नेप्से घेराउ हुँदै रिले अनसनदेखि आमरण अनशनसम्मको भित्रि कथा : तिलक कोइराला

Dec 21, 2018 Tilak Koirala

अभियानको शुरुवात यसरी भएको थियो :
शेयर बजारमा सुधार र बिस्तारकारी कार्यहरु तत्काल गर्नुपर्ने आबश्यकता खट्किरहेको बेला २०७५ साल मंसिर ९ गते पुतलीसडकको शंकरदेव क्याम्पसमा साँझपख चार वटा लगानीकर्ता संघका नेताहरुसहित केही ब्यक्तिहरु भेला भएका रहेछन् । उनीहरुका बीचबाट कसैले मेरो कार्यालयमा फोन गरी चिया खान आउने निम्तो गरे ।

कार्यालयको केही काम सकेर शंकरदेवको क्यान्टिनमा पुग्दा तातो चियासँगै शेयर बजार सुधार र विस्तारको काम कसरी गर्न सकिन्छ भन्ने बारेमा तातै बहस शुरु भयो । 

बहस चल्दै गर्दा स्टक ब्रोकर एशोसियशनका अध्यक्ष भरत रानाभाट आईपुगे तर अर्को ठाउँमा जानुपर्ने कार्य ब्यवस्ता देखाउँदै उनी धेरै बेर बसेनन् ।

त्यसपछि नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको आगमनपछि बहसले नयाँ मोड लियो । उनले लगानीकर्ताका संघ संगठनहरु एकजुट नभई कुनै पनि काम अगाडि बढाउँन नसकिने भन्दै आफुले नेपाल ईन्भेष्टर्स फोरमको नेतृत्व छाड्न तयार भएको तर सबै संगठन मिलौ भने ।

नेपाल पूँजी बजार संघका अध्यक्ष नवराज सुबेदीले पहिले नै हात उठाए र म पनि मिल्न तयार छु, तर अध्यक्ष लिन तयार छैन भने । शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले आफुले त पत्रिकामा अन्तर्वार्ता नै दिएर एउटै संघ बनाउनुपर्छ भनेर भनिसककेकाले अम्बिकाप्रसाद पौडेलको प्रस्ताब सहर्ष स्वीकार गरी अध्यक्ष पद छाड्न तयार रहेको स्पष्टिकरण दिए ।

तर अर्को संघकी अध्यक्ष राधा पोखरेलले चाँही कहाँ हुन्छ ? हाम्रो संगठन त प्रदेश तहमा फैलिएको छ, ब्यापक रुपमा छलफल नगरी भन्न सकिन्न भन्दै पछि हटिन् । त्यसपछि त्यो कुरा त्यत्तिकै सेलायो ।

चिया गफमा पूँजी बजार सुधार र बिस्तारका कुरा चल्दै गर्दा मैले भनें कि पछाडि नफर्किने गरी सरकार र नियमनकारी निकायहरुलाई बाध्य पार्ने हो भने अघि बढौ, नत्र यस्ता चिया गफको अर्थ छैन । शेयर बजारमा डरलाग्दो गिरावट जारी रहेको बेला मेरो कुराले धेरैलाई जोस्याएको जस्तो देखियो । हो मा हो मिलाए तर के गर्ने, कसो गर्ने भन्ने ठोस योजना कसैसँग थिएन ।

मैले प्रस्ताब राख्दै भने, भोलि नेपाल स्टक एक्सचेन्जमा गएर पूँजी बजार सुधार र बिस्तारका लागि दबाब दिने कार्यक्रम तय गरौं, त्यसका लागि एउटा संयुक्त बक्तब्य जारी गरौं र धेरै लगानीकर्ताहरुलाई आब्हान गरौं ।

सबैले सहमति जनाएपछि संयुक्त बक्तब्य जारी गर्ने निर्णय भयो तर रातिको बेला कहाँ गएर कम्प्युटर टाईप गर्ने भन्ने प्रश्न उठ्यो । मेरो कार्यालय नजिकै भएकाले त्यही गएर बक्तब्य टाईप गरी सबै अध्यक्षले हस्ताक्षर गर्ने भन्ने कुरा भएर सबै उठ्यौं ।

क्याम्पस गेटबाट बाहिर निस्कदै गर्दा अम्बिकाप्रसाद पौडेलले मेरो बिशेष काम छ भन्दै केही बेरमा आउने बताएर हिडें ।
मेरो कार्यालयमा पुगेर बक्तब्य तयार गरिएपछि त्यसमा चार वटै संगठनका अध्यक्षहरुको हस्ताक्षर रहने गरी नाम राखियो । तीन जनाले तत्कालै सही गरे, सही गर्नु भन्दा अगाडि नै त्यहाँ भेला भएका कतिपय लगानीकर्ताले बक्तब्यलाई सामाजिक संजालमा भाईरल बनाईसकेका थिए ।

कतिपयले तीन जना अध्यक्षले हस्ताक्षर गरेको बक्तब्य सामाजिक संजालमा राखे भने कतिपयले हस्ताक्षर नभएको बक्तब्यलाई सामाजिक संजालमा राख्ने काम गरे । पटक पटक टेलिफोन सम्पर्क गर्दा पनि अम्बिकाप्रसाद पौडेल आएनन् ।

त्यो बक्तब्यमा पूँजी बजार सुधार र बिस्तारका लागि दबाब दियौैं, आफ्नो सम्पतिको सुरक्षा आफै गरौं भन्ने वाक्यले धेरैको ध्यान तानेको देखियो ।

नेप्से घेराउले यसरी अर्कै मोड लियो :

सामाजिक संजालमार्फत गरिएको आब्हान अनुसार भोलिपल्ट मंसिर १० गते बिहान ११ बजे नेप्सेको कार्यालयमा लगानीकर्ताहरुको उल्लेखनीय उपस्थिति देखियो । समग्र पूँजी बजारको सुधार र बिस्तारका लागि नेप्से घेराउ गरेर दबाब दिने योेजना भए पनि त्यहाँ भेला भएका धेरैले अनलाईन कारोबार प्रणालीमा भएको गडबडी र अन्योलबारे कुरा उठाए ।

बक्तब्यमा हस्ताक्षर गर्न छुटाए जस्तै घेराउमा आउन पनि अम्बिकाप्रसाद पौडेलले छुटाए । ईन्भेष्टर्स फोरमबाट उपाध्यक्ष छोटेलाल रौनियारले मोर्चा सम्हालेका थिए । खासगरी एक जना नयाँ युवा जसको कपाल लामो थियो, चर्को स्वरमा बोलिरहेका थिए । चार वटा संगठनले आब्हान गरेको नेप्से घेराउको नेतृत्व तिनै युवाले गरिरहेका थिए । तर उनी को थिए, कसैलाई थाहा थिएन ।

भीड निकै उत्तेजित थियो । अनलाईन कारोबार प्रणालीमा भएको कमजोरी र कार्यान्वायनमा भएको ढिलाईबारे धेरैको आक्रोश थियो । नेप्सेका प्रमुख कार्यकारीले भीडलाई सम्बोधन गरेर आफ्ना कुराहरु राख्ने प्रयास गर्दागर्दै होहल्ला भएपछि लगानीकर्ताहरुका नेताहरुलाई मात्र आफ्नो कुरा भन्ने भन्दै कार्यालयको मााथिल्लो तलामा बोलाए ।

त्यहाँ सानो समूहमा भन्ने कुरा भीडलाई मान्य नहुने भन्दै हुटिङ भएपछि फेरि तल झरेर हलमा सबै लगानीकर्ताका बीचमा बोल्ने प्रबन्ध मिलाईयो । तर भीडबाट चर्को आक्रोश पैदा भईरहेको थियो ।

नेप्सेको कार्यालय बाहिर चर्को स्वरमा बोलिरहेका युवा भित्र हलमा पुगेपछि पनि उत्तिकै चर्को आवाज गरिरहेका थिए । तर बिस्तारै उनको स्वर बस्दै गएको थियो । भीडलाई नेतृत्व गर्नसक्ने कोही नदेखिएपछि पछाडि बसिरहेको म आफै मन्चमा पुगेर भीडको भाषा बोल्न थालें ।

भीडले भनेको कुरालाई संग्रहित गरेर अनलाइन कारोबार प्रणालीमा डिम्याट र बैंक खाता आबद्ध गरी तत्काल लगानीकर्तालाई युजर आईडी र पासवर्ड दिनुपर्ने माग रहेको स्पष्ट पारियो ।

भीड यति अनियन्त्रित थियो कि पूँजी बजार संघका अध्यक्ष नवराज सुबेदीलाई नै माईक खोसेर पछि धकेली जोगाउनु परेको थियो भने शेयर बजारका प्राविधिक विश्लेषक बिष्णुप्रसाद बस्यालले त आक्रोशको सामना गरेर प्रहरीको सुरक्षा घेराबाट बाहिरिनु परेको थियो ।

भीडको बीचमा नेप्सेका प्रमुख कार्यकारी साउद र सफ्टवेयर निर्माता वाईकोका प्रमुख दिपेश प्रधान लगलग कामेर बोलिरहेका थिए । यसैबीचमा प्रहरीको सुरक्षा घेरा हालियो । लगानीकर्ताहरुको तीब्र दबाबका सामु नेप्सेका अधिकारीहरुले केही बेरको बैठकपछि मंसिर २३ गतेबाट युजरआईडी र पासवर्ड वितरण गर्ने उद्घोष गरे ।

त्यसपछि लगानीकर्ताहरुको आक्रोश केही शान्त भयो र सबै आफ्नो घर फर्किए । पूँजी बजार सुधार र बिस्तारका लागि दबाब सिर्जना गर्ने अभियान युजरआईडी र पासवर्डमा मात्र सिमित बन्यो ।

