जवसम्म पूँजी बजारको बिकासका लागि बाधक नीतिगत उल्झन समाधान गर्ने सरकारी मनसाय स्वतस्फूर्त रुपमा आउँदैन तवसम्म दवावमा गठन भएका कार्यदलको प्रतिबेदन कर्मकाण्डी शिवाय केही हुँदैन ।
आमरण अनसनको बाटो रोजेका लगानीकर्ता भन्छन्, यो सरकार पूँजी बजार मैत्री छैन। कार्यदलको प्रतिबेदन रद्दीको टोकरीमा मिल्काइन्छ । अनि फेरि आन्दोलन गर्नुभन्दा अहिले नै पूँजीबजारमा बिगतदेखि गर्ने भनिएका सुधारका कार्यक्रम लागू होस भन्ने हाम्रो माग हो ।
अर्थमन्त्री पूँजीबजारका लागि जिम्मेवार बनेनन् भने निमायक निकाय निकम्मा बने । पूँजी बजारको स्थायित्व र बिकासभन्दा त्यहाँका कर्मचारी जागिरे मनोवृत्तिमा रहे । त्यसैले उनीहरुको राजीनामा नभई पूँजी बजारले गति लिँदैन भन्ने हाम्रो मान्यता हो । अनशन पक्षधर लगानीकर्ताहरुको भनाई हो ।
अर्काथरि लगानीकर्ता आमरण अनशनलाई सकारात्मक लिँदै भन्छन् उता कार्यदलले प्रतिबेदन लेख्दैछ । आमरण अनशनको दवाव कार्यदलमा प¥यो भने सो प्रतिबेदन लगानीकर्ताको हितमा आउँछ ।
आमरण अनशनमा बस्नेहरु भन्छन् लगानीकर्ताका बिभिन्न संगठनहरुले प्रभावकारी काम गर्न नसकेरै दबाब समूह खडा गर्नु परेको हो । उनीहरुका अनुसार दबाब समूह साना लगानीकर्तालाई संरक्षण गर्न तयार भएको हो । उनीहरु पुराना लगानीकर्ताका संघ संस्थालाई बिचौलियासम्म भन्ने गर्छन । दिनभर आन्दोलन गरे जस्तो गर्छन, बेलुका जस्का बिरुद्ध आन्दोलन गरेको हो, उनीहरुसँगै बसेर भेद खोल्छन् ।
पुराना लगानीकर्ताका संघ संस्था लगानीकर्ताहरु अनशन बस्नेहरुलाई लगानीकर्ता नै मान्दैनन् । उनीहरु सेलिब्रेटी हुने बहाना खोजेको आरोप लगाउँछन् । उनीहरुका अनुसार अराजक भएर माग पुरा हुंँदैन ।
एउटै माग, एउटै भावना र उस्तै संवेदना भएर पनि लगानीकर्ताहरु बिच मतऐक्य नहुनु शेयर बजारको दुर्भाग्य हो । कार्यदलको एउटा बैठकमा बोलाएर लज्जास्पद फर्काएको कारण आमरण अनसनको प्रस्थानबिन्दु भएको तथ्यलाई सरकारी कार्यदलले बिर्सनु हुँदैन भने सेलिब्रटी बन्न खोजेको आरोप लगाउने लगानीकर्ताहरुले पनि मान्छे किन आमरण अनसनमा बस्ने स्थितिमा पुग्यो भन्ने तथ्यलाई बिचार गर्नुपर्छ । आमरण अनसन बस्नु सामान्य कुरा होइन ।
अनशनकर्ताहरुले पनि आफना कुन स्तरसम्मको माग पूरा हुनसक्छ र कुन हदको समर्थन मिल्छ भन्ने आत्मसमीक्षा गर्न जरुरी छ ।
लगानीकर्ता मै बेमल भए लगानीकर्ताका कुनैमाग पूरा हुँदैनन्, यो सत्य हो । पहिले लगानीकर्ताहरुमा मेल हुन आवश्यक छ ।
ब्रोकरलाई कारोवार गर्न रोक्न दिएको दबाब अनशनरत लगानीकर्ताले फिर्ता लिएर बुद्धिमत्तापूर्ण काम गरेका छन् । बंैकलाई ब्रोकर लाइसेन्स दिने सरकारी तयारीपछि व्यवसायमाथि नै चिन्ता गरिरहेका ब्रोकरहरुले सरकार बिरुद्धको त्यो स्तरको आन्दोलनलाई सहयोग गर्न सक्दैनन् र जवर्जस्ती दवाव दिनु उचित पनि हुँदैन । उनीहरुको ध्यानाकर्षणलाई यही रुपमा हेर्दा हुन्छ ।
अहिलेको मुख्य समस्या भनेको कार्यदलको कामको ढिलाई हो । बैंकले जथाभावी बढाएको व्याजदरबारे एक्सनमा जान सरकारले कार्यदलको प्रतिबेदन कुरेको हो भने यस्तो ढिलाई किन भैरहेको छ ? १५ दिनदेखि बंैकहरुले बढाएको ब्याजदरको असर पूँजीबजारमा परिरहेको छ । ब्याजदरको समस्यामात्र समाधान भए शेयर बजारले गति लिने संभावना पनि छ ।
शुक्रवार प्रतिबेदन बुझाउने म्याण्डेट पाएको कार्यदलले आज मंगलवार भैसक्दा पनि प्रतिबेदन ल्याएको छैन । प्रतिबेदन आएपछि बहुसंख्यक लगानीकर्ताको धारणा परिर्वतन हुनसक्छ । कार्यदलले सबैमाग पूरा गरेर समय तोकेरै कार्यान्वयनको प्रतिबद्धता जनाउँछ भने आमरण अनसनको औचित्य नहुनसक्छ । होइन कायदलको प्रतिबेदन झारा टार्ने प्रकारले नै आयो, हात्ती आयो, हात्ती आयो फुस्साको अवस्था भयो भने दबाब समूहमात्र किन ? इन्भेष्टर्स फोरम र अन्य लगानीकर्ताका नेता पनि नेप्से परिसरमा दबाब समूहमा हरि ढकाल र तिलक कोइरालासँग अनशन बसे हुन्छ ।
काठमाण्डौको तापक्रम शून्य डिग्रीमा पुग्न खोजेको अवस्थामा पूँजी बजारको बिस्तार र बिकासकै लागि भनेर आमरण अनशन बसेका दबाब समूहका लगानकिर्ताको आमरण अनसनलाई सम्वन्धित सरोकारवाला र लगानीकर्ताहरु स्वयंले उपहास गर्न पनि मिल्दैन । किनभने सबै मानिस आमरण अनशन बस्न सक्दैनन् । निशस्त्र आन्दोलनको सबैभन्दा शक्तिशाली नैतिक अस्त्र मानिने आमरण अनसनबाट ठूला परिवर्तनहरु सम्भव भएका छन् । तर, आमरण अनसनलाई व्यापक समर्थन योग्य बनाएर लगेमा मात्र यी परिबर्तन सम्भव हुन्छ ।