शेयर बजार बिग्रनुमा लगानीकर्ताको मात्र दोष हो र ? मेरोलगानी टीप्पणी

Dec 11, 2018 Merolagani

अर्थमन्त्री युवराज खतिवडा सेयर बजारप्रति सकारात्मक छैनन् । अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै उनको सोझै या घुमाउरो पारामा भन्ने शैली एउटै हुन्थ्यो, नेपालको पूँजी बजार सिमित व्यक्ति र समूहको हातमा छ । मन्त्रीको जिम्मेवारीमा रहेका खतिवडाले बजारका विषयमा अनेक टीकाटीप्पणी गर्दै हिड्नु पक्कै पनि सान्दर्भिक हुँदैन ।

लगानीकर्ताको सम्पत्ती ५ खर्बले घटिसकेको छ । यसरी बजार पूँजीकरणमा अस्वभाविक गिरावट आउँदा पनि उनले पुरानो सोच त्याग्न सकेका छैनन् ।

उनका निकटतमहरु भन्ने गर्छन्, ‘उहाँ आजको दिनसम्म पनि पूँजी बजारमा अनावश्यक चलखेल हुन्छ भन्ने कुरामा अडिग हुनुहुन्छ ।’ अर्थात नेपालको पूँजी बजारको यो हविगत हुनुमा लगानीकर्ता मात्र दोषी छन् ।

अर्थमन्त्रीले आजसम्म बिश्लेषण गरेका छैनन् कि पूँजी बजारका निमायक निकायहरु कति नालायक छन् ? उनीहरुले पूँजी बजार बिस्तारमा बिगतको ५ बर्षमा के गरे ? के गर्छु भनेर बार्षिक प्रतिबेदनमा लेखे र किन गरेनन् ? उनीहरु जागिरे मात्र हुन कि व्यवसायिक पनि छन् ?

धितोपत्र बोर्डको कर्मचारीतन्त्र पूँजीबजारको बिस्तारमा कत्तिको मैत्रीपूर्ण छ ? कम्पनीकोे साधारण सेयर जारी गर्दा बजारमा सुनिएका चलखेलका हल्लाहरु के हुन् ? उनीहरुले लगानीकर्तासँग गर्ने व्यवहार कस्तो छ ?

यी बिषयमा अर्थमन्त्रीले जानकारी लिने कि नलिने ? कि उनीहरुकै ब्रिफिङ्गलाई ब्रम्हास्त्र मानेर पूँजी र मनोवल गिरेका लगानीकर्ताको भावनालाई चोट पुग्ने गरी बोलिरहने ?

यसैपनि पूँजीबजारप्रति नकारात्मक रहेका अर्थमन्त्रीलाई नियामक निकाय धितोपत्र बोर्ड र नेप्सेले गलत ब्रिफिङ्ग गरिरहेका छन् । खासमा पूँजीबजारलाई यो हविगतमा पु¥याउन सबैभन्दा बढि दोष धितोपत्र बोर्ड र नेप्सेकै छ ।

उदाहरणका लागिद ठूलो हौवा दिएर ल्याएको अनलाइन प्रणाली अहिले कुन अवस्थामा छ ? अनलाइन परिक्षण प्रयोग गर्ने बाहनामा गलत तथ्याङ्क राखेर पूँजीबजार जस्तो संवेदनशील बजारमा बिगत केहीदिनदेखि खेलवाड गरिरहँदा अर्थ मन्त्रालयले के कारबाही गर्न सक्यो ?

नेप्सेको स्क्रीनमा ४ को स्थानमा ४० र ४० को स्थानमा ४०० देँखिदा पनि लगानीकर्ताले प्राविधिक समस्या आएछ भनेर चित्त बुझाउनु पर्ने हो ? यो हेलचेक्रयाई हो कि होइन ? यसमा छानबिन हुनु पर्दैन ?

नीतिगत सुधारको कागजी घोषणा गरेर लगानीकर्ताको मनोबिज्ञानसँग खेलिरहने तर बर्षौसम्म सुधारका ती कार्यक्रम ल्याउन नसक्ने नियामक निकायका हाकिमहरु अनुसन्धानको घेरामा आउनु पर्छ कि पर्दैन ?

