किसान माइक्रोफाइनान्सको शेयर लिलामी खुल्यो, सिटी एक्सप्रेस फाइनान्सको अन्तिम

Jan 20, 2019 Merolagani

किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले माघ ६ गतेदेखि ४ हजार २८० कित्ता शेयर लिलाम बढाबढ मार्फत बिक्रीमा ल्याएको छ। यस्तै पुस २९ गते देखि लिलामी खुलेको सिटी एक्सप्रेस फाइनान्स कम्पनीकाे ७ लाख ३६ हजार ८७ कित्ता शेयरमा बोलपत्र पेश गर्ने आजै अन्तिम दिन हो।

किसान माइक्रोफाइनान्स (KMFL) ले संस्थापक समूहको १८३ कित्ता र सर्वसाधारण तर्फको चार हजार ९७ कित्ता लिलामी खुला गरेको हो ।

इच्छुक लगानीकर्ताले उक्त लिलामी शेयरमा माघ ६ गतेदेखि १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । माइक्रोफाइनान्सको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय सिभिल मल सुन्धारा, तथा किसान माइक्रोफाइनान्सको सम्पूर्ण शाखा कार्यालयहरु मार्फत आवेदन गर्न सक्नेछन् ।

यस्तै सिभिल बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, नारायणगढ, पोखरा, बुटवल र नेपालगञ्ज कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन् । माघ ३ गते बिहीबार कम्पनीको प्रतिकित्ता शेयरमूल्य ९६० रुपैयाँ रहेको छ ।

आवेदन गर्दा न्यूनतम एक सय कित्तादेखि अधिकतम कित्तासमका लागि माग गर्न सक्नेछन् भने एक सय रुपैयाँदेखि बढाबढ मूल्यमा आवेदन गर्नुपर्नेछ। एक व्यक्ति तथा कम्पनीले एउटा मात्र बोलपत्र पेश गर्न सक्नेछन् ।

किसान माइक्रोफाइनान्सले गत मंसिर २ गतेदेखि पुस ८ गतेसम्म निष्काशन गरेको चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गरेको थियो । सो समयमा अवितरित शेयर अहिले कम्पनीले लिलामी मार्फत बिक्री गर्न लागेको हो ।

माइक्रोफाइनान्सले गत आवको मुनाफाबाट २९ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । ५० प्रतिशत हकप्रदलाई समेत प्रस्तावित बोनस रकम वितरण गर्दा २९ प्रतिशत बोनस १९.३३ प्रतिशतमा घट्नेछ। लिलामी सकार्नेले पनि बोनस पाउनेछन् ।

सिटी एक्सप्रेस फाइनान्सको शेयरमा बाेलपत्र पेश गर्ने आज अन्तिम

सिटी एक्सप्रेस (CEFL) ले पुस २९ गते देखि लिलामीमा ल्याएको ७ लाख ३६ हजार ८७ कित्ता शेयरमा शिलबन्दी बोलपत्र पेश गर्ने आइतबार अन्तिम दिन रहेको छ। इच्छुक लगानीकतर्ताले अपरान्ह ३ बजेसम्म आवेदन गर्न सक्नेछन् । माघ ३ गते बिहीबार फाइनान्सको शेयर प्रतिकित्ता १३३ रूपैयाँमा कारोबार भएको छ ।

फाइनान्सले लिलामीमा ल्याएको शेयरमध्ये दुई लाख ५७ हजार ६३१ कित्ता संस्थापक र चार लाख ७८ हजार ४५६ कित्ता सर्वसाधारण समुह तर्फको रहेको छ । फाइनान्सले गत भदौ १ गते देखि निष्काशन गरेको चुक्ता पूँजीको १६७ प्रतिशत हकप्रदमा अवितरित भएको शेयर लिलामीमा ल्याएको हो ।

फाइनान्सको लिलामी शेयरका लागि काठमाडौं क्यापिटल मार्केट बिक्री प्रबन्धक रहेको छ । लिलामी शेयरमा आवेृदन गर्न इच्छुकले बिक्री प्रबन्धकको कार्यालय कमलादी, बैंक अफ काठमाण्डूका शाखा कार्यालयहरु मेनरोड विराटनगर, स्टेशनरोड जनकपुर, आदर्शनगर वीरगञ्ज, मेनरोड हेटौंडा, लायन्स चोक चितवन, बुटवल, नेपालगञ्ज, पोखरा, सुर्खेत, धनगढी, र फाइनान्सको केन्द्रीय कार्यालय दरबारमार्ग काठमाडौंबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र आवेदन एक सय रुपैयाँ तिरेर माथि उल्लेखित स्थानहरुबाट प्राप्त गर्न र बुझाउन सकिनेछ । बोलपत्र पेश गर्दा संस्थापक न्युनतम एक हजार कित्ता र सर्वसाधारणमा १०० कित्तादेखि अधिकतम सबै कित्ताको लागि आवेदन गर्न सकिनेछ। लगानीकर्ताले प्रतिकित्ता न्युनतम १०० रुपैयाँ कबुल गरि बढाबढ मूल्यमा बोलपत्र पेश गर्न सक्नेछन् ।

आवेदन रकम बैंकले उपलब्ध गराएको बैंक खाता नम्बरमा जम्मा गरि सक्कल भौचर समेत पेश गर्नुपर्नेछ। त्यस्तै दश लाख रुपैयाँभन्दा बढीको आवेदन दिनेले प्यान नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्छ ।

सिटी एक्सप्रेस फाइनान्सले गत भदौ १ गतेदेखि १६७ प्रतिशत अर्थात २५ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

चुक्ता पूँजी ३१ करोड ७५ लाख रुपैयाँ रहेको फाइनान्सले चालु वर्षको पहिलो त्रैमासमा एक करोड ९ लाख रुपैयाँ नोक्सानी व्योहोरेको छ। यस अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८३ पैसा ऋणात्मक छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।