उक्त लेख सरसर्ती हेर्दा दुई जना ब्रोकर ब्यवसायीसँग सम्बन्धित र एक जना बैंकसँग सम्बन्धित ब्यक्तित्वहरुको भनाई पढ्न पाईन्छ। त्यहाँ लगानीकर्ताहरुको आवाज खोइ ? यसरी एक पक्षको मात्र आवाजलाई स्थान दिने तर अर्को पक्षको आवाजलाई स्थान नदिने गर्दा उक्त लेख एक पक्षीय अर्थात ब्रोकर केन्द्रीत देखिन्छ ।
उहाँहरु ब्यवसायी हो । उहाँहरुको ब्यवसायिक धर्म नै आफ्नो ब्यवसायको विकास एवं समृद्धि हो । बैंकलाई ब्रोकर लाइसेन्स दिँदा ब्रोकरहरुको ब्यापारमा कमि आउने भयो, ब्यवसायमा मन्दी आउने भयो, त्यसैको चिटचिटाहाट हो, उहाँहरुको अभिव्यक्ति ।
उहाँहरु साच्चिकै लगानीकर्तामैत्री हुनुहुन्थ्यो भने यतिबेला सम्म आफ्नो ब्यवसायिक सन्जाल देश भरि विस्तार गरिसकेको हुनुपर्थ्याे । किन लामो समय सम्म काठमाडौ रिङ्गरोड भित्र सीमित रहनु भयो ? शेयर बजारलाई बैंकिङ्ग च्यानल मार्फत देश ब्यापी बनाउँ भन्दा किन उहाँहरुको टाउको दुख्ने ?
देशमा प्रजातन्त्र प्राप्तिको आन्दोलनमा त फलानो चोर देश छोड धेरैले भने कै हुन् । त्यत्रो आन्दोलनमा त नाम नै किटान गरेर भन्दा अहिलेसम्म कसैले बिज्ञप्ति निकालेको छैन । अब बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्छ भन्दै सशक्त आवाज बुलन्द गर्ने एक लगानीकर्ता संघका पदाधिकारीले आन्दोलनको दौरानमा उच्चारण गरेको शब्दलाई लिएर विज्ञप्ति नै निकाल्नुले उहाँहरु अहिले कति सम्म हतास मनस्थितिमा हुनुहुन्छ भन्ने कुरा आफैँ प्रष्ट हुन्छ ।
बैंकहरु आफैँमा नियामक निकाय बाट कडा निगरानीमा सञ्चालन हुने संस्था हुन् । बैंकहरुका हरेक कुराहरु नियमित एवं पारदर्शी हुने गर्छन् । जसको कारण वित्तीय अनुशासन एवं सूचनाको गोप्यता कायम रहन्छ। बैंकहरु नियामक निकायको कडा निगरानीमा रहने हुदा इन्साइडर ट्रेडिङ्ग भन्ने कुरा नै आउँदैन । यो त केवल ब्रोकरले भन्ने कुरा मात्रै हो।
बैंकको सञ्जाल देशब्यापी भएकोले देशका दूरदराज बाट पनि मानिसहरुले सजिलै शेयर खरिद बिक्री गर्न सक्छन्। अत: सवाल कसको ब्यवसाय चम्किन्छ , कसको ब्यवसाय खुम्चिन्छ होईन । सवाल हो आम लगानीकर्ताहरुले कसरी सहज रूपमा शेयर खरिद बिक्री गर्न सक्छन् भन्ने हो ।
कतिपय ब्रोकर कम्पनीहरुले समयमा राफसाफ गर्न नसक्दा निलम्बनमा पर्ने गर्छन् । निलम्बनमा परेको समयमा उक्त ब्रोकर कम्पनीबाट लगानीकर्ताहरुले शेयर खरिद बिक्री गर्न पाउँदैनन् । समयमा राफसाफ गर्न नसक्ने ब्रोकरहरु, तर पीडा तनाव लगानीकर्ताहरुलाइ । खै यसको ब्यवस्थापन ?
ब्रोकरहरुले अहिले फोनबाट नै शेयर खरिद बिक्री गरिदिन्छन । जसबाट लगानीकर्ताहरुलाइ निकै सहज भएको छ । पूर्ण अनलाईन नहुँदा सम्म बैंकबाट यो सुबिधा प्राप्त होला वा नहोला ।
मेरो शेयर मार्फत आईपिओ विश्वको जुन सुकै कुना बाट पनि सजिलोसँग भर्न सकिन्छ। तर त्यही आईपिओ परेको १० कित्ता शेयर बेच्न ब्रोकरको सन्जाल देशब्यापी नभएको कारण उक्त शेयर बेचेर आउने रकम भन्दा धेरै खर्च गरेर ब्रोकरमा नै आउनुपर्छ भन्ने सोच ब्रोकरहरुले त्याग्नुपर्छ । आम सर्वसाधारणलाई परेको १० कित्ता शेयर सजिलोसँग कम खर्चमा बेच्न पाउनुपर्छ ।
शेयर बजार सीमित ब्रोकरको मुठ्ठी बाट मुक्त हुनुपर्छ । आम लगानीकर्ताहरुले सहज एवं सजिलोसँग शेयर खरिद बिक्री गर्न पाउनु पर्छ । देशका दूरदराजका जनतासम्म पहुँच अभिवृद्धि हुनुपर्छ । बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्छ ।
बैंकलाई ब्रोकर लाइसेन्स दिदैमा ब्रोकरहरु आत्तिनु नै पर्दैन । बैंकले भन्दा राम्रो सेवा सुविधा दिनुहोस् लगानीकर्ताहरु तपाईकोमा आईहाल्छन् ।
(खनाल शेयर बजारका लगानीकर्ता तथा जानकार व्यक्ति हुन् ।)