निजी क्षेत्रको अब्बल बैंकको रुपमा परिचय बनाएको एभरेष्टले शुक्रबार प्रकाशित गरेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार एक अर्ब ४२ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको उल्लेख छ ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा बैंकले एक अर्ब २२ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंकले १६.९३ प्रतिशतले आफ्नो खुद नाफा बढाएको हो ।
राष्ट्र बैंकको रेगुलेटरी एड्जस्टमेन्टले फ्रि प्रोफिटमा संकुचन
एनएफआरएस प्रतिवेदन अनुसार एभरेष्ट बैंकले एक अर्ब ४ करोड १८ लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ । गत बर्ष यस्तो रकम ९७ करोड ६७ लाख रहेको थियो । गत बर्षको तुलनामा यस बर्षको प्रथम त्रैमासिक अवधिमा ६ करोड ५१ लाख रुपैयाँले मात्र फ्रि प्रोफिट बढेको हो ।
एनएफआरएस रिर्पोट अनुसार बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टमा ३८ करोड ८० लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफा भन्दा लाभांश क्षमता उच्च घटेको हो ।
राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरण योग्य नाफा (फ्रि प्रोफिट) केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न मिल्छ ।
निक्षेप र कर्जा परिचालन खर्ब माथि
समीक्षा अवधिमा एभरेष्ट बैंकको कर्जा विस्तार भन्दा निक्षेप संकलनको विस्तारको अनुपात सुस्त छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एभरेष्टले कर्जा लगानी २३.०५ प्रतिशतले बढाउँदा निक्षेप संकलन २०.२१ प्रतिशतले बढाएको छ ।
यस अवधिमा बैंकले निक्षेप संकलनमा एक खर्ब ३ अर्ब २९ करोड ९१ लाखबाट एक खर्ब २४ अर्ब १७ करोड ७९ लाख तथा कर्जा परिचालनतर्फ ८६ अर्ब ८ करोड २७ लाखबाट एक खर्ब ५ अर्ब ९२ करोड ७४ लाखमा बढोत्तरी गरेको छ ।
चुक्ता पूँजी र जगेडा कोष
गत आवको नाफाबाट २० प्रतिशत नगद लाभांश वितरण गरेको बैंकको चुक्ता पूँजी ८ अर्ब १० करोड ६८ लाख रुपैयाँमा स्थिर रहेको छ । पूँजी स्थिर रहँदा बैंकको बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ४२ पैसाबाट बढेर ३५ रुपैयाँ ६३ पैसामा बढोत्तरी हुन पुगेको छ ।
बैंकले ६ अर्ब ७४ करोड ९७ लाखको जगेडा कोष १२.३२ प्रतितशले बढाएर ७ अर्ब ५८ करोड ११ लाख सञ्चित गरेको छ ।
खुद ब्याज आम्दानी करिब ३५ करोड बढ्यो
यस अवधिमा एभरेष्ट बैंकले ३४ करोड ९१ लाख रुपैयाँले खुद ब्याज आम्दानी बढाएको छ । चालू आवको दोस्रो त्रैमासमा बैंकले ६ अर्ब २० करोड ६६ लाख ब्याज आम्दानी गरेर ३ अर्ब ५३ करोड ५५ लाख ब्याज खर्च गरेको छ ।
जसबाट उसले २ अर्ब ६७ करोड १० लाख खुद ब्याज आम्दानी गरेको छ । गत बर्ष यसै अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ३२ करोड १९ लाख रुपैयाँ रहेको थियो ।
नोट:रकमलाई हजारमा देखाइएको छ ।
निष्कृय कर्जा अनुपात घट्नु सकारात्मक
समिक्षा अवधिमा बैंकले आफ्नो खराब कर्जा अनुपात घटाउँदै लगेको छ । व्यवसायको आकारमा बढोत्तरी हुँदै जाँदा खराब कर्जा नियन्त्रण गर्दै जानुलाई बैंकको प्रगति नै मान्नुपर्छ ।
गत आर्थिक वर्षको ६ महिना अवधिमा बैंकमा ०.२५ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा घटेर ०.१९ प्रतिशतमा झरेको छ ।
कर्जा निक्षेप सीमा केही खुकुलो
प्रथम त्रैमासिक प्रतिवेदन अनुसार एभरेष्ट बैंकको कर्जा निक्षेप अनुपात ७७.३२ रहेकोमा दोस्रो त्रैमासमा केही खुकुलो भएको छ ।
हाल बैंकको कर्जा निक्षेप अनुपात ७६.२३ प्रतिशत रहेको छ । गत वर्षको यसै अवधिमा बैंकको यस्तो अनुपात ७५.८४ प्रतिशत रहेको थियो ।
त्यस्तै बैंकको आधार ब्याजदर पनि प्रथम त्रैमासमा ८.८० प्रतिशत रहेकाेमा ८.२२ मा घटेको छ भने कोषको लागत ६.०८ बाट बढेर ६. २३ प्रतिशतमा उक्लेको छ ।