झ्यापुल्टे कपाल भएका चर्को बोल्ने ती युवाको खोजी :

त्यसपछि भोलिपल्ट नेप्से घेराउको तरंग छँदै थियो । भीडमा चर्को रुपमा बोल्ने र बोल्दा बोल्दै आवाज गायब हुने ती युवाको खास चर्चा थियो । अनलाईन पोर्टल र पत्रिकाहरुले ती युवाको फोटो राखेर खुबै चर्चा गरेका थिए । शेयर बजारको सुधार र बिस्तारका लागि नयाँ नेताको उदय भएको भन्दै सामाजिक संजालमा ती जगल्टे युवाको चर्चा गर्नेहरु थुप्रै थिए । तर नाम कसैले उल्लेख गरेका थिएनन् । कसैलाई उनको नाम थाहा नभएको हुँदो हो ।

पूँजी बजार सुधार र बिस्तारका कुराहरु अनलाईन प्रणालीको युजरआईडी र पासवर्डमा सिमित भएपछि मलाई पनि खिन्नता लागिरहेको थियो । पर्सिपल्ट केही लगानीकर्ताहरुलाई फोेन गरेर लामो कपाल भएका र चर्को बोल्ने युवाको नाम र फोन नम्बर सोध्ने प्रयास गरें । कसैलाई पनि थाहा नभएको जवाफ पाईएपछि के गर्ने भन्ने चिन्ता छाई नै रहेको थियो । 

यसैबीच पूँजी बजार संघका अध्यक्ष नवराज सुबेदीलाई फोन गरेर सोध्दा उनले पनि थाहा नभएको बताए । गोपाल स्वामी भन्ने ब्यक्तिले चिनेको हुनसक्ने भन्दै नवराजले उनको नम्बर दिए । स्वामीलाई फोन गरेपछि बल्ल ती लामो कपाल र चर्को स्वर भएका युवाको परिचय खुल्यो ।

स्वामीले ती युवा चितवन रत्ननगर स्थायी ठेगाना भएका र आफ्नै समूहका साथी रहेको बताए । उनको नाम हरि ढकाल भएको बताउँदै स्वामीले ढकालको सम्पर्क नम्बर दिई सबिस्तार बताए । हरि ढकाललाई फोन गरेर भोलिपल्ट भेट्ने निश्चित गरियो ।

शंकरदेव क्याम्पस क्षेत्रमा रहेको मेरो कार्यालयमा भेटौ भन्ने सल्लाह भए बमोजिम भोलिपल्ट आफ्ना केही साथीहरु सहित उनी मेरो कार्यालय नजिक आएर फोन गरे पछि कार्यालयमै बसेर बिस्तृत छलफल गरियो ।

त्यसको भोलिपल्ट कमलादीको सीडब्लु रेष्टुरेन्टमा सबै लगानीकर्ता संघका नेताहरुलाई आमन्त्रण गरेर छलफल गर्ने सोच बन्यो तर दुई वटा संघका बाहेक अरु आएनन् ।

पूँजी बजार सुधार र बिस्तारका लागि केही गरौं भन्ने भावना भएका ती युवामा अचम्मको जोश जाँगर देखियो ।
त्यसपछि मंसिर १४ गते नेपाल धितोपत्र बोर्डमा जाने र पूँजी बजार सुधार र बिस्तारका लागि दबाब दिने योजना बन्यो । यो अभियानमा लगानीकर्ताहरु दिपेन्द्र अग्रवाल, कुमार सिटौला, गणेश उप्रेति, गोपिकृष्ण थापा, नयन बास्तोलालगायत उत्तिकै उत्सुक थिए ।

सबैको सहमतिमा शेयर लगानीकर्ता दबाब समूहको फेसबुक आईडी बनाईयो र त्यही फेसबुक आईडी र फेसबुक समूहहरुबाट धितोपत्र बोर्ड जाने कार्यक्रमको प्रचार भयो । त्यहीँबाट बोर्डका कार्यकारी निर्देशक निरज गिरीलाई फोन गरी मंसिर १४ गते बिहान ११ बजे बोर्ड जाने गरी समय तालिका मिलाईएको थियो । तर मंसिर १० गते भएको नेप्सेको कार्यक्रमबाट त्रसित बनेका बोर्डका अधिकारीहरुले टार्ने प्रयास गरेका थिए ।

धितोपत्र बोर्डका अध्यक्ष लगानीकर्ताको आक्रोश थाम्न नसकेर हिडेपछि...

