दोस्रो बजारमा शेयरमूल्य घटिरहेको अवस्थामा धेरै कम्पनीले ठूलो परिमाणमा लिलामीको शेयर बिक्रीमा ल्याउँदा लिलामीकर्ताहरुले ससतो मूल्यमा सकार्ने अवसर अहिले बजारमा रहेको छ । पुसमा विभिन्न कम्पनीका एक करोड बढी कित्ता शेयर लिलामी हुँदैछ ।
लुम्बिनी विकास बैंकको ३ लाख ४४ हजार कित्ता संस्थापक लिलामीमा
लुम्बिनी विकास बैंक (LBBL) को लिलामी शेयर आज मंगलबार देखि बिक्री खुला भएको छ । बैंकले ३ लाख ४४ हजार ९४६.४४ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । पुस १० गते मंगलबार कम्पनीको शेयरमूल्य प्रतिकित्ता १७५ रुपैयाँ हाराहारीमा काराेबार भैरहेको छ ।
बैंकको लिलामी शेयरमा पुस १० गते देखि २५ गते सम्म आबेदन दिन सकिनेछ । यो लिलामी शेयरमा न्युनतम १०० रुपैयाँ तोकेर न्युनतम १०० कित्ताको लागि आबेदन दिनुपर्नेछ । अधिकतम आवेदनको संख्यामा कुनै हद तोकिकएको छैन् तर आवेदन गर्दा १० अंकको गुणाङ्गमा आउने गरी आवेदन दिनुपर्दछ ।
बैंकले यस अघि २० लाख ८ हजार ८७८.४७ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । त्यस सबै हकप्रद बिक्री नभएपछि बाँकी शेयर लिलामीमा ल्याइएको हो ।
इच्छुक लगानीकर्ताले कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्यायल भिबोर क्यापिटल, ट्रेड टावर थापाथलीमा बोलपत्र आवेदन बुझाउन सक्नेछन् ।
चुक्ता पुँजी २ अर्ब १७ करोड रुपैयाँ रहेको बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९३ पैसा, प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ४६ पैसा छ ।
जेबिल्स फाइनान्सको ९ लाख ९७ हजार कित्ता लिलामीमा
जेबिल्स फाइनान्स (JEFL) को पनि आजै मंगलबार देखि ९ लाख ९७ हजार ६२८ कित्ता शेयर लिलामी खुला गरेको छ । फाइनान्सको संस्थापक समूहको ६ लाख ६५ हजार ९५५.५० कित्ता र सर्वसाधारणको ३ लाख ३१ हजार ६७२.५० कित्ता गरी ९ लाख ९७ हजार ६२८ कित्ता शेयर लिलामी आएको हो ।पुस १० गते मंगलबार कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९७ रुपैयाँ हाराहारीमा काराेबार भैरहेको छ ।
लिलामी शेयरमा १७ गतेसम्म आवेदन खुल्ला हुने बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।फाइनान्सको शेयर खरीद गर्न इच्छुकले सनराइज क्यापिटल कमलपोखरी र सनराइज बैंकको शाखा कार्यालय विराटनगर, वीरगञ्ज, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीको शाखा कार्यालयबाट लिलामी शेयर खरिदको आवेदन बुझाउन सकिनेछ ।
फाइनन्सको संस्थापक न्यूनतम एक हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता शेयरको लागि आवेदन गर्नुपर्नेछ । शेयर खरिद गर्ने लगानीकर्ताले प्रतिशेयर एक सय रुपैयाँ भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्न सक्नेछन् ।
चुक्ता पुँजी ७३ करोड ८२ रुपैयाँ रहेको बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा प्रतिशेयर आम्दानी ६४ पैसा, प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ६४ पैसा छ ।
बुधबारदेखि बेष्ट फाइनान्सको पनि लिलामी खुल्ने
बेष्ट फाइनान्स कम्पनी (BFC) मा विलय भएको साविकको सिनर्जी फाइनान्सको ८ लाख ५ हजार ८४ कित्ता शेयर भोलि (पुस ११ गते बुधबार) देखि लिलामीमा आउने भएको छ । कम्पनीले हकप्रदमा नबिकेको उक्त परिमाणको शेयर लिलाम बढाबढमा बिक्री गर्ने भएको हो ।
फाइनान्सको ५ लाख ५७ हजार ७७४.५७ कित्ता संस्थापक शेयर र २ लाख ५ हजार ८४.४७ कित्ता सर्वसाधारण तर्फको शेयर लिलामीमा आउन लागेको हो । पुस १० गते मंगलबार कम्पनीको शेयरमूल्य प्रतिकित्ता १०० रुपैयाँ हाराहारीमा काराेबार भैरहेको छ ।
सिनर्जीले १ बराबर ०.२५ कित्ताको अनुपातमा अर्थात २५ प्रतिशत हकप्रद शेयर गत असार २५ गते देखि निष्काशन गरेको थियो ।
कूल ११ लाख ८६ हजार २२.४७ कित्ता हकप्रद निष्काशन गरेकोमा ३ लाख ८० हजार ९३८ कित्ताका मात्र बिक्री भएपछि बाँकी शेयर लिलामीमा ल्याउने भएको हो ।
इच्छुक लगानीकर्ताहरुले प्रभु क्यापिटल, कमलादी काठमाडौं, बेष्ट फाइनान्सका केन्द्रिय कार्यालय सहित बुटवल, नेपालगञ्ज, कपिलवस्तु, नवलपरासी, दाङ र पोखराका शाखा कार्यालयहरुवाट आवेदन फाराम लिई बुझाउन सकिन्छ ।
त्यस्तै प्रभु बैंकको आदर्शनगर वीरगञ्ज, जलजलाचोक विराटनगर, विरेन्द्रनगर सुर्खेत र गोदावरी रोड धनगढी शाखाबाट पनि आवेदन बुझाउन सकिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
८१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा प्रतिशेयर आम्दानी ५० पैसा छ ।