राष्ट्रिय बीमा कम्पनी बन्यो अनिर्णयको बन्दी, कर्मचारीले तलब समेत पाएनन्

Jan 22, 2019 Merolagani

- निक्षेप नवीकरणसँगै सेवाग्राहीको भुक्तानी पनि रोकियो
दोस्रो बजारमा आकर्षक मानिएको महङ्गो शेयरमूल्य भएको राष्ट्रिय बीमा कम्पनी यतिबेला अनिर्णयको बन्दी बनेको छ। सञ्चालक समितिको बैठक बस्न नसक्दा नयाँ प्रमुख कार्यकारी नियुक्त भए यता कम्पनीका अधिकांश नियमित कृयाकलापहरु सञ्चालन हुन सकेका छैनन् । बैंक खाताहरु सञ्चालन हुन सकेका छैनन् भने कर्मचारीले तलब पनि पाएका छैनन् ।

कम्पनी सञ्चालक समितिले अर्थमन्त्रालयसँग सहयोग माग्दै प्रमुख कार्यकारी नियुक्त गराएको थियो। अर्थमन्त्रालयले बीमा कम्पनीमा मन्त्रालयका तर्फबाट सञ्चालक रहेका मन्त्रालयका उपसचिव डिल्लीराज अर्याललाई गत पुस २६ गते कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनाएको थियो ।

सञ्चालक समितिमा अध्यक्षसहित सञ्चालकको संख्या ५ रहेकोमा अर्याल प्रमुख कार्यकारी बनेपछि मन्त्रालयका तर्फबाट सञ्चालक छैनन्। अध्यक्ष सहित ४ जना सञ्चालक रहेको भए पनि समितिको बैठक बस्न सकेको छैन ।

पटक पटक सञ्चालक समितिको बैठक आह्वान गरिए पनि सञ्चालकहरुको अनुपस्थितीले कोरम नपुग्दा एक पटक पनि बैठक बस्न सकेको छैन । सञ्चालक समितिको बैठक बस्न नसक्दा कम्पनीको बैंक खाता सञ्चालनदेखि विविध कामको जिम्मेवारी लिने व्यक्ति तोकिएको छैन। जसका कारण कम्पनीबाट हुने कुनै पनि किसिमको भुक्तानी हुन सकिरहेको छैन। अर्कातिर कम्पनीका कर्मचारीहरुले तलब सामेत खान पाएका छैनन् ।

कतिपय बीमितहरुले अवधि पूरा भएको बीमा वापतको रकम समेत पाउन सकेका छैनन् ।

यस सम्बन्धमा मेरोलगानीले कम्पनी व्यवस्थापनका एक उच्च कर्मचारीसँग समस्याका विषयमा जिज्ञासा राख्दा समस्या रहेको मात्र प्रतिकृया दिए ।

उनले अर्थमन्त्रालयका तर्फबाट सञ्चालक नआएका कारण केही समस्याहरु उत्पन्न भएको नाम नबताउने शर्तमा स्वीकार गरे ।

स्रोतका अनुसार कम्पनीले बैंकमा राखेको १ अर्ब बढी रकमको मुद्धती निक्षेपको अवधि पनि यसै समयमा सकिएको छ । उक्त मुद्धती निक्षेप पनि हस्ताक्षर गर्ने व्यक्तिको अभावमा नवीकरण हुन सकेको छैन ।

कम्पनीले आफ्नो विधान अनुसार स्वतन्त्र रुपमा प्रमुख कार्यकारी अधिकृत नियुक्त नगरेका कारण सञ्चालकहरु रुष्ट भएको खुल्न आएको छ। नियुक्तिको विष्षयमा सञ्चालकहरु सकरात्मक नभएकै कारण सञ्चालक समितिको बैठक बस्न नसकेको स्रोतले मेरोलगानीलाई बतायो।

व्यवस्थापनमा नयाँ नेतृत्व आएपछि यस अघिका जिम्मेवारीहरु परिवर्तन भएको र परिवर्तित व्यवस्था अनुसार कामको जिम्मा सञ्चालक समितिको बैठकले निर्णयबाट पारित गराउनुपर्ने हुन्छ । उक्त निर्णयका आधारमा बैंक खातामा कसले हस्ताक्षर गर्ने, कुन जिम्मेवारी कसरी अघि बढाउने भन्ने भए पनि सञ्चालकहरुले व्यवस्थापनलाई स्वीकार नगर्दा समस्या भएको बुझिएको छ ।

यसै सन्दर्भमा प्रमुख कार्यकारी अधिकृतको नियुक्तिमा असहमति जनाउँदै एक सञ्चालकले सञ्चालक समितिमा नोट अफ डिसेन्ट जारी गरेको खुल्न आएको छ। प्रमुख कार्यकारी अधिकृत नियुक्तिको विषयमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीलाई पाखा लगाएर अर्थमन्त्रालयलाई गुहारिएको विषयमा असहमति जनाउँदै उपसमिति गठन गरेर संकलन गरिएको सुझाव अनुसार अघि नबढेका कारण सञ्चालक समितिको यस अघिको निर्णयमा आफ्नो असहमति जनाएको स्रोतले बतायो । स्रोतका अनुसार उक्त असहमतिको व्यहोरा बीमा समितिमा पनि पुगेको छ ।

कम्पनी सञ्चालक समितिको बैठक बस्न नसकेको सन्दर्भमा कम्पनी सञ्चालक समितिका अध्यक्ष उमेशचन्द्र उपाध्यायले पहिलो पटक यस्तो नभएको बताए । अर्थको स्वीकृतिमा मन्त्रालयकातर्फबाट सञ्चालक रहेका अर्याललाई प्रमुख कार्यकारी बनाइएको विषयमा सञ्चालकहरु असन्तुष्ट रहेको आफ्नो जानकारीमा आएको उनले मेरोलगानीलाई बताए । सञ्चालक समितिको बैठक बस्न नसक्दा वित्तीय कारोबारहरु सञ्चालन गर्न नसकिएको उनको स्वीकारोक्ती थियो ।

प्रमुख कार्यकारी अधिकृत नियुक्तिको विषयमा असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका कम्पनीका सञ्चालक अशोककुमार उप्रेतीले लेखेको केही दिनमा समस्या हल हुने बताए। तीन चार पटक आह्वान गरिएको सञ्चालक समितिको बैठक बस्न नसक्दा समस्या देखिएको बताएका उनले सबै विषय केही दिनमा समेटिए लगत्तै जिम्मेवारी तोकेर नियमित कामलाई सुचारु गराउने उल्लेख गरे।

सर्वसाधारणको लगानी रहेको सरकारी स्वामित्वको कम्पनीमा देखिएको यो समस्याले लगानीकर्ता मात्र नभई बीमा कम्पनीका बीमितहरु समेत अब के होला भनेर बसेको अवस्था छ । कम्पनीका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत आआफ्नै बाटोमा हिड्दा देखिएको सस्याले कम्पनी धराशायी हुने निश्चित छ ।

यस्तो अवस्थामा कम्पनीको भविष्यलाई केन्द्रमा राखेर सबै पक्ष अघि कहिले बढ्लान भन्ने चासो शेयर बजारका साथै बीमा बजारमा देखिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।