मंसिर १४ गते बिहान फेरि मेरो कार्यालयमा लगानीकर्ताका सबै साथीहरु भेला भएपछि मैले नै टाईप गरी १० बुँदे माग पत्र हतारमा तयार गरें । र केही प्रति छपाई गरी सबैका साथमा धितोपत्र बोर्ड गईयो ।

त्यहाँ पुगे पछि बोर्डका अधिकारीहरु सजिलै लगानीकर्तासँग भेट्न तयार भएनन् । झण्डै ४५ मिनेटको प्रयासपछि बल्ल बोर्डको कार्यालय भित्रको हलमा लगानीकर्ताका कुरा सुन्न बोर्डका अधिकारीहरु ओर्लिए ।

हरि ढकालले १० बुँदे मागसहितको ज्ञापन पत्र प्रस्तुत गरे । त्यसमा पूूँजी बजार सुधार र बिस्तारका रणनीतिक कामहरु तत्काल हुनुपर्ने माग थियो । नत्र आमरण अनशन बस्ने चेतावनी दिईएको थियो ।

लगानीकर्ताका आक्रोशपूर्ण भनाईहरु सुन्न नसकेर बोर्डका अध्यक्ष डा. रेबतबहादुर कार्की बीचमै उडेर हिंडेपछि हुटिङ भयो । पछि उनलाई सम्झाई बुझाई गरेर फेरि छलफलमा डाक्नु परेको थियो । बोर्डका अधिकारीहरुलाई कुनै बहानाबाजी नगरी पूँजी बजार सुधार र बिस्तारका कामहरु गर्न राम्रै दबाब सिर्जना भएको महसुस भयो ।

अर्थ समितिको पहलले बढायो गंभीरता :

धितोपत्र बोर्डबाट निस्कनासाथ हरि ढकालले सिंहदरबारस्थित अर्थ समितिको कार्यालयमा सभापति कृष्णप्रसाद दाहालले छलफलका लागि बोलाएको खबर सुनाए । त्यसपछि धेरै लगानीकर्ताहरुलाई बिदाई गरेर ११ जना लगानीकर्ताहरु सहित म पनि सिंहदरबार गए । सभापति दाहालको कार्यकक्षमा पुग्नासाथ उनले मलाई बिशेष रुपमा सम्बोधन गर्दै तपाइँ कहाँ हराउनु भएको, भेटघाट पनि छैन भन्दै आफु नजिककैको कुर्सीमा बस्न लगाए ।

पुरानो, राम्रो चिनजान भएकाले उनले विशेष महत्व दिएको अनुभुति भयो । त्यसपछि लगानीकर्ताका तर्फबाट मैले उनलाई पूँजी बजारका समस्या र सुधारका कामहरु हुन नसकेको बारेमा सविस्तार बताएँ । उनले आफुले पूँजी बजारका बारेमा राम्रो नबुझेको तर समस्या समाधानमा सहयोग गर्ने बचन दिए ।

त्यहीँबाट फोन गरेर धितोपत्र बोर्डका कार्यकारी निर्देशन निरज गिरीलाई भोलिपल्ट छलफलमा बोलाए । चाँडै नै अर्थ समितिको बैठक राखेर अर्थमन्त्री, धितोपत्र बोर्ड, नेप्से, राष्ट्र बैंकका अधिकारीलाई राखेर छलफल गर्ने बचन दिए । पर्सिपल्ट मंसिर २४ गतेका लागि अर्थमन्त्रीसहितको बैठक राखिएको खबर प्राप्त भयो ।

हरि ढकालको बास नै अर्थ मन्त्रालय हुन थाल्यो :

त्यसपछि हरि ढकालले दिनदिनै अर्थमन्त्रालय पुगेर स्वकीय सचिव तुलसी मैनाली र सल्लाहकार डा. रामशरण खरेलका साथै अरु कर्मचारीहरुलाई भेटेर पूँजी बजार सुधार र बिस्तारका लागि दबाब दिईरहका हुन्थे । उनको बास नैै अर्थ मन्त्रालयमा हुने गरेको थियो । अर्थमन्त्रीलाई भेटेर पनि सुझाव र दबाब दिने प्रयास उनले गरेका थिए तर मैनाली र खरेलको ढोका नाघेर अर्थमन्त्री खतिवडाको ढोकासम्म उनलाई पुग्न दिईएन ।

पटक पटक दबाब दिईएपछि खरेलले धितोपत्र बोर्डका अध्यक्ष डा. रेबतबहादुर कार्कीलाई फोन लगाए तर कार्की रुस भ्रमणमा भएकाले फोन रोमिङमा रहेछ । रोमिङ कलमै खरेलले दबाब समूहको मागबारे कार्कीसँग कुरा गरेका थिए ।

धितोपत्र बोर्डमा पेश गरिएको माग पत्र र दबाबले काम गर्न थाल्यो । उपत्यका बाहिर शेयर दलाललाई लाईसेन्स दिने, मार्केट डिलरकोे ब्यवस्था गर्ने जस्ता विषयमा धितोपत्र बोर्डले दिनदिनै बक्तब्य जारी गर्न थाल्यो । मंसिर १७ गते नै शेयर लगानीकर्ता दबाब समुहले रिले अनशन शुरु गर्ने निर्णय गरिसकेको थियो । यसले दबाब अरु बढायो ।

एकाएक अग्रसर बने अर्थमन्त्री :

