कुमार जी अगस्त मुनी शेयर संवाद (२०७५, प्रथमोध्याय !)

Jan 21, 2019 Merolagani

- रामु खनाल (शेयर बजार बिश्लेषक)
कुमारजी उवाच, हे मुनिवर, हजुरका मुखार बिन्दुबाट शेयर बजारको बारेमा धेरै कुराहरूको ज्ञान प्राप्त भइ यी कानहरु पवित्र भइरहे तर पनि मन अझै तृप्त हुन सकेन। बजारको पछिल्लो अवस्थाको बारेमा केहि बताइदिनुहोस् प्रभु भन्दै दुबै हात जोडी कुमारजी अगस्त मुनी सामु बस्दा भए ।

अगस्त मुनी उवाच: हे कुमारजी शेयर बजारको बारेमा हजार जिब्रो भएका शेषनागले त वर्णन गर्न सक्दैनन् तर मैले कसरी सकुला र?  आज “श्रीमतीजीको गहना बेचिदिएर वा श्रीमतीजीसँग पैसा सापटी लिएर शेयर बजारमा लगानी गर्ने पुरुषहरुको वर्तमान अवस्था“ बारे केहि बताउँछु , एकचित्त भइ सुन, भनि बताउन थाल्नुभयो ।

अहिलेको बजार घटाइको धेरै असर मानिसको पारिवारिक जीवनमा परेको छ । बजार उच्च बिन्दुमा हुँदा जसले श्रीमतीको गहना बेचेर वा श्रीमतीसँग पैसा सापटी मागेर शेयरमा लगानी गर्नुभयो उहाँहरुलाइ अहिले श्रीमतीको निकै हप्कीदप्की सहनु परेको छ।

सँगै खाना खान बस्यो जतिखेर पनि मेरा गहना खोइ ? मेरा पैसा खोइ ? सुत्न सँगै कोठामा गयो फेरि उहि कुरा मेरा गहना खोइ, मेरा पैसा खोइ? जब माईतीपक्षका मान्छेहरु घरमा आउँछन् अनि त भजन गाउन नै शुरु हुन्छ । यस्तो लबस्तरो, लफङ्गोलाई दिएर मलाई बरबाद नै बनायो, बिल्लीबाठ नै पार्यो। यसले जीवनमा गरि खाँदैन, यसको मुख समेत हेर्न, बोल्न पनि मन छैन। यी केटाकेटीको मायाले मात्र बस्या छु नत्र मैले पनि जान्या थिएँ।

विचरा पुरुषहरुलाई श्रीमतीको माया पनि छ र बजार बढ्ला कि भन्ने आशा पनि। भित्रभित्रै गहिरो चोट सहेर पनि बाहिर-बाहिर मुस्कुराउँदै हिड्नुपरेको छ । श्रीमतीले यति धेरै उधुम मच्चाउँदा पनि मुस्कुराउँदै मेरी प्यारी डार्लिङ्ग, मेरी प्यारी नानी कि मामु, बाबु कि प्यारी मामु, मेरी प्यारी प्यारी मायालु डार्लिङ्ग भन्दै माया गर्नु परेको छ। मेरा गहना खोइ? मेरा पैसा खोइ? भन्दै श्रीमतीले सुत्ने बेलामा ओछ्यान मै हप्काउँदा पनि आज मेरो साह्रै टाउको दुखेको छ, खासै सञ्चो पनि छैन भोलि कुरा गरौंला ल डार्लिङ्ग भन्दै अर्कोतर्फ फर्की सुत्नु परेको छ।

जब श्रीमती निदाउन थाल्छिन्, अनि पुरुषको मनमा अनेक कुराहरु खेल्न थाल्छन् । मसँग भएको पैसा मात्र लगानी गरेको भए त आज श्रीमतीबाट सधै यसरी हप्कीदप्की खानुपर्ने थिएन। उता अफिस गयो हाकिमको हप्किदप्की उस्तै, यता श्रीमतीको उस्तै, केटाकेटीको स्कुलको फि उस्तै महङ्गो, घर खर्च धान्न उस्तै गाह्रो, तलब कहिल्यै बढ्ने होईन , सधै उस्तै तनाव उफ ! खै यो जिन्दगी पनि। शेयर बजारमा लगानी गरेर अलि अलि भए पनि भरथेग होला भनेर ऋण धन गरेर लगानी गरियो अहिले आएर बजार घटेर चुर्लुम्बै डुबियो। तर मलाई पूर्ण विश्वास छ कि अहिलेको अवस्थामा डुबेजस्तो देखिएता पनि परिस्थितिमा असहजता आएता पनि शेयर बजारको भविश्य उज्वल छ,सुन्दर छ ।

यदि बजार बढेको हुँदो हो त, परिस्थिति अर्कै हुने थियो। मसँग पनि प्रशस्त पैसा हुने थियो। श्रीमतीको ऋण तिर्ने थिएँ। सधैको यो हप्किदप्की सहनुपर्ने थिएन। श्रीमतीलाई राम्रा राम्रा गहना गुरीया किनिदिने थिएँ। मेरो राजा आइस्योस् न भन्दै माया गर्ने थिइन् । तर अहिले परिस्थिति बेग्लै छ, श्रीमान् श्रीमती फरक फरक दिशातर्फ फर्केर सुत्न थालेको महिनौं भइसक्यो। अफिसबाट फर्किएर श्रीमतीको हातले बनाएको खाजा नखाएको पनि महिनौं भइसक्यो। खाजा खादा पनि त्यही गहना र पैसाको कुराले दिनदिनै किचकिच गर्न थाले पछि सधैको यो किचकिच सुन्नुभन्दा बरु आजभोलि मेरो अफिसले सबैलाई खाजाको ब्यवस्था गरेको छ, खाजा अलि हेभी हुन्छ त्यसैले अफिसबाट आउँदा मलाई त्यति भोक लाग्दैन भनि खाली पेटमा मुसा दगुरेर पनि ढाँट्न विवश भएको छु ।

यदि परिस्थिति सहज हुन्थ्यो भने यो जाडो मौसममा श्रीमान् एकातिर फर्केर र श्रीमती अर्कोतर्फ फर्केर सुत्नुपर्ने त थिएन। मेरो राजा आइस्योस् न भन्दै अङ्गालो हाल्थिन होला। छातीमा च्याप्थिन होला, न्यानो पार्थिन होला।  अहिले आएर मलाई लाग्न थालेकाे छ कि सहनशीलता नारी मात्र होईन पुरुषमा पनि उत्तिकै छ। यो अवस्थामा यदि पुरुषहरु सहनशील नभैदिएको भए कतिको पारिवारिक विखनण्डन हुने थियो होला । बजार घटेर अहिले साथमा न पैसा छ, साथमा श्रीमती भए पनि न त श्रीमतीको माया नै छ । छ त केवल तनाव, पीडा र अभाव मात्र, थुक्क  यो जिन्दगी !

थुक्क  यो जिन्दगी !! भन्दै जब पुरुषले आँखाबाट आशु बरबर बर्षाउन थाल्यो, त्यत्तिकैमा श्रीमतीलाई पिसावले च्यापेछ क्यारे ट्वाइलेट जान जब झ्याप बत्ती बालिन् । त्यति राति अबेरसम्म पनि श्रीमान् ननिदाइ आँखाबाट आशु पुछेको देखेपछि श्रीमती पड्किन थालिन् सम्पत्ति त सक्कायौं, सक्कायौं अब कुन नखरमौलीलाई सम्झिदै रुन पनि थाल्यौ यति राति रातिसम्म पनि नसुति नसुति ए बुढा ?

मलाई त पहिला देखि नै लाग्या थियो कि यो बुढाको चालामाला ठिक छैन भनेर । के पारा हो यो बुढा ? अझ अफिसले खाजा खान दिन्छ रे कुन नखरमौलीसँग नारिदै गएर टाँस्सिदै रेस्टुरेन्टमा खाजा खान्छन् होला र मलाई आजभोली घरमा खाजा नखाने भन्ने रहेछन् । भोलि उज्यालो मात्र त होस मैले जान्या छु के गर्नुपर्छ भन्ने त । विचरा श्रीमान् वाक्क भयो , अक्क न बक्क पर्यो । श्रीमती ट्वाइलेट गएर आइन् र आँखा रातो रातो पार्दै रिसाउँदै टेढो-टेढो आँखाले हेर्दै बुढाले ओढेको अधिकांश सिरक आफूतिर तान्दै अर्कोतर्फ फर्की सुत्दी भइन् । विचरा श्रीमान् जाडो र डरले लुगलुग काम्दो भयो ।

अगस्त मुनीका मुखारबिन्दुबाट श्रीमतीजीको गहना बेचिदिएर वा श्रीमतीजीसँग पैसा सापटी लिएर शेयर बजारमा लगानी गरेका पुरुषहरुको वर्तमान अवस्था सुनिसकेपछि कुमारजीले पनि आफ्नो मन थाम्न सक्नुभएन र आँखाबाट आँशु बरबर झार्न थाल्नुभयो ।

कुमारजी अगाडि भन्नुहुन्छ, हे मुनिवर हजुरका मुखारबिन्दुबाट शेयर बजारको बारेमा आज धेरै कुराको ज्ञान प्राप्त भयो, यि कानहरु पबित्र भए, मन प्रफुल्लित पनि भयो। आफ्नै श्रीमतीजीको गहना बेचिदिएर वा श्रीमतीसँग पैसा सापटी लिएर बजार उच्च बिन्दुमा पुगेको बेला शेयरमा लगानी गर्ने पुरुषहरुको वर्तमान अवस्था त यस्तो छ भने बजार उच्च बिन्दुमा पुगेको बेलामा जग्गा बेचेर, घर बेचेर ,महङ्गो ब्याजदरमा ऋण खोजेर लगानी गर्ने लगानीकर्ताहरुको वर्तमान अवस्था झन कस्तो होला म कल्पना समेत गर्न सक्दिन, हे प्रभु ।

अगस्त मुनी उवाज, हे कुमारजी बजारमा लगानी गर्न लगानीकर्ताहरुमा धैर्यता चाहिन्छ। सधै परिस्थिति यस्तो मात्र हुँदैन। परिस्थितिमा अनुकुलता पनि आउँछ । बजार घटेको मात्र होइन बढेको पनि यि आँखाले नै देख्न पाइन्छ। धैर्यता गरौं ।

कुमारजी उवाच , हे मुनीवर, हे त्रिकालदर्षि प्रभु, श्रीमानले भ्रष्टाचार नगरिकन, बडो मेहनत र दुखका साथ आर्जन गरेको धन श्रीमतीले शेयर बजारमा लगानी गरेर डुबाएको अवस्थामा ति श्रीमान् श्रीमतीको सम्बन्ध कस्तो होला? तिनीहरुको पारिवारिक परिस्थिति कस्तो होला ? यस बारेमा पनि केहि जान्न बुझ्न, सुन्न यि कानहरु आतुर छन् । यस बारेमा पनि आज्ञा होस्, मुनिवर !

अगस्त मुनी उवाच, हे कुमारजी, यस बारेमा पनि कुनै दिन अवश्य बताउनेछु। कृपया प्रतीक्षा गर्नुहोला ।

इति श्री इस्कन्ध पुराणे केदार खण्डे माघ माहात्मे नेपाल देशे श्री कुमार अगस्त शेयरसम्बादे (२०७५, प्रथमोध्याय समाप्त !!! 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।