इनरुवा नगरपालिका स्थित विभिन्न सडक, सौर्यबत्ती, नबनिर्मित बसपार्क निर्माण सम्पन्न गरी प्रतिवेदन सहित सघीय आयोजना कार्यान्वयन इकाइ मोरङले इनरुवा नगरपालिकालाई हस्तान्तरण गरेको इकाइ आयोजनाका प्रमुख उज्जवल प्रसाइले जानकारी दिए ।
हस्तान्तरण कार्यक्रममा कालिका कन्ट्रक्सनले तोकिएको समयअगावै संरचना बनाएको भन्दै सम्मान समेत गरिएको थियो । अहिले समयमा काम नसक्ने प्रचलन बढिरहेका बेला कालिकाले समय अगावै निर्माण सम्पन्न गरेर सरकारलाई बुझाए पछि सरकारले सम्मान गरेको हो ।
केही दिन अघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले समय अगावै काम सक्ने निर्माण व्यवासयीलाई सरकारले सम्मान गर्ने बताएका थिए । सोही अनुसार सरकारले कालिकालाई सम्मान गरेको हो ।
कालिकाले बसपार्कको दुइ तले टर्मिनल भवन, २३० ओटा सडक सौर्यवत्ती, जेनेरेटर परिसरमा निर्मित संरचना बनाएर नगरपालिकालाई हस्तान्तरण गरिएको प्रसाइले बताए । बसपार्कसहित १ अर्ब २ करोड २५ लाख ३४ हजारको लागतमा उक्त संरचना बनाइएको हो ।
यात्रु प्रतिक्षालय, होटल, खानेपानीको व्यवस्था, सीसी क्यामेरा जडान लगायतका अन्य संरचना समेत बनेका छन् ।
इनरुवा बसपार्क र सडक लगायत कालिका कन्ट्रक्सनले बनाएका संरचनाको गत बुधबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका थिए । त्यस्तै, शहरी बिकास मन्त्री मोहम्मद इश्तियाक राई लगायत जनप्रतिनिधिको उपस्थितिमा बसपार्कको उद्घाटन गरिएको थियो ।
बसपार्क समयानुकुल र प्रविधिमैत्री रुपमा निर्माण भएको निर्माण कम्पनी पक्षको भनाइ छ । नवनिर्मित उक्त बसपार्क अपाङगमैत्री रहेको छ ।
नयाँ वस्ती बसाउनका निमित्त पनि व्यवस्थित बसपार्क सञ्चालनमा आउनुपर्ने आवश्यकता रहेको इनरुवा नगरपालिकाका प्रमुख स्थानीयले जनाएको छन् । शहरी बिकास मन्त्री राईले इनरुवा नगरपालिकामा सम्पन्न पूर्वाधार निर्माण कार्य मुलुककै नमूना र छिटो सम्पन्न भएको योजनामा परेको भन्दै नगरका अन्य भौतिक पूर्वाधार र संरचना निर्माणमा सहयोगको प्रतिवद्धता जनाएका छन् ।