यस्तैमा मंसिर २० गते अर्थमन्त्री खतिवडाले मुद्रा र पूँजी बजारबारे अध्ययन गर्न भन्दै समिति गठन गरे । समितिका बारेमा मंसिर २१ गते मात्र बिस्तृत कुरा बाहिर आएपछि दबाब समूहमा अध्ययन समितिमा प्रतिनिधित्व र त्यसको प्रतिबेदन कुर्ने कुरा आएको थियो । तर पूँजी बजार विरोधी अभिब्यक्तिका साथ त्यस्तै ब्यवहार प्रदर्शन गर्दै आएका खतिवडाले दबाबलाई टार्न समिति गठन गरेको हुनसक्ने आँकलन गरियो र २३ गतेदेखिको रिले अनशनलाई नरोक्ने निष्कर्ष निकालियो ।

मंसिर २२ गते रिले अनशनको ब्यानर तयार गरेपछि कहाँ अनशन बस्ने भन्ने ठाउँको यकिन भईसकेको थिएन । केहीले धितोपत्र बोर्डमा बस्ने भने तर केहीले सबै लगानीकर्तालाई आउँन सजिलो हुने भएकाले नेप्सेको कार्यालयमा बस्नुुपर्ने तर्क गरे । आम सहमति बनेपछि नेप्सेमा मंसिर २३ गतेदेखि रिले अनशन शुरु भयो ।

अध्ययन समितिमा सदस्य बनाईएका फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेललाई समिति त्यागेर अनशनमा आउँन आब्हान गरियो । तर उनले आफ्नो अफ्ठेरो दर्शाउँदै समितिमै बसेर भुमिका खेल्ने जनाए । उनले भने कि तपाइँहरु अनशन बसेर दबाब दिनुहोस्, म समितिमा बसेर पूँजी बजार सुधार र बिस्तारको भुमिका खेल्छु ।

यो एक प्रकारको सहमति जस्तै थियो । तर बीचमा उनले सहमति तोड्दै अनशन बसेर माग पुरा हुँदैन, अनशनको काम छैन भन्ने अभिब्यक्ति दिदै माडियाबाजी गरे । त्यसले लगानीकर्तालाई अरु उत्तेजित बनायो । उनले आफुलाई बिचौैलिया भनेकोमा असन्तुष्टि जनाएर त्यस्तो अभिब्यक्ति दिएको प्रष्टिकरण दिएका थिए ।

सहसचिवले जब डेपुटी गभर्नरलाई आदेश दिन थाले :

छैटौ दिनको अनशन चल्दै गर्दा र अर्थ मन्त्रालयले गठन गरेको अध्ययन समितिको म्याद सकिने दिन मंसिर २८ गते दबाब समूहलाई अर्थ मन्त्रालयले हठात वार्तामा बोलायो । मसहित पाँच जना प्रतिनिधि वार्ता गर्न सिंहदरबार पुगेपछि अर्थ मन्त्रालयको हलमा लामो बिबाद भयो । मन्त्रालय र लगानीकर्ताबीचको वार्ता हो कि अध्ययन समितिमा प्रतिनिधित्वका लागि बोलाईएको हो भन्ने बारेमा शुरु भएको बहस चर्को बादबिबादमा रुपान्तरण भयो ।

अध्ययन समितिका संयोजक एबं डेपुटी गभर्नर शिवराज श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले वार्ता नै भएको भन्दै हाम्रा मागहरु मध्ये १ र १२ नम्बर बुँदा बाहेक सबैमा सहमति भएको स्वीकार गरे र सोही बमोजिमको मस्यौदा गरी टाईप गर्न पठाईयो ।

त्यही बीचमा अर्थ मन्त्रालयका सहसचिव एवं अध्ययन समितिका सदस्य सचिव उत्तरकुमार खत्री वार्तास्थलमा आए र मस्यौदा मान्य नहुने भन्दै डेपुटी गभर्नरको मस्यौदालाई अमान्य घोषित गरे । त्यसपछि समितिकै संयोजकको निर्णयलाई अमान्य घोषित गर्ने तपाइँको हैसियत के हो भन्दै उनलाई र्याख र्याख्ती पारियो ।

उनले हाम्रो अस्तिस्व अस्विकार गरेको देखिएपछि वार्ता बहिष्कार गरी बाहिर निस्कने भनेर सबै उठेका थियौ तर उनी आँत्तिदै अध्ययन समितिमा तीन जना सदस्य पठाउनुहोस् भन्दै एकाएक नरम भए । त्यसपछि लिखित सहमति नगरी हामी तीन जना अध्ययन समितिमा जान तयार भयौं ।

अध्ययन समितिमा सदस्य पठाउने पत्र लेख्दा यति काईते भाषा प्रयोग गरिएको थियो कि तयार पारेर ल्याएको पत्रलाई तीन पटक रद्ध गरी समितिको सदस्यको रुपमा उपस्थित हुन भन्ने बाक्यांश स्पष्ट रुपमा टाईप गर्न लगाईयो ।

