चिलिमे हाइड्रोपावर कम्पनी (CHCL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । चिलिमेले आर्कषक लाभांश घोषणा गरेसँगै शेयर लगानीकर्ताको आर्कषण देखिएको छ । जसले गर्दा कम्पनीको शेयरको माग बढ्दा भाउ समेत बढेको छ ।
बजार खुलेको पौने दुईघण्टाको अवधिमा चिलिमेको शेयर मूल्य साढे ६ प्रतिशत बढीले उकालो लागेको छ । यसबीचमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४० रुपैयाँले बढेर ६४८ रुपैयाँ पुगेको छ । नेप्सेको मार्केट डेप्थमा पनि चिलिमेको शेयर बिक्री गर्नेहरुको भन्दा खरिद गर्नेहरुको अधिक चाप देखिएको छ ।
यता गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको सिटिजन्स बैंक (CZBIL) को शेयरमूल्य पौनै दुर्इ घण्टाको कारोबार अवधिमा सबैभन्दा धेरै घटेको छ ।
बैंकले विगतका बर्षहरुमा भन्दा लाभांशदर घटाएपछि शेयर मूल्य ओरालो लागेको हो । यसअवधिमा सिटिजन्सको शेयरमूल्य झण्डै साढे पाँच प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता १२ रुपैयाँले घटेर २१२ रुपैयाँमा झरेको छ । शेयरमूल्य घटेपछि बैंककोे मूल्य घटाएर खरिद गर्न इच्छुक लगानीकर्ता मार्केट डेप्थमा अधिक देखिएका छन् ।