राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारीले यस कारण दिए राजीनामा, नेप्सेमा सूचना खै ?

Dec 28, 2018 Merolagani

राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीरबिक्रम रायमाझीले आफ्नो पदबाट राजीनामा दिएका छन्। रायमाझीको राजिनामा कम्पनी सञ्चालक समितिले स्वीकृत समेत गरेको छ। तर दोस्रो बजारमा शेयर कारोबार गराई रहेको कम्पनीले आम लगानीकर्ताको जानकारीका लागि उक्त विषयमा कुनै सूचना निकालेको छैन ।

रायमाझीले स्वास्थ्यको कारण देखाउँदै कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका हुन् । तर आन्तरिक विषय भने अर्कै रहेको बुझिएको छ ।

सुधारको बाटोमा लम्किदै गरेको बीमा कम्पनीभित्र विभिन्न किसिमका समस्या छन् । यस बीचमा प्रमुख कार्यकारी अधिकृत रायमाझीलाई सञ्चालक समितिले व्यवसायको एउटा लक्ष्य पुरा गराउन दवाब दिँदै आएको थियो । संस्थालाई राम्रो बनाउन भन्दै सञ्चालक समितिले दिएको लक्ष्य पूरा गर्न नसक्ने भएपछि रायमाझीले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा गरेका हुन् ।

सञ्चालक समितिले पनि आफ्नो लक्ष्य पूरा गराउन नसक्ने अवस्था बुझेपछि तत्काल रायमाझीको राजीनामा स्वीकृत गरेको स्रोतले मेरोलगानीलाई बतायो । स्रोतका अनुसार यहि पुस २० गतेबाट रायमाझी बीमा कम्पनीबाट बाहिरिने छन् ।

‘पुस २० गतेबाट लागू हुने गरि प्रमुख कार्यकारी अधिकृतको राजीनामा स्वीकृत भएको हो ।’ स्रोतले भन्यो ।

उता रायमाझीको राजीनामा स्वीकृत भैसकेको अवस्थामा कम्पनीले आम लगानीकर्तालाई सूचना प्रवाह गराएको छैन । कुनै पनि नियुक्ति तथा राजीनामा विषयमा सूचीकृत कम्पनीहरुले नेपाल स्टक एक्स्चेञ्जमार्फत सूचना सार्वजनिक गर्नुपर्ने हुन्छ ।

तर राष्ट्रिय बीमा कम्पनीले भने प्रमुख कार्यकारी अधिकृतको राजीनामा स्वीकृत भएर कार्यान्वायनको मिति तोकिँदा समेत सूचना सार्वजनिक गरेको छैन । यसले कम्पनी आफ्ना लगानीकर्ताप्रति जिम्मेवार हुन नसकेको देखिएको छ ।

समय समयमा लगानीकर्ताका बीचमा विवादमा आउँदै गरेको कम्पनीले बक्यौता वर्षहरुको लेखापरीक्षण पुरा गराउन सकिरहेको छैन। जसका कारण उसको पूँजी योजना समेत प्रष्ट हुन सकिरहेको छैन भने प्रस्तावित बोनस माथि बीमा समितिले हस्तक्षेप गर्दै आएको छ। यसले लगानीकर्तामा निराशा उत्पन्न गराउने देखिएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।