त्यसपछि हामीहरु अनशनस्थल आएर साथीहरुलाई सबै घटनाक्रम सुनाई म, उत्तम अर्याल र नयन बास्तोला राष्ट्र बैंकको कार्यालय बालुवाटारमा हुने अध्ययन समितिको बैठकमा भाग लिन गयौं ।

वार्तापछि अध्ययन समितिमा प्रतिनिधित्व सुनिश्चित भएकाले हामीले पुस १ गतेदेखि गर्ने भनेको आमरण अनशनलाई पुस २ गतेसम्म सारेका थियौं र भोलिपल्ट शनिबार भएकाले हामीले रिले अनशनको कार्यक्रम राखेका थिएनौं ।

त्यहाँ पहिले नै तयार गरिएको मस्यौदा हामीलाई देखाईयो र हाम्रा मागहरु सम्बोधन हुने गरी स्पष्ट कुराहरु समाबेश गराईयो । त्यसपछि भोलि छुटेका कुराहरु समाबेश गरी प्रतिबेदनलाई अन्तिम रुप दिएर सबैले सहीछाप गर्ने र आईतबार अर्थमन्त्रीलाई बुुझाएर सोही दिन प्रतिबेदनको महत्वपूर्ण कुराहरु कार्यान्वयन गर्ने सहमतिका साथ रातको नौ बजे हामी सबै उठेका थियौं । त्यो बैठकमा अर्थमन्त्रीका ज्वाई अर्थात राष्ट्र बैंकको निर्देशकबाट अर्थ मन्त्रालयका सल्लाहकार बनाईएका डा. रामशरण खरेल समेत थिए ।

सरकारी षडयन्त्र यसरी भयो उदांगो :

भोलिपल्ट शनिबार १२ बजे समितिको बैठक फेरि बस्ने र प्रतिबेदनलाई अन्तिम रुप दिएर सबैले हस्ताक्षर गर्ने भनिए अनुसार म र नयन बास्तोला ठीक समयमा राष्ट्र बैंक पुगेका थियौं । हामीलाई भित्र पस्न दिईएन । एकछिनपछि राष्ट्र बैंकको लोकल नम्बरबाट डेपुटी गभर्नर शिवराज श्रेष्ठले फोन गर्दै अध्ययन समितिमा हाम्रो सहभागिता आबश्यक नभएको निर्णय हठात सुनाए ।

उनले आबश्यक परे दुई, तीन दिनपछि खबर गर्ने र अरु कुरा अर्थ मन्त्रालयमा नै बुझ्न भने । लगानीकर्ताको आन्दोलनाथि गंभीर षडयन्त्र भएको ठहरसहित हामीले तत्काल आमरण अनशन र बजार बन्दको कार्यक्रम ल्याउने घोषणा गर्यौं र पुस १ गते रिले अनशन फेरि शुरु गर्यौं ।

आमरण अनशनको मिति तय हुँदा अनशन बस्नेहरुको टुंगो थिएन :

पुस २ गते आमरण अनशन शुरु गर्ने पूर्व निर्धारित कार्यक्रम सफल पार्न पुस १ गते नै बस्ने स्थान बनाउँन टेण्टको ब्यवस्था भयो । आमरण अनशन को बस्ने भन्ने कुरा यकिन थिएन । तर समय र स्थान तय भईसकेको थियो ।

लगानीकर्ता साथीहरु बीचमा छलफल हुँदा आमरण अनशन बस्ने हिम्मत देखाउनेहरुको खडेरी पर्यो । त्यसपछि मैले आमरण अनशन बस्छु भने । हरी ढकाल पनि अघि सरे । हामी दुई जना आमरण अनशनमा बस्ने निर्णयका साथ घर गयौं ।

सातौं दिनसम्मको रिले अनशन र दौडधुपबाट लखतरान भएर दबाबमुलक कार्यक्रमलाई निष्कर्षमा पुर्याउने अठोटसहित घर गए पनि मनमा अनेक तर्कनाहरु खेलिरहेका थिए । मोबाईल फोन चार्जमा राखेर सुतियो ।

भोलिपल्ट बिहानै अम्बिकाप्रसाद पौडेलले घरको ल्याण्डलाईनमा फोन गरेपछि सम्भावित लान्छना, आक्षेप अनि आरोप तथा प्रभावका साथै शेयर बजारका विषयमा निकै भावुक कुराकानी भयो ।

शेयर दलालको बार्गेनिङ र सरकारी षडयन्त्र यसरी असफल पारियो :

हामीले आमरण अनशन र बजार बन्दलाई एकैसाथ अगाडि बढाउने निर्णय गरेका थियौं । पुस २ गते आमरण अनशन शुरु भएपछि बजार बन्दको घोषणा असफल बनाउँन नेप्सेमा शेयर दलालहरुलाई डाकिएको थियो । त्यहाँ शेयर दलालहरुले बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स नदिने र शेयर दलाल नथप्ने हो भने मात्र लगानीकर्ताको बजार बन्द आन्दोलनलाई असफल पार्ने भन्दै बार्गेनिङ गरेका थिए ।

