सूचक ओरालो लाग्दा कारोबार रकम भने थामियो, श्रीराम सुगरको यसरी बढाइँदैछ शेयरमूल्य

Jan 13, 2019 Merolagani

साताको पहिलो दिन शेयर बजार परिसुचक नेप्से ५.७८ अंकले घटेर ११७५.०५ अंकमा झरेको छ। आइतबार १५८ कम्पनीको ११ लाख ६३ हजार ७८१ कित्ता शेयर ३७ करोड २९ लाख रुपैयाँमा खरिद बिक्री भएको छ। बजारमा गिरावट देखिँदै गर्दा कारोबार रकममा भने झिनो सुधार देखिएको छ ।

कारोबारमा आएका १० उप सूचक मध्ये दुई सूचक मात्र झिनो अंकले सुधारिएका छन् भने बाँकी आठ उप समूहको सूचक ओरालो लागेका छन् । 

अन्य उप समूहको सूचक २.८७ अंकले बढदा उत्पादमूलक उप समूहको सूचक ०.६९ अंकले सकारात्मक भएको छ ।

यस दिन र्निजीवन बीमा समूहको सूचक सुबै भन्दा धेरै अर्थात ७१.२७ अंकले ओरालो लागेको छ । होटल समूह १२.८७, लघुवित्त १२.७, जीवन बीमा, ११.१८, बैंकिङ्ग ६.३२, जलविद्युत्त ५.२५, विकास बैंक ४.५ र वित्त समूहको सूचक ०.८५ अंकले ओरालो लागेका छन् ।

बजारमा वाणिज्य बैंकको हिस्सा धेरै भएका कारण बजार सूचक घटबढमा यो उपसमुहले धेरै भुमिका खेल्छ । आइतबार बैंकिंग उपसमुहमा ६.३२ अंकको गिरावट आउँदा अरु ९ उपसमुहको उतारचढावको सामान्य समायोजनले बजार ५.७८ अंकले तल झरेको हो ।

यसले वाणिज्य बैंकहरुको शेयरमूल्य घट्दो अवस्थामा रहँदा समग्र सूचक ओरालो लागे पनि अरु उपसमुहका कम्पनीको शेयर मूल्य बढिरहेको हुन सक्ने देखाउँछ । अर्थात नेप्से घट्यो वा बढ्यो मात्र भन्ने भन्दा पनि उपसमुहका आधारमा के के भईरहेको छ भन्ने पनि लगानीकर्ताले ध्यानमा राख्नु पर्ने हुन्छ ।

आइतबार नेपाल बैंकको शेयर अधिक कारोबार भएको छ । प्रत्याभुत भएको शेयर सम्बन्धित व्यक्तिको खातामा पठाउने क्रम अझै चलिरहनु तथा बैंकले एफपिओ बिक्री गर्दा भनेजस्तै लाभांस प्रस्ताव गर्ने आशमा लगानीकर्ता नेपाल बैंकको शेयरमा बढी आकर्षित भएका हुन् ।

तर बैंकलाई राष्ट्र बैंकले लाभांस बितरणमा सहज ढंगले बाटो खुल्ला गर्न नसक्ने अवस्थाले भने बैंकले कति लाभांस प्रस्ताव गर्ला भन्ने चासो बढेको छ । साथै बैंकले लाघभांस प्रस्ताव गरे पनि त्यसलाई राष्ट्र बैंकले सुधार गर्न लगाउने अवस्था रहन सक्छ । आइतबार बैंकको तीन लाख ८३ हजार २७० कित्ता शेयर ११ करोड ५९ लाख १० हजार रुपैयाँमा किनबेच भएको छ ।

अधिक कारोबार हुने शिर्ष १० मध्ये ७ वाणिज्य बैंक रहेका छन् भने आइतबारबाट शेयर कारोबार सुरु भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजना ५१ ह्जार ८७५ कित्ता शेयर १ करोड १६ लाख २० हजार रुपैंयाको कारोबार सहित छैठौं स्थानमा परेको छ ।

वोमी माइक्रोफाइनान्सको शेयर मूल्य धेरै अर्थात ९.९५ प्रतिशतले बढेको बजारमा नागरिक लगानी कोषको ४.४ प्रतिशत, सेन्ट्रल फाइनान्स र श्री राम सुगर मिल्सको तीन प्रतिशत भन्दा धेरैले शेयरमूल्य बढेको छ ।

श्रीराम सुगर मिल्सको शेयर भने सिमित व्यत्तिको हातमा मात्र रहेको अवस्थामा जम्मा ४० कित्ता शेयर एक आपसमा कारोबार गराएर शेयरमूल्य बढाइएको छ । यसले आगामी दिनमा दैनिक रुपमा थोरै कित्ताको कारोबार गराउँदै श्रीरामको शेयर मूल्य बढाउँदै लैजाने देखिन्छ । एउटा विन्दुमा पुगे पछि बल्ल सबै लगानीकर्तामा त्यस्तो शेयर बिक्रीमा आउँछ । आइतबार ४ नम्बरबाट २ पटक बिक्रीमा आएको बीस बीस कित्ता शेयर १७ नम्बर तथा ५८ नम्बरले खरिद गरेका छन् ।

त्यसैगरी तिनाउँ डेभलपमेन्ट बैंक, सिटिजनस बैंक, सिभिल लघुवित्त, पूर्णीमा विकास बैंक, समता माइक्रोफाइनान्स र सिर्जना फाइनान्स अधिक शेयर मूल्य बढ्ने १० कम्पनीको सूचीमा परेका छन् ।

यस दिन भार्गव विकास बैंकको शेयर मूल्य सबै भन्दा धेरै अर्थात ५.७१ प्रतिशतले घटेको छ । स्वदेशी लघुवित्त, आरम्भ लघुवित्त, सर्पोट माइक्रोफाइनन्स र तारागाँउ रेजेन्सि होटलको शेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले संकुचित भएको छ ।

साथै आँखु खोला जलविद्युत र आइएमई जनरल इन्स्योरेन्सको शेयर मूल्य चार प्रतिशतले घट्दा युनाईटेड इन्स्योरेन्स र स्टयाण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य तीन प्रतिशतले ओरालो लागेको छ ।

बजार ओरालो लागे पनि कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा केही बढेको हो । अघिल्लो पटकको कारोबारमा ३६ करोड ६३ लाख रुपैंयाको शेयर किनबेच भएको थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।