माथिल्लो तामाकोशीको शेयर: आईपिओ भर्नेले जिते कि दोस्रो बजारका कारोबारीले ?

Jan 23, 2019 Merolagani

ठूलो संख्यामा सर्वसाधारणमा शेयर निष्काशन गरेको माथिल्लो तामाकोशी जलविद्युत आयोजना (UPPER) को शेयरमा आईपिओ भरेका धेरै लगानीकर्ता अहिले अलमलमा परेका छन्। दोस्रो बजारका कारोबारीहरुको नियन्त्रणमा केहि दिन कम्पनीको शेयर कारोबार हुँदा आईपिओका आवेदक भने अलमलमा परेका हुन् ।

शेयर सूचीकरण भएर कारोबार सुरु भएकाे दिन पुस २९ गतेदेखि नै केहि शेयर दलाल, ठूला भनिएका लगानीकर्ता र संस्थागत लगानीकर्ताहरुले धमाधम दोस्रो बजारमा बिक्रीमा आएको शेयर उठाएका थिए । यो क्रम तिब्र बन्दा नेप्सेको प्रणालीमा समेत समस्या उत्पन्न भएको थियो भने कतिले नियोजित रुपमा प्रणालीलाई असफल बनाउने अभियान समेत चलाउन भ्याए ।

दोस्रो बजारमा शेयर सूचीकरण भएपछि राम्रै मूल्य पाउने आशा गरेका लगानीकर्ताहरु त्यति बेला चकित परे, जब कारोबार खुलेका दिनदेखि शेयर उठाएकाहरुले गत आइतबार कारोबार खुलेर दश प्रतिशतले बढेको शेयरमूल्यमा बिक्रीको बाढी नै ल्याए ।

कारोबारीहरुले २२४ रुपैयाँदेखि झण्डै ३११ रुपैयाँसम्ममा धमाधम शेयर किने। आइतबार जब काराेबारी शान्त भएर बेच्न माैका कुरिरहेका थिए सामान्य लगानीकर्ता पनि जुर्मुराए। यही मौकाको फाइदा उठाउँदै कारोबारीहरुले सामान्य लगानीकर्तालाई शेयर बेच्न थाले। सोही कारण आइतबार ९.९७ प्रतिशतले बढेर ३४२ रुपैयाँसम्म पुगेको शेयर सोही दिन ६.१० प्रतिशतले घटेर प्रतिकित्ता २९२ रुपैयाँमा कारोबार बन्द भयो ।

तामाकोशीको शेयर उच्च मूल्यमा पुगेको बेला आईपिओ भर्नेहरु शेयर बेचेर समयमै नाफा सुरक्षित गर्नबाट बञ्चित हुँदै गर्दा कारोबारीहरुले औसतमा प्रतिकित्ता ६० रुपैयाँभन्दा बढीको दरमा लाखौं रुपैयाँ नाफा कमाउन भ्याए, त्यो पनि एक साताको अन्तरको छोटो समयमा नै ।

अझ घत लाग्दो विषय यो बन्यो कि, जसले तामाकोशीको प्राथमिक शेयरको धेरै विरोध र कम्पनी खराब छ भन्दै हल्ला फैलाई रहेको थियो, दोस्रो बजारमा त्यस्ता व्यक्तिले नै धेरै शेयर उठाएर धमाधम बेचेको देखियो ।

उल्लेखित घटना क्रमले प्रष्ट पार्ने कुरा यत्ति मात्र हो कि आईपिओ भर्ने अनि निदाएर बस्ने लगानीकर्ताहरुले प्राप्त भएको नाफा सुरक्षित गर्ने त परको कुरा कारोबारीको कारण यस्तो चलखेल कमजोर कम्पनीहरुमा हुने हो भने साधारण लगानीकर्ताहरु त कुनैपनि समयमा आईपिओकै मूल्यमा शेयर बेच्न नसक्ने अवस्थामा पनि पुग्न सक्छन् भन्ने आशंका पनि उत्पन्न भएको छ ।

तामाकोशीको सन्दर्भमा कुरा गर्दा ३ लाख ३४ हजारमध्ये एक लाख ७२ हजार ७७५ जनालाई ५० कित्ता र एक लाख ६१ हजार ३०० जनालाई ४० कित्ता शेयर बाँडिएको थियो ।

दोलखा जिल्लाका स्थानीयबासीका निष्काशन गरिएको एक करोड ५ लाख कित्ता शेयर अझै ३ वर्ष कारोबार गर्न मिल्दैन भने तामाकोशीले यसअघि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरु र ऋणदाता संस्थाका कर्मचारीहरुलाई गरि कूल २ करोड ५४ लाख १६ हजार कित्ता शेयर पनि डिम्याट नभएका कारण बजारमा आएको छैन । वि. सं. २०७२ जेठ २९ गते बाँडफाँड भएको उक्त शेयर ३ वर्ष पूरा भएपनि कागजी प्रमाणपत्र वितरण गरेका कारण डिम्याट भएर नियमित काराबारमा आउन सकेको छैन । 

यसअघि ऋणदाता संस्था र कर्मचारीहरुलाई पनि कागजी प्रमाणपत्र वितरण गरिएकाले सो शेयर डिम्याट भएर कारोबारमा आउन अझै केही समय लाग्ने देखिन्छ । 

