनु सरोकारवालका लागि लाजमर्दो बिषय बनेको छ ।
राजधानीका विभिन्न स्थानमा रहेका ब्रोकर कार्यालयमा उपस्थित भएका धेरैजसो लगानीकर्ताले अनलाइन अगाडि ब्रोकरसँग गरिने सम्झौता पत्र बारेमा आफुहरुलाई कुनै जानकारी नभएको मरोलगानीलाई बताए ।
अनलाइन छिटो चाहियो, युजरनेम र पासवर्ड तुरुन्त दिनुपर्यो भनेर नेप्से घेराउ र आन्दोलनमा उत्रिएका लगानीकर्ताका नेता र केही सिमित लगानीकर्ता बाहेकलाई अनलाइन प्रणालीबारे थाह नहुनुले नियामक निकाय, ब्रोकर र लगानीकर्ताका नेताले अभिमुखिकरणमा ध्यान नदिएको प्रष्ट देखिन्छ ।
के भन्छन् लगानीतकर्ता ?
अनलाइन सेक्यूरिटिजमा भेटिएका ज्वाला गौतम भन्छन्, जबसम्म अनलाइन मार्फत बैंक इन्टिग्रेट हुदैन तबसम्म त्यो पूर्ण अनलाइन हुदैन । बैंक र ब्रोकरका बीचमा प्रोक्सी खाता नभएसम्म त्यो अनलाइन होइन । हाल सञ्चालनमा आएको प्रणाली मार्फत कारोबार गर्नु नै छैन भने किन सम्झौता पढ्नु ?
अनलाइन प्रणालीमा प्रष्ट नभएको र हाललाई पुरानै शैली मार्फत पनि कारोबार हुने हुदाँ केही दिनको बजारको अवस्था हेरेर मात्र अनलाइन मार्फत कारोबार गर्न यूजर नेम र पासवर्ड लिने सुन्धारा सेक्यूरिटिजमा भेटिएका विनय श्रेष्ठ बताउँछन् ।
हाल ब्रोकरले चलाइरहेको अनलाइन प्रणालीमा दिनदिनै फरक फरक समस्या देखिएको छ । यस्तो समस्या भएको प्रणालीमा विश्वास नभएको कारणले अनलाइन प्रणालीमा यूजरनेम र पासवर्ड लिन इच्छुक नभएको अर्की लगानीकर्ता रेणुका भट्टराई बताउँछिन् ।
नेप्सेले बनाएको सम्झौतापत्र लगानीकर्ताभन्दा पनि ब्रोकर अनुकुल मात्र भएका कारण आफू अनलाइन प्रणालीमा जान इच्छुक नभएको बताउँछन् एक लगानीकर्ता ।
यूजरनेम र पासवर्डका बारेमा के भन्छन् ब्रोकर?
सोमबार दिउँसो अनलाइन प्रणालीको बारेमा काठमाडौंका विभिन्न ब्रोकरहरुमा मेरो लगानी जानकारी लिन पुगेको छ । यस क्रममा सुन्धारास्थित सुन्धारा सेक्यूरिटी र पुतलीसडकको अनलाइन सेक्यूरिटिजका प्रमुखसँग अनलाइन प्रणालीमा लगानीकर्ताले देखाएको बारेमा कुरा गरिएको छ ।
लगानीकर्ताले यूजरनेम र पासवर्ड लिन चासो देखाएको अनलाइन सेक्यूरिटिजका प्रमुख अनन्त कुमार पौड्यालले बताए । लगानीकर्ताका लागि अनलाइन प्रणाली सुरु भएको दोस्रो दिन २४ जना लगानीकर्ताले केवाइसी फाराम भरेर सम्झौतापत्रमा हस्ताक्षर गरी यूजरनेम र पासवर्डका लागि आवेदन दिएको उनले मेरो लगानीलाई जानकारी गराए । तर हाल आवेदन गरेका लगानीकर्ताले यूजरनेम र पासवर्ड लिनका लागि भने केही दिन पर्खनु्पर्ने पौड्यालकाे भनार्इ छ ।
हाल ब्रोकरहरुले चलाइराखेको प्रणालीमा देखा परेको समस्या समाधान हुन कठिन छ र दिन दिनै नयाँ समस्याहरु देखा परेको सुन्धारा सेक्यूरिटीका प्रमुख फडिन्द्र ढकालले बताए । उक्त प्रणालीमा समस्या देखिन छाडेपछि मात्र लगानीकर्तालाई यूजरनेम र पासवर्ड वितरण गर्ने ढकालकाे भनार्इ छ । ढकाल भन्छन्, हालसम्म पनि अनलाइन प्रणालीमा देखिएको समस्याको बारेमा ब्रोकहरुको कमेन्टको प्रक्रिया नै समाधान भएको छैन भने लगानीकर्तालाई यूजरनेम र पासवर्ड दिनु खासै प्रभावकारी हुदैन ।