वैवाहिक जीवनमा बाँधिएको २५ बर्षपछि बेजोस दम्पत्तीले सम्बन्ध विच्छेद गर्ने घोषणा गरेका हुन् । जेफ र मैकेजीले ट्वीट गरेर आफुहरुले सम्बन्ध विच्छेद गर्न लागेको जानकारी दिएका थिए । डिभोर्सपछि बेजोसको नेटवर्थ घट्ने बताइएको छ ।
बेजोससँग १३७ बिलियन अमेरिकी डलर बराबरको सम्पत्ति छ । अमेजनमा उनको १६ प्रतिशत सेयर स्वामित्व रहेको छ । डिभोर्ससँगै बेजोसको अमेजन कम्पनीमा भएको स्वामित्वमा भने असर पर्ने छ ।
वाशिंगटनको कानुनका अनुसार विवाहपछि आर्जित सम्पत्तिमाथि श्रीमान् श्रीमती दुवैको बराबर हक लाग्छ । डिभोर्सको समयमा त्यो सम्पत्तिलाई दुई भागमा बराबर बाड्नुपर्ने हुन्छ ।
बेजोसको डिभोर्ससँगै हुने सम्पत्ति बाडफाँडपछि विश्वमा धनी व्यक्तिको सूचिमा समेत परिवर्तन हुने छ । खबरका अनुसार मैकेजीलाई ६८ अर्ब अमेरिकी डलर सम्पत्ति मिल्न सक्छ । त्यसपछि बेजोसँग आधी सम्पत्ति मात्र बाँकी रहनेछ ।
योसँगै मैकेजी विश्वकै सबैभन्दा धनी महिला हुने छिन् भने जेफ बेजोस विश्वकै सबैभन्दा धनी व्यक्तिको सूचीबाट तल झर्नेछन् । उनको स्थानमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स विश्वकै धनी व्यक्ति बन्ने छन् । सन् २०१७ को अक्टोबरबाट जेफ बेजोसको सम्पत्ति बिल गेट्सको भन्दा बढेको थियो ।
वाशिंगटन पोस्ट र ब्लू ओरिजनमा पनि बेजोसको स्वामित्व रहेको छ । एजेन्सी