बजार बढेको बेला अल्पकालिन नाफा सुरक्षित गरेका लगानीकर्ता विस्तारै बजारमा फिर्कन थालेको छन् । जसले गर्दा कारोबार पनि क्रमश सुधारन्मुखक देखिएको छ ।
सोमबार नेप्से सूचकमा ६.६७ अंकको सुधार आएको छ । आइतबारको तुलनामा कारोबार रकम भने घटेको छ । आइतबार ३१ करोड रुपैयाँ बराबरको करोबार भएको बजारमा सोमबार भने ३० करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
सोमबार नेप्से ६.६७ अंकले बढेर ११७७.४६ बिन्दुमा पुगेको छ । १४८ कम्पनीका ९ लाख १४ हजार २३९ कित्ता शेयर किनबेच भएर ३० करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भयो । यस दिन ‘क’ वर्गका कम्पनीको सूचक मापन गर्ने सन्सेटिभ इन्डेक्स १.३७ अंकले सुधार भएर २४९.९३ बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका १० उपसूचक मध्ये उत्पादन तथा प्रशोधन र अन्य समुह बाहेक सबै सूचक सकारात्मक बनेका छन् । सबै भन्दा धेरै जीवन बीमा समुहको सुचक ९२.६९ अंकले बढेको छ ।
यस्तै निर्जीवन बीमा ८२.८८, होटल्स १७.६५, माइक्रोफाइनान्स ११.५३, विकास बैंक ७.६४, हाइड्रोपावर ५.३७, बाणिज्य बैंक ४.६४ र फाइनान्स १.२ अंकले सकारात्मक भए ।
यस्तै सबै भन्दा धेरै उत्पादन तथा प्रशोधन समुहको सुचक १२.७६ अंकले ऋणात्मक भयो । अन्य समुहको पनि ०.०४ अंकले ओरालो लागेको छ ।
सोमबार नेपाल बैंकको सबै भन्दा धरै रकमको शेयर कारोबार भएको छ । बैंकको ८ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै एनसीसी बैंकको १ करोड ६१ लाख रुपैयाँ, नागरिक लगानीकोषको १ करोड ५० लाख, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ५० लाख रुपैयाँ र प्रभु बैंकको १ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएका छन् । अन्य कुनै पनि कम्पनीको कारोबार रकम भने करोड नाघ्न सकेन ।
यस दिन सबै भन्दा धेरै हाथवे फाइनान्सको शेयर मूल्य ६.६७ प्रतिशतले बढेको छ । यस्तै सिनर्जी पावरका शेयरधनीहरुले ६.५२ प्रतिशतले कमाएका छन् । सिभिल लघुवित्त, सप्तकोशी विकास बैंक, गोर्खाज फाइनान्सको शेयर मूल्य ४ प्रतिशत भन्दा बढीले बढेका छन् ।
यसैगरी समिट माइक्रोफाइनान्स, पुर्निमा विकास बैंक, सुर्या लाइफ इन्स्योरेन्स, कन्काई विकास बैंक, अपि पावरका शेयरधनीहरुले ३ प्रतिशत भन्दा बढीले कमाएका छन् ।
यता किसान माइक्रोफाइनान्सको शेयर मूल्य सबै भन्दा धेरै ३.७१ प्रतिशतले घटेको छ । यस्तै मेरो माइक्रोफाइनान्सको शेयरधनीहरुले ३.३६ प्रतिशतले गुमाएका छन् ।
हिमालयन बैंक, जनउत्थान सामुदायिक लघुवित्त, सिन्धु विकास बैंक, पोखरा फाइनान्सको शेयर मूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै हिमालयन डिस्टीलरी, बरुण हाइड्रोपावर, नयाँ नेपाल लघुवित्त, सिर्जना फाइनान्सका शेयरधनीहरुले १ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।