बैंकले सर्वसाधारणमा निष्काशन गरेको ४ लाख ५० हजार कित्ता ऋणपत्रमा पुस २२ गते आइतबारसम्ममा ९३२ वटा आवेदनबाट ५० हजार ५६५ कित्ताका लागि मात्र आवेदन परेको छ । यो ११.२४ प्रतिशत मात्र हो ।
बैंकको अझै ८८.७६ प्रतिशत (३ लाख ९९ हजार ४३५ कित्ता) ऋणपत्र बिक्री हुन बाँकी छ। ऋणपत्रमा आवेदन दिने पुस २३ गते (आजै) अन्तिम दिन रहेकाले सो ऋणपत्र सबै बिक्री हुने छाटकाँट देखिँदैन ।
ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्प्रर्ण सि आश्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत उक्त ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले ऋणपत्रमा न्यूनतम २५ कित्ताको २५ हजारदेखि अधिकतम एक लाख कित्ताको १० करोड रुपैयाँसम्मको आवेदन दिन सक्नेछन् । इक्रा नेपालले सिद्धार्थको यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने रेटिङ दिएको छ ।
बैंकले प्रतिकित्ता एक हजार मूल्यमा ७ वर्षे अवधिको “१०.५% एसबिएल डिवेन्चर २०८२” निष्काशन गरेको हो ।
सिद्धार्थ बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यमा २२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गरेको हो । निष्काशित ऋणपत्रमध्ये २० प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता सर्वसाधारणका लागि र ८० प्रतिशत अर्थात १८ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री हुनेछ ।
विगतमा वाणिज्य बैंकहरुले बिक्रीमा ल्याउने ऋणपत्रहरु सजिलै बिक्री हुने गरेपनि लगानीयोग्य रकम अभावका कारण बैंकहरुले मुद्धती खातामा उच्च ब्याज दिँदा ऋणपत्र बिक्री सुस्त बन्दै आएको हो । बैंकहरुबीच अहिले फेरि ब्याजदरमा भद्र सहमति भएपनि सिद्धार्थको ऋणपत्रमा अन्तिम दिनअघिसम्म परेको आवेदनले ऋणपत्र बिक्री गर्न बैंकहरुलाई मुस्किल पर्ने देखिएको हो ।
यसअघि सानिमा बैंकले सर्वसाधारणमा निष्काशन गरेको ३ लाख ८० हजार कित्ता ऋणपत्र पनि एक लाख कित्ता बढी अवितरित भएको छ ।