हाल ३० करोड रुपैयाँ चुक्ता पूँजी रहेको नेप्सेको बोनस पारित भएसँगै ५० करोड रुपैयाँ चुक्ता पूँजी पुगेको छ ।
नेप्से निजीकरणको मुद्धालाई छाडेर नेपाल स्टक एक्सचेञ्जले चार वर्षपछि बोनस बाँड्ने प्रस्ताव पारित गरेको हो । आर्थिक वर्ष २०६९/७० मा ५० प्रतिशत बोनस वितरण गरेर ३० करोड रुपैयाँ चुक्ता पूँजी कायम गरेको थियो। उसले यसअघि आर्थिक वर्ष २०७३/७४ र २०७२/७३ दुबै वर्षमा ५० प्रतिशत नगद लाभांश र २०७१/७२ मा १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो। आर्थिक वर्ष २०७०/७१ मा भने नेप्सेले कुनै लाभांश बाँडेको थिएन ।
नेप्सेलाई आधुनिक र तिब्र प्रतिष्पर्धी बनाउन भन्दै नेप्सेमा रहेको नेपाल राष्ट्र बैंक र सरकारको स्वामित्व घटाएर निजीकरण गर्ने बहस चलेपनि हालसम्म यो प्रकृया भने अगाडि बढ्न सकेको छैन ।
साधारण सभाले आर्थिक वर्ष २०७४/७५ को लेखा परीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह र सोसँग सम्बन्धित अनुसूची माथि छलफल गरी पारित गरेको छ ।
गत आर्थिक वर्षमा नेप्सेले २६ करोड दुई लाख रुपैयाँ खुद नाफा कमाएको थियाे । आर्थिक वर्ष २०७३/७४ मा भने नेप्सेले ३७ करोड २० लाख खुद नाफा आर्जन गरेको थियो । अघिल्लाे वर्षकाे तुलनामा नेप्सेकाे खुद नाफा ११ कराेड १८ लाखले घटेकाे हाे ।
नेप्सेले २०७४/७५ मा ४९ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७३.७४ मा नेप्सेले ६५ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको थियो । गत आथिक वर्षमा नेप्सेको कमाई अघिल्लो आर्थिक वर्षको भन्दा १५ करोड ५७ लाख रुपैयाँले घटेको हो ।
नेप्सेमा नेपाल सरकारको सबैभन्दा बढी ५८.६६ प्रतिशत, नेपाल राष्ट्र बैंकको ३४.६०, एनआईडिसीको ६.१२ प्रतिशत र ब्रोकर संघको ०.६२ प्रतिशत शेयर स्वामित्व रहेको छ ।