दलालहरुले सुरक्षा माग्दै नेप्से गुुहारे पछि नेप्सेले सम्पुर्ण सुरक्षा ब्यवस्था मिलाएको पत्र पठाएको थियो । फ्लोर सिट लुकाएर शेयर कारोबार गर्ने षडयन्त्र गरियो । तर पनि दिउँसो १२ बजेसम्म ५ करोड रुपैयाँको जम्माजम्मी कारोबार भएको थियो । दिउँसो १ बजेसम्म धेरै ब्रोकरहरुले कारोबार गरेका थिएनन् ।

त्यसपछि सरकारले अख्तियार गरेको दमनको नीति र ब्रोकरहरुको मोलमोलाईपूर्ण कृयाकलापले स्वतः स्फुर्त रुपमा बजार बन्दलाई बदनाम गराउने षडयन्त्र भयो । सरकारले लगानीकर्ता र ब्रोकरलाई भीडन्तमा उतारेर अप्रिय घटना गराउने चालबाजी खेलेको पुष्टि भएपछि भोलिपल्टको स्वतःस्फुर्त बजार बन्द कार्यक्रमलाई शुरुमै फिर्ता लिएर हामीले सरकारी षडयन्त्र असफल पार्यौं, नत्र ठूलो खालको अप्रिय घटना गराउन र हाम्रो शान्तिपूर्ण अनशनलाई बदनाम गर्न सरकार सफल हुन्थ्यो ।

अनशनलाई बदनाम गराउँन मिडियाबाजी :

आमरण अनशन शुरु भएपछि सामाजिक संजाल र मिडियामा अनेक खालका टिका टिप्पणी भए । सरकारी योजनामा लागेर कतिपय प्रतिष्ठित संचार माध्यमले समेत शेयरको मूल्य बढाउँन अनशन बसेको भनेर लेखे । कतिपयले नेता बन्नलाई अनशन भनेर हेडलाईन राखे ।

कतिपयले पत्रकार भएर पनि लगानीकर्ताको नाममा अनशन बस्ने भनेर प्रश्न उठाए । कतिपयले आमरण अनशन बसेका हामीलाई नेकाँ, राप्रपा र राजपाका कार्यकर्ता बनाए । यस्ता कुराले हामीलाई भोक र प्यास भन्दा पनि बढी पीडा दियो । सरकारले नियोजित रुपमा हामीलाई कमजोर र असफल पार्न अनेक हथकण्डा प्रयोग गरेको थियो ।

हाम्रो अनशनलाई नेपाली काँग्रेसको संस्थागत समर्थन प्राप्त भयो भने सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देव गुरुङले अनशनस्थलमै आएर मागप्रति ऐक्यबद्धता जनाउँदै जायज मागहरु पुरा गराउँन पार्टीमार्फत पहल गर्ने आश्वाशन दिए । राजपाका नेताहरु पनि अनशनस्थल आए भने राप्रपा नेपाल, राप्रपा राष्ट्रवादी र नेका वीपीको लिखित समर्थ प्राप्त भयो ।

सयौं लगानीकर्ता साथीहरुका साथै शेयर लगानीकर्ता संघ नेपालका पदाधिकारीहरुको सक्रियता ज्यादै प्रशंसनीय रह्यो । खासगरी शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, उपाध्यक्ष तारा फुलेल, महासचिव जगन्नाथ पुडासैैनी, शेयर लगानीकर्ता गोबिन्द पन्त, शुष्मा ढुंगाना, पबित्रा ज्ञवाली सिग्देलको भुमिका अहम रह्यो ।

अनशनको मैदानमा ८२ बर्षीय बुवादेखि कहिले शेयर बजारमा नदेखिएका लगानीकर्तासमेत एकाकार देखिए । त्यसै पूँजी बजार संघका साथीहरुको पनि भुमिका उत्तिकै महत्वपूर्ण रह्यो । पूँजी बजार लगानीकर्ता संघका केही साथीहरुको द्धिविधापूर्ण भुमिका भने अनशनस्थलमा चर्चामा थियो ।

आमरण अनशनको अनुभव :

आमरण अनशन शुरु गर्नु कठिन काम थियो । त्यसपछिका दिनहरु कष्टकर रहे । पुसको ठण्डीमा टुकुचाको दुर्गन्ध खपेर भोक प्यास मारेर बस्नु चानचुने कुरा थिएन । आमरण अनशनको पहिलो दिन जसोतसो बित्यो । किनभने बिहानै टन्न खाना खाएर बसिएको थियो । तिर्खा चाँही निकै लाग्यो ।

दोस्रो दिन भोक र तिर्खाको पीडाले छटपटी झन् बढ्यो भने हरि ढकालको घरमा आमा र श्रीमतिले समेत खाना खान छाड्नु भएको खबर आयो । हरिजीकी श्रीमति भोकै अनशस्थलमा आएर निराशा पोेखेकी थिईन ।

दोस्रो दिन राति अम्बिकाप्रसाद पौडेलको फोन आयो । उनले हामी आमरण अनशन बसेको कुराले राति सुत्न नसकेको पीडा सुनाए र आफु अनशनस्थलमा राति आउन चाहेको बताए ।

आमरण अनशन बसेको थाहा पाएपछि नेपालका विभिन्न भागदेखि अमेरिकासम्मका साथीहरुले फोन गरेर चिन्ता जाहेर गरे र अनशन तोड्न आग्रह गरे । हाम्रैै लगानीकर्ता साथीहरुले पनि अरुका लागि अनशन बसेर भोकै पर्नु भन्दा स्वास्थ्यमा ख्याल गर्न आग्रह गरिरहेका थिए ।

तेस्रो दिन खाली पेटको कारणले बोल्दा र हास्दा असह्यै हुने गरी पेट दुख्यो । सुगरको सामान्य औषधी सेवन गरिरहेको हुनाले शरीरमा सुगरको मात्रा कम हुँदै जाँदाको असर गहिरिदै थियो । रातभरि छटपटी हुन्थ्यो ।

मलाई भन्दा हरी ढकाललाई ज्यादै पीडा भएको थियो । हामीलाई कुर्न बसेका साथीहरुले पानीसम्म त खान हुन्छ भन्थे । तर हामीले खाएनौ । स्लाईन चढाउँन पर्ने अबस्था आईसकेको थियो । हामीले बोल्न कम गर्यौं र भोक, तिर्खा बिर्सेर टुकचाको दुर्गन्ध खाँदै चार दिन बितायौं ।

बर्खास्तीको यसरी हुन्छ औचित्य पुष्टि :

हामीले उठाएका अरु मागका साथै अर्थमन्त्री, गभर्नर, धितोपत्र बोर्डका अध्यक्ष, नेप्सेका अध्यक्ष र बीमा समितिका अध्यक्षको बर्खास्तीको सान्दर्भिकता पनि पुष्टि भएको छ । बढाईएको ५० प्रतिशत पूँजीगत लाभकर फिर्ता गर्नुपर्ने, शेयर धितो कर्जाको सीमा बढाएर ५० बाट ६५ पुर्याउनुपर्ने, एफपीओ र आईपीओको मूल्य निर्धारणमा भएको बदमासीलाई सुधार्नुपर्ने, नेप्सेमा हुनुपर्ने काम नभएको लगायतका कुराहरु आएका छन्, भने ती गल्ति गरिदाको जिम्मेवारी र जवाफदेहिता उनीहरुले लिएर नैतिकता देखाउनु पर्दैन ? उनीहरुले राम्रो काम नगर्दा पूँजी बजारले क्षति भोग्नु परेको कुरा अब पनि प्रमाणित भएन ?

उपलब्धिको हकदार को ?

झण्डै एक महिनादेखिको लगातारको प्रयास र रिले हुँदै आमरण अनशनसम्मले लगानीकर्ताहरुमा जागरण ल्याएको छ । दबाबको परिणाम केही परिवर्तनका संकेतहरु देखिएका छन् ।

हाम्रो आमरण अनशनले पूँजी बजारका लगानीकर्ताहरुले बर्षौदेखि उठाउँदै आएका अधिकांश मागहरुलाई उजागर गरेको छ । पूँजी बजार सुधार र विस्तारको कुरा सुन्नै नचाहने अर्थमन्त्री केही कुराहरु शीघ्र कार्यान्वयनमा लैजाने निर्णयमा बाध्यतापूर्वक पुगेका छन् ।

संचार माध्यममा आएका कुराहरु हेर्दा प्रतिबेदनमा अमृतसँग बिष घोलिएको छ । प्रतिबेदनहरु बन्छन् र कार्यान्वयन नभई रद्दीको टोकरीमा फालिन्छन् भन्ने उदाहरणहरु यसपटक नदोहोरिने हो भने पक्कै हामीले गरेको त्याग र समर्पणको अर्थ रहन्छ ।

नेपालको शेयर बजारलाई सुधार र बिस्तार गर्न आम लगानीकर्ताहरुको सहभागितामा आमरण अनशन समेत भएको थियो भन्ने पहिलो घटनाको रुपमा स्थापित गराईएको छ । प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि अझै एकताबद्ध भएर अगाडि बढौं । आगामी पुस्ताले फेरि यसैगरी आमरण अनशन बस्न नपरोस् ।

comments powered by Disqus

स्पर्श लघुवित्तको आईपिओ बाँडफाँड आइतबार, ९१% बढी आवेदकले नपाउने

Mar 22, 2019

स्पर्श लघुवित्त वित्तीय संस्था (SPARSHA) ले निष्काशन गरेको साधारण शेयर (आईपिओ) चैत १० गते आइतबार बाडँफाँड हुने भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलले आइतबार शेयर बाँडफाँड गर्ने जनाएको हाे।