सो समयमा एक करोड ८२ लाख ९९ हजार ५२० कित्ता, नेपाल विद्युत्त प्राधिकरण र अपर तामाकोशीका कर्मचारीहरुलाई ४० लाख ६६ हजार ५६० कित्ता, नेपाल टेलिकमका कर्मचारीहरुलाई ९ लाख १४ हजार ९७६ कित्ता, कर्मचारी सञ्चयकोषका कर्मचारीहरुलाई १५ लाख २४ हजार ९६० कित्ता र राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोष दुबैका कर्मचारीहरुलाई समान तीन लाख चार हजार ९९२ कित्ता बाँडफाँड गरिएको थियो ।

यस्तो अवस्थामा सर्वसाधारणमा निष्काशन भएको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर र निकै सानो संख्यामा मात्र कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुलाई बाँडिएको शेयर मात्र दोस्रो बजारमा अहिले कारोबार गर्न सकिन्छ । राष्ट्रिय गौरवको आयोजना र निमार्ण लागत बढेपनि जलविद्युत कम्पनीहरुमध्ये भविष्यमा राम्रो बन्नसक्ने अवस्थामा यो कम्पनी रहेकाले पनि धेरै आईपिओ भरेका शेयरधनीले शेयर बिक्री गर्ने कुनै योजना बनाएका छैनन् ।

सीमित व्यक्ति तथा संस्थासँग भएको शेयरको बाढीले अहिले नै बजारमा मूल्य बढ्न खाज्ने प्रवृत्तिलाई पूर्ण रुपमा लगाम लगाइरहेको अवस्था छ । अर्कातिर कम्पनीको आम्दानी प्राप्त हुन अझै केही वर्षसम्म लाग्ने र आयोजनाको लागत बढ्दै गइरहेको लगायत कारणले पनि अब तामाकोशीको शेयरमूल्यमा खासै चमत्कार हुने अवस्था देखिन्न ।

वित्तीय अवस्था, लगानीकर्ताको मनोबल र खेलाडीहरुको चंगुलका कारण तामाकोशीको शेयरमूल्य ३०० रुपैयाँबाट नै ओरालो लागेपछि अर्काथरी लगानीकर्ता चिन्तामा परेका छन् । तामाकोशीको शेयरलाई सुनको अण्डाको संज्ञा दिँदै यति मूल्य पुग्छ, उति मूल्य पुग्छ भन्दै आम लगानीकर्तालाई फसाउन खोज्ने अर्को गिरोह भने आफैँ समस्यामा परेको छ ।

स्मार्ट खेलाडीका अगाडि हो मा हो मिलाउँदै दौडिने यो जमात अन्त्यमा स्मार्ट कारोबारीहरुले २२४ रुपैयाँदेखि उठाएको शेयर पौने तीन सय रुपैयाँ हाराहारीसम्ममा किनेर कहिले शेयर बेच्ने दिन आउला भनेर बसेको छ ।

तीन वर्ष पहिले सञ्चयकर्ताका लागि निष्काशन भएको ठूलो संख्याको शेयर कारोबार सुरु नहुँदै आपसी सहमतिमा हजार रुपैंयाभन्दा बढी मूल्यमा किनेर सिरानीमा हालेकाहरुको व्यथा अर्कै छ । सञ्चयकर्तालाई शेयर निष्काशन भएपछि बजारमा सञ्चयकर्ताहरु खोजी खोजी तामाकोशीको शेयर अहिले नै हजार रुपैयाँभन्दा माथिको मूल्यमा किन्नेहरु सक्रिय भएका थिए । अहिले कम्पनीको शेयरमूल्य ३०० रुपैयाँबाट उकालो लाग्दै लाग्दा तल झरेपछि सहमतिमा शेयर किन्नेहरु अहिले चिन्तामा परेका हुन् ।

धेरै जान्ने बन्न खोजेर महङ्गोमा सञ्चयकर्ताको शेयर किन्नेहरु अहिले सबैभन्दा धेरै पीडित बनेका छन् भने तिनै सञ्चयकर्ता जसले जानेर वा नजानेर सहमतिमा कागजी शेयर महङ्गो मूल्यमा बेचे उनीहरु आजको अवस्थामा राम्रो नाफा सहित खुसी बनेका छन् ।

अर्कातिर दोस्रो बजारमा आएपछि सुनको अण्डाका रुपमा व्याख्या गर्दै हिड्नेहरु बीचमा पुगेर स्मार्ट कारोबारीले भिराएको शेयर किनेर टाउकोमा हात लगाई रहेका छन् । जसले माथिल्लो बिन्दुमा पुग्दा शेयर बेच्यो त्यो भने अहिले आफुले सबैभन्दा ठूलो सफलता पाएकोमा आनन्द मानिरहेको छ। तर यो जमातमा सामान्य लगानीकर्ताको संख्या भने ज्यादै न्युन छ ।

उल्लेखित सबै पात्रहरुलाई हेर्दा तामाकोशीको शेयरमा सबै किसिमका लगानीकर्ता कमाउनेको सूचीमा पर्न नसकेको देखिन्छ। जसले हल्ला नगरी बजारमा धमाधम शेयर उठाएर बेच्यो उसले छाटो समयमा राम्रो आम्दानी कमाएर बाहिरिसकेको छ ।

अब तामाकोशीको मात्र नभई शेयर बजारका आम लगानीकर्ताले यो सोच्न आवश्यक छ कि, सुनको अण्डाको पछि लाग्ने वा धेरै वर्ष पछिको सपना अहिले नै साकार पार्न दौडिने वा समय अनुसार बजारमा लगानीