पुसमै पौने १५ करोडको आईपिओ ल्याउन लागेको यस्तो छ शिव श्री हाइड्रोपावर कम्पनी

Jan 04, 2019 Merolagani

घलेम्दी हाइड्रोपावरको पुस १९ गतेदेखि साढे १५ करोडको आईपिओ खुलेको छ भने अर्को एक शिव श्री हाइड्रोपावर कम्पनी (SSHL) ले पनि पुस महिनामा नै १४ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको साधारण शेयर बिक्रीमा ल्याउन बिहीबार प्रकाशित गरेको  छ ।

बिहीबार निष्काशन भएको घलेम्दीको आईपिओ आम सर्वसाधारणका लागि निष्काशन भएको हो भने पुस २७ गतेदेखि निष्काशन हुने शिव श्री हाइड्रोपावर आईपिओको भने सर्वसाधारणका लागि नभएर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन हुन लागेको हो ।

स्थानीयलाई पुस २७ देखि १४ करोड ७६ लाख कित्ता खुल्दै

सिन्धुपाल्चोक जिल्लामा २२.२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको शिव श्री हाइड्रोपावर कम्पनीले पहिलो चरणमा पुस २७ गतेदेखि एक सय रुपैयाँ अंकित दरमा १४ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको १४ लाख ७६ हजार ४०० कित्ता साधारण शेयर (आईपिओ) बिक्रीमा ल्याउने भएको हो ।

आयोजनाले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपिओ बिक्री गर्न गत पुस १० गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

हाल कम्पनीले पहिलो चरणमा जारी पूँजी एक अर्ब ४७ करोड ६४ लाख रुपैयाँको १० प्रतिशत अर्थात १४ लाख ७६ हजार ४०० कित्ता शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । 

स्थानीयका आईपिओ जारीपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब २५ करोड ४९ लाख ४०० रुपैयाँ पुग्नेछ ।

७ लाख ३८ हजार रुपैयाँसम्मको आईपिओ भर्न पाउने

सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीयले यस आईपिओमा आवेदन गर्न पाउनेछन् ।
जसमा सिन्धुपाल्चोकको भोटेकोशीगाउँपालिका (साविकको फुल्पिङकट्टी र मार्मिङ गाविस), बाह्रविसे नगरिपालिका (साविकको गाति, मानेश्वरी र राम्चे गाविस), त्रिपुरा गाउँपालिका (धस्कुन र टेकानपुर गाविस) र सुनाकोशी गाउँपालिका (साविकको पाङग्रेटार गाविस)का बासिन्दाले मात्र आवेदन गर्न पाउनेछन् ।

आईपिओमा न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँदेखि अधिकतम ७ हजार ३८० कित्ता अर्थात ७ लाख ३८ हजार रुपैयाँसम्मको आवेदन गर्न पाउने व्यवस्था गरिएको छ । ५० हजार भन्दा माथिको आवेदन दिनेले चेक मार्फत र दश लाख रुपैयाँमाथि आवेदन गर्ने आवेदनले खनिवार्य प्यान नम्बर उललेख गर्नुपर्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा यस अघि नै सिद्धार्थ क्यापिटललाई नियुक्त भैसकेको छ ।

यस्ता छन् आवेदन गर्ने स्थान

हाइड्रोपावर कम्पनी जारी गर्ने शेयरका लागि स्थानीयले शिव श्री हाइड्रोपावरको भोटेकोशी गाँउपाललिका कार्यालय तथा हिमालयन बैंक, एनआईसी एशिया बैंक, सिभिल बैंक, नेपाल बंगालदेश बैंक, र सिन्धु विकास बैंकको बाह्रबिसे शाखा कार्यालयबाट आईपिओमा आवेदन गर्न सक्नेछन् ।

त्यसैगरि सिन्धु विकास बैंकको खाडीचौर शाखामा पनि आईपिओ आवेदन गर्ने सुविधा दिइएको छ । आईपिओमा माघ ११ गतेसम्म आवेदन गर्न सकिनेछ ।

इक्रा एनपि आईपिओ ग्रेड ४

स्थानीयका लागि साधारण शेयर जारी गर्नका लागि सर्वाजनिक गरेको विवरण पत्र अनुसार हाइड्रोपावर कम्पनीले इक्रा नेपालबाट क्रेडिट रेटिङ्ग गराएको छ ।

रेटिङ्ग कम्पनी इक्राले पुस २८ गते गरेको यस हाइड्रोपावरको आईपिओलाई इक्रा एनपि आईपिओ ग्रेड ४ प्रमाणपत्र प्रदान गरेको छ । ग्रेड ४ औसत भन्दा तल आधार रहेको जनाउँछ ।

इक्राले क्रेडिट रेटिङ्ग गर्दा १ देखि ५ प्वाइन्ट ग्रेडिङ्ग प्रदान गर्दछ । जसमा १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले सबैभन्दा कमजोर आधार रहेको जनाउँछ । ग्रेड २,३,४ मा उल्लेख गरिने प्लस चिन्हले सो समूहमा तुलनात्मक सकारात्मक अवस्थालाई जनाउने गर्दछ ।

कस्तो छ आयोजना ?