यस्तो भयावह अवस्था बजारका लगानीकर्ताले झेलरहँदा अर्थमन्त्री अनि धितोपत्र बोर्डका अध्यक्षले बजारका विषयमा किन अनावश्यक टीकाटीप्पणी गर्दै बस्ने ? मन्त्री अनि बोर्डका अध्यक्ष के भाषणबाजी अनि सस्तो लोकप्रियताका भोका छन् ? पदीय जिम्मेवारी अनुसार मन्त्रीले बजारको टीकाटीप्पणी गर्दै हिड्ने गरेको घटना सम्भवतः नेपालमा मात्र होला । नियामक निकायको त कुरै नगरौं ।

बोर्डका अध्यक्ष स्वयम् अब बजार यता जान्छ, उता जान्छ भनेर लेखहरु सार्वजनिक गर्दै घुम्ने कुसीमा कसेर रमाउने अवस्थालाई कसरी व्याख्या गर्न सकिन्छ ?

धितोपत्र बोर्ड यस कारण छ निकम्मा

शेयरको अधिक आपूर्तिले समस्या ल्याएको हो भने खपत गर्न आवश्यक संयन्त्रको विकास नगरी रमिता हेरेर बस्ने समस्याले ग्रसित छ धितोपत्र बोर्ड । बजारका विषयमा अनेक अनेक एजेण्डाको हल्ला सुरु गराउने तर कार्यान्वायन गर्ने समयमा हात्ती आयो हात्ती आयो फुस्सा भने जसरी बोर्ड फुस्सा हुँदै आएको छ ।

कतिपय विषयमा दुरदर्शी सोच र योजनाको अभावमा बोर्ड आफैंले गरेका निर्णयहरु उल्ट्याउँदै आएको छ । यसले उसलाई कामभन्दा बढी लोकप्रियताको अभाव खड्किएको महसुस हुन्छ ।

बैकहरुलाई ब्रोकर लाइसेन्स दिने सम्बन्धमा सहजीकरणको भूमिका बोर्डले निर्वाह गर्न सकिरहेको छैन । गैर आवासीय नेपालीलाई बजार प्रवेश गराउने सन्दर्भमा हल्ला सुरु गराएको बोर्ड अहिले निदाएजस्तै अवस्थामा छ ।

ब्रोकरहरुको शाखालाई मोफसलमा विस्तार गर्न अनुमति नदिने को हो ? अहिले समस्या दिनदिनै बढ्न थाले पछि प्रदेश संचरनामा ब्रोकर बिस्तार गर्ने एजेण्डा बोर्डले अघि सारेको छ । यो विषय पनि केही दिन पछि सबैले बिर्सन्छन् । अनि बोर्ड आफैंले पनि नबिर्सिएला भन्न कसरी सकिन्छ ? विगतमा पनि यस्ता घटना नभएको हुन्थ्यो भने सायद आशावादी हुन सकिन्थ्यो ।

अहिले अर्थमन्त्रीको दवाव आएपछि केही गर्न खोजेजस्तो देखिएपनि परिवर्तित सन्दर्भमा पूँजी बजारको बिकास र विस्तारमा धितोपत्र पत्र बोर्डले माखो मार्न सक्दैन । पूँजी बजार सुधारको कदम चाल्ने हो भने धितोपत्र बोर्डबाटै अभियान सुरु गर्नुपर्ने टड्कारो आवश्यक्तालाई कसैले नकार्न सक्दैन ।

यदि यो तथ्य सही हैन भन्ने लाग्छ भने जो कोहीले पनि बजार सम्बद्ध कुनै पनि निकाय, व्यक्ति, लगानीकर्ता लगायतसँग यस सम्बन्धमा बहस गर्न सक्छन् । सबैबाट आउने आवाजले प्रष्ट रुपमा भनिदिने छ कि बजारको समृद्धिको अभियान बोर्डबाट नै सुरु गर्नु पर्छ ।

हो, अहिले केही हदसम्म लगानीकर्ताको मनोबल बलियो बन्न सकिरहेको छैन । तर यसो भन्दैमा लगानीकर्तालाई मात्र दोष दिनुभन्दा नियामक निकायतिरै अर्थमन्त्रीले छानवीनको दायरा बढाउने हो भने त्यसको परिमाणले पूँजी बजारलाई पक्कै समृद्धिको बाटोमा अघि बढाउने छ भने लगानीकर्तालाई पनि राहत दिनेछ ।

