उन्नति माइक्रोफाइनान्सले चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँको २० प्रतिशत अथाृत ५ः१ अनुपातमा एक सय रुपैयाँ अंकित दरको १ लाख १० हजार कित्ता हकप्रद शेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
हकप्रद शेयरको बिक्री प्रबन्धकको सिद्धार्थ क्यापिटल रहेको छ ।
रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको लघुवित्त कम्पनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँको ४०.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
प्रस्तावित बोनस र हकप्रद शेयर बिक्रीपछि उन्नतिको चुक्ता पूँजी ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । चालु आवको पहिलो त्रैमासमा लघुवित्तले ८४ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ६१ रुपैयाँ ४६ पैसा कायम गरेको छ ।
उन्नतिले लुम्बिनी अञ्चलका पाँच जिल्ला रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीसहित प्युठान, मनाङ, मुस्ताङ, पर्वत लगायत १० जिल्लामा वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
पुस २५ गते बुधबार लघुवित्तकाे शेयर प्रतिकित्ता १८२४ रूपैयाँमा काराेबार भएकाे छ ।