विद्युत विकास विभागबाट २०६८ साल फागुन १२ गते २२.२ मेगावाट क्षमताको माथिल्लो चाकु ए जलविद्युत आयोजना निमार्ण गर्न अनुमति पाएको शिव श्री हाइड्रोपावर कम्पनीले आयोजनाको ९६ प्रतिशत निमार्ण कार्य सम्पनन गरिसकेको छ ।

पुस मसान्तभि विद्युत उत्पादन गरि चैतबाट आम्दानी गर्ने लक्ष्य राखेको आयोजना भूकम्प र जुरेमा गएको पहिरोको कारण निर्माण कार्य लम्बिने भएको छ ।

जसले कम्पनीको अनुमानित लागत विलम्ब ३ अर्ब ६६ करोड ४७ लाख ८४ हजार ९८० रुपैयाँ अनुमान गरिएकोमा समयाअवधि लम्बिँदा ४ अर्ब ३ करोड रुपैयाँ पुगेको प्रक्षेपण छ । जसले प्रतिमेगावाट १६ करोड ५० लाख ८० हजारमा आयोजना निमार्ण गर्नसकिने अनुमान गरिपनि समय लम्बिदाँ बढेर १८ करोड १५ लाख पुग्ने अनुमान गरिएको छ ।

आयोजनामा गरिएको साधारण लगानी फिर्ता हुन करिब ८ (७.८५) बर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुन लाग्ने अवधि १६ बर्ष (१६.०२) रहेको छ ।

६७ जना संस्थापक शेयरधनी रहेका यस कम्पनी कम्पनी रजिष्ट्रारको कार्यालयमा २०६२ साल चैत १८ गते प्राइभेट कम्पनीको रुपमा दर्ता भएको शिव श्री हाइड्रोपावर कम्पनी २०७३ मंसिर २९ गते पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो ।

आयोजनाबाट उत्पादित विद्युत स्वीचयार्डदेखि प्राङग्रेटार गाविससम्म कम्पनी आफैँले २२ किलोमिटर १३२ केभि प्रसारण लाईनको निमार्ण गरि नेपाल विद्युत प्राधिकरणको लामोसाघुँ सवस्टेशनमा जोडिनेछ । आयोजनाको विद्युत उत्पादन अनुमति पत्र २१०३ साल फागुन ११ गतेसम्म बाहाल रहनेछ ।

नेपाल विद्युत प्राधिकरणसँग आयोजनाबाट उत्पादित विद्युत खरिद बिक्री सम्झौता २०६७ भदौ २२ गते भैसकेको छ । सो सम्झौता ब्यापारिक विद्युत उत्पादन मितिले ३० वर्ष वा विद्युत उत्पादन अनुमतिपत्रको अवधि जुन घटी छ त्यहि अवधिसम्म कायम रहनेछ । जसमा वर्ष याममा ४ रुपैयाँ र हिउँद याममा ७ रुपैयाँकादरले प्रतिकिलोवाट घण्टामा सम्झौता भएको हो । ब्यापारिक उत्पादन मितिलाई आधार मानि प्रत्येक आर्थिक वर्षका लागि ३ प्रतिशतका दरले मूल्यवृद्धि गर्ने सहमति छ ।

यस्तो छ कम्पनीले गर्ने कमाई

चालू आर्थिक वर्षको अन्तसम्म कम्पनी ८ लाख ४ हजार नोक्सानीमा रहने भएकाले नेटवर्थ ९५ रुपैयाँ ९५ पैसा रहने र प्रतिशेयर आम्दानी ४ रुपैयाँ दुई पैसा नोक्सानी ब्यहोर्नुपर्ने विवरणपत्रमा उललेख छ ।
त्यस्तै आर्थिक वर्ष ७६/७७ मा कम्पनीको नेटवर्थ १०० रुपैयाँ ५ पैसा रहने र प्रतिशेयर आम्दानी ० रुपैयाँ ५ पैसा कायम हुने कम्पनीले जनाएको छ । आर्थिक वर्ष ७७/७८ मा कम्पनीले २२ करोड ६० लाख ५१ हजार खुद नाफा कमाएर नेटवर्थ १०६ रुपैयाँ ३५ पैसा रहने र प्रतिशेयर आम्दानी ६ रुपैयाँ ३५ पैसा आम्दानी हुने कम्पनीको प्रक्षेपण रहेको छ ।

को- को छन् आधारभुत शेयरधनी र सञ्चालक ?
हाइड्रोपावर कम्पनीमा प्राइम कमर्सियल बैंकको सञ्चालकदेखि काठमाडौं र सिन्धुपाल्चोकका ब्यापारिक घराना र गुल्मीदेखि ओखलढुङ्गाासम्मका आधारभुत शेयरधनी रहेका छन् ।

सबैभन्दा धेरै शेयर स्वामित्व प्रबन्ध निर्देशक विष्णु बहादुर खत्रीको ६ लाख ६८ हजार ७४१ कित्ता शेयर रहेको छ । उनीससँग विवेक इन्टप्राइजेज प्रालीको कार्यअनुभव रहेको छ ।त्यस्तै हिमालयन सीमापारमा कोषध्यक्ष तथा दुर्गा एण्ड समर्राट टेडिङ्ग हाउसमा सञ्चालक रहेका हाइड्रोका अध्यक्ष बच्चु पौडेलसँग ६ लाख ४३ हजार ७४२ कित्ता शेयर स्वामित्व छ ।

 

एमआइए इनभेष्टमेन्ट प्रालिको ६ लाख, उमेश कसजुको ५ लाख ४७ हजार ७४२ र प्राइम कमर्सियल बैंकका सञ्चालक समेत रहेको काठमाडौं सिनामंगल निवासी श्याम बहादुर श्रेष्ठको ५ लाख ८९ हजार ३५५ कित्ता शेयर स्वामित्व रहेको छ । खत्री, पौडेल र कसजु तीन जना नै सिन्धुपाल्चोक निवासी हुन् ।
यस्तै दुई लाख कित्ताभन्दा शेयर रहेका संस्थापक शेयरधनीहरुमा पम्फा गैह्रे गुल्मी, गणेश प्रसाद कट्टेल ओखलढुङ्गा, सिन्धु हाइड्रोपावर काठमाण्डौं, ग्राण्डी होल्डिङ्ग प्रालि त्रिपुरेश्वर, वैदिक हाइड्रो इन्भेष्टमेन्ट प्रालि दरबारमार्ग काठमाडौं, यति टेड्र एण्ड इन्भेष्टमेन्ट प्रालि गंगबु लगायतका रहेका छन् ।
हाइड्रोमा बच्चु पौडेल अध्यक्ष, विष्णु बहादुर खत्री, प्रबन्ध निर्देशक र श्याम बहादुर श्रेष्ठ, मञ्जु कुमारी श्रेष्ठ हेटौंडा, राजेन्द्र कुमार श्रेष्ठ र कमल कुमार श्रेष्ठ सिन्धुपाल्चोक सञ्चालक रहेका छन् ।

२२ करोड १४ लाखको आईपिओ सर्वसाधारणका निष्काशन हुने

कम्पनीले पब्लिकमा जारी गर्ने जारी पूँजीको २५ प्रतिशत अर्थात ३६ लाख ९१ हजार कित्तामध्ये पहिलो चरणमा स्थानीयका लागि १४ लाख ७६ हजार ४०० कित्ता आयोजना प्रभावितलाई बाँडफाँड गरेपछि दोस्रो चरणमा २२ लाख १४ हजार ६०० कित्ता शेयर सर्वसाधारण र कर्मचारीका लागि निष्काशन गर्ने जनाएको छ ।

दुई अर्ब २५ करोड रुपैयाँ अधिकृत पूँजी रहेको यस कम्पनीको जारी पूँजी एक अर्ब ४७ करोड ७४ लाख रुपैयाँ रहेको छ । हाल कम्पनीमा संस्थापकको तर्फबाट ७५ प्रतिशत बराबरको एक अर्ब १० करोड ७३ लाख रुपैयाँ पूँजी चुक्ता भैसकेको छ भने २५ प्रतिशत साधारण शेयर जारी गर्नेछ ।

साधारण शेयर बिक्रीबाट प्राप्त आम्दानी कम्पनीले सिन्धुपाल्चोकमा निमाणाधिन २२.२ मेगावाट क्षमताको चाकु खोला ए जलविद्युत आयोजनाको निमार्ण सम्पन्न हुन बाँकी संरचना निमार्ण र बैंकबाट लिइएको कर्जा भुक्तानीमा उपयोग गरिने कम्पनीले जनाएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।