यस आईपिओ आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाको गौरिशंकर, कालिञ्चोक, र विगु गाउँपालिकाका स्थानीयहरुले मात्र आवेदन गर्न पाउनेछन् ।
कम्पनीले आईपिओ निष्काशनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । स्थानीयहरुले हिमालयन बैंक गौरिशंकर शाखा, सिद्धार्थ बैंक, एनआईसी एशिया, महालक्ष्मी विकास बैंक, र सिन्धु विकास बैंकको चरिकोट शाखा कार्यालय तथा सिन्धु विकास बैंकको मुडे र सिंगटी शाखा कार्यालयबाट पनि आइपिओमा आवेदन गर्न सक्नेछन् । आईपिओमा आवेदन गर्ने अन्तिम दिन पुस २९ गतेसम्म रहेकाे छ ।
स्थानीयले यस आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन गर्न सक्नेछन् । कम्पनीले निष्काशन गर्ने साधारण शेयरलाई रेटिङ्ग कम्पनी इक्रा नेपालले 'इक्रा एनएपि आईपिओ ग्रेड ४' प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ ।
युनिभर्सल पावर कम्पनीले जारी पूँजीको ४६ प्रतिशत (९६ करोड ६१ लाख ६१ हजार रुपैयाँ बराबरको) साधारण शेयर जारी गर्नेछ। जसमध्ये पहिलो चरणमा १० प्रतिशत आयोजना प्रभावित स्थानीयबासिन्दालाई २१ लाख ३५० कित्ता र दोस्रो चरणमा संस्थाका कर्मचारी, म्युचुअल फण्ड र सर्वसाधारणलाई गरि ७५ लाख ६१ हजार २६० कित्ता आईपिओ निष्काशन गरिने कम्पनीले जनाएको छ ।
दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको युनिभर्सल पावर कम्पनीमा ८८ प्रतिशत सीईडीबी हाइड्रो फण्ड लिमिटेडको शेयर स्वामित्व छ । आयोजना बनाउन प्रतिमेगावाट १८ करोड ५५ लाख रुपैयाँका दरले २ अर्ब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
कम्पनीको २०७४ माघ ११ गते सम्पन्न विशेष साधारण सभा मार्फत साधारण शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । जस अनुसार स्थानीयका लागि गत जेठ १८ गते आइपिओ निष्काशनको अनुमति माग्दै कम्पनीले धितोपत्र बोर्डमा निवेदन पेश गरेकोमा बोर्डबाट मंसिर २७ गते गते अनुमति पाएको थियो ।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब १३ करोड ४१ लाख ८९ हजार रुपैयाँ र जारी पूँजी दुई अर्ब १० करोड तीन लाख ५० हजार रूपैयाँ छ ।