जताबाट पनि आम्दानी मात्र जुटाउन खोज्ने तर सुधारको काममा कछुवा गतिमा हिड्ने बोर्डको शैलीले पूँजी बजारको विकासको कल्पना गर्न सकिन्न । अहिले बजारमा झण्डै ३ दर्जन मर्चेण्ट बैंकर, एउटा फ्रण्ट लाइन रेगुलेटर, ५ दर्जन हाराहारी शेयर दलाल, २ सय हाराहारी सूचीकृत कम्पनी, लाखौंको संख्यामा लगानीकर्ता सक्रिय छन् । उल्लेखित कुनै पनि एउटा निकाय तथा व्यक्तिबाट धितोपत्र बोर्डले कुनै न कुनै बहानामा शुल्क लिँदै आएको छ ।

तर जसले बोर्डलाई भारी मात्रामा शुल्क बुझाउँदै आएका छन्, उनीहरुको मुखमा साँचो लगाउन बोर्डले कुनै कसर बाँकी राखेको छैन । बोर्डका उच्च अधिकारी बजारको गतिका बारेमा भाषणबाजी गरेर हिड्दै गर्दा शेयर दलाल, मर्चेण्ट बैंकर लगायतलाई बोर्डले कुनै पनि किसिमको अभिव्यक्ति दिनबाट रोक लगाएको छ ।

यदि यसो नभएको हो भने अर्थमन्त्रीले कुनै सम्यन्त्रबाट बुझ्न सक्छन् । आधिकारिक रुपमा कुनै पनि विषयमा मर्चेण्ट बैंकर तथा शेयर दलालसँग धारणा माग गर्न लगाउने हो भने बोर्डले आफुहरुलाई अफ्टेरोमा पार्छ भन्दै कोही पनि आफुले जानेको विषय अरुसँग साट्न चाँहदैनन् ।

गल्ती जति आफु गर्दै हिड्ने अनि अर्काको मुखमा ताला साँचो लगाएर कार्वाहीको धम्की दिँदै हिड्ने बोर्डको चाललाई गणतन्त्रको गतिलो उपहार मान्ने गरिएको छ ।

यति मात्र हैन बोर्डले चालु आर्थिक वर्षमा काठमाण्डौं अनि बिराटनगरमा गरि २ वटा पूँजी बजार प्रदर्शनीको आयोजना गर्यो । तर दुवै प्रदर्शनीमा जबरजस्ती शेयर दलाल तथा मर्चेण्ट बैंकरहरुलाई सर्कुलर जारी गरेको शैलीमा अनिवार्य रुपमा सहभागि हुन बोर्डले बाध्य बनायो ।

सहभागि हुने विषय भन्दा ठुलो कुरा उसले हरेक सहभागिलाई अनिवार्य रुपमा निश्चित रकम बुझाएर बोर्डको आम्दानी वृद्धिमा सहयोग गर्न पनि भन्यो । नियामकको अगाडी बिचरा दलाल तथा मर्चेण्ट बैंकरहरु निरीह बनेर आत्मसमर्पण गर्न बाध्य भए ।

नेप्से पनि उस्तै ...

उता फ्रण्टलाइन रेगुलेटर पनि बजार बिस्तारको विषयमा सक्रय बन्न सकेको छैन । भित्री कारोबार, कम्पनीहरुको अनाधिकृत कृयाकलाप लगायत वियामा नेप्सेले एउटा पत्र बाटेर सोधपुछ मात्र गर्ने गरेको छ ।

जसका कारण पटक पटक बजारको सम्वेदनशील विषयका सूचना कम्पनीहरुबाट नै बाहिरिँदै आएको छ । यसले हाम्रो पूँजी बजार विश्वमा कतै नभएको बजारको रुपमा किवसित हुँदै आइरहेको छ ।

यदि बजार बिस्तारमा नेप्से सकरात्मक छ भने सूचीकृत कम्पनीहरुले बजारसँग सम्बन्धित लाभांस, हकप्रद लगायतका विषयमा निर्णय गर्दै गर्दा उक्त दिन नेप्सेमा कम्पनीको कारोबारमा रोक लगाउने व्यवस्था गर्नै पर्छ ।

लगानीकर्ताको संख्या बढिरहेको अवस्थामा सबै लगानीकर्ताले कुनै पनि कम्पनीको कारोबार केही समय वा एक दिनका लागि बन्द भएको अवस्थामा कम्पनीले गर्ने निर्णयमा रुची राख्छन् र सूचना सार्वजनिक भए पछि सबैले एकै पटक जानकारी पाउँछन् । यसले लगानीकर्तालाई स्वस्थ कृयाकलाप अनि कारोबारमा सहभागि हुने अवसर प्रदान गर्छ ।

उल्लेखित विषय एउटा उदाहरण मात्र हो । बजार सुधारका लागि नेप्सेले समयमा साधारण सभा नगर्नेकम्पर्नीे, सूचना सार्वजनिक गर्न ढिलाई गर्ने कम्पनी तथा व्यक्तिलाई कडा किसिमको कार्वाही गर्ने अनि भित्री कारोबार गर्नेहरुको पहिचान मात्र गरिदिने हो भने अहिले कोही पनि लगानीकर्ताको बिचमा खाडल देखिने छैन ।

अहिले वरिष्ठ, कनिष्ठ, मध्यस्थ जस्ता अनेक अनेक किसिमका उपमा दिँदै आम लगानीकर्तालाई भुंग्रोमा हाल्ने काम उल्लेखित विषयले बढाईरहेको छ ।

यति भन्दै गर्दा लगानीकर्ता पनि आफुमा संयमित हुनु पर्ने अवस्था छ । अर्काको पछि दौडिने, फलानोले भनेको कम्पनीको शेयर किन्छु भन्ने चलनलाई नछोड्ने हो भने वरिष्ठ लगानीकर्ताहरुले आफ्नो शेयर महंगोमा आम लगानीकर्तालाई बिक्री गरेर नाफा कमाउने खतरा उत्तिकै रहन्छ ।

तपाईलाई शेयर किन्न सल्ला दिनेले शेयर बेच्ने सल्लाह कहिल्यै पनि दिँदैन भन्ने कुरा ख्याल राख्नु पर्छ । अहिले यस्तै कारणले धेरै लगानीकर्ताहरु फसेका छन् । एक किसिमका लगानीकर्ता बजारबाट बाहिर बसेर मौका पर्खेर बसिरहेका छन्, भने फसेका लगानीकर्ता फेरी अर्को चक्रमा परेर आफ्नो लगानी डुबाउने अवस्था नआउला भन्न सक्ने अवस्था छैन ।

पूँजी बजारमा लगानी डुव्ने अवस्थाले नै अहिले समग्र बजार सुधार र बिस्तारको माग गर्दै लगानीकर्ता अनसनरत छन् । यो अवस्था नै बजारबाट गुमाउँदाको पीडाको अन्तिम शान्तिपूर्ण आक्रोश हो ।

सरकारले दीर्घकालीन दस्तावेज ल्याएर मात्र पूँजीबजार सम्वृद्ध हुँदैन । पूँजी बजारका सूचक रसातलमा पु¥याएर अर्थतन्त्रको अन्य सूचक सकारात्मक छन् भन्न सुहाउँदैन ।

पूँजी बजारमा करीव ५ खर्वको ह्रास आउनु भनेको अर्थतन्त्र गलत बाटोमा छ भन्ने हो । ढिलै भए पनि सरकारले समस्या समाधानका लागि एउटा कार्यदल तयार गरेको छ ।

कार्यदलले लगानीकर्ता तथा सम्बद्ध पक्षबाट सुझाव संकलन गरेर समाधानका विषयमा छलफल गरिरहेको छ । के कार्यदलमा धितोपत्र बोर्ड र नेप्सेका गतिविधि माथि पनि छलफल हुन्छ ? यो विषयलाई महत्वका साथ हेरिएको छ । किनकी अहिलेको अवस्थामा धितोपत्र बोर्ड र नेप्सेको संरचनामा व्यापक सुधार नगरी बजारको विकास र बिस्तार सम्भव छैन ।

व्यवसायिक भन्दा कर्मचारीतन्त्रको मानसिकताबाट गुज्रिरहेको बोर्डका सम्बन्धमा कार्यदलले के निष्कर्ष निकाल्छ ? लगानीकर्ता व्यग्रताका साथ पर्खिरहेका छन् ।

पूँजी बजार बिग्रनुमा लगानीकतालाई मात्र दोषी मानेर सरकारी धारणा बन्ने हो भने पूँजी बजारको मात्र हैन मुलुकको सम्बृद्धि यात्रा उल्टो यात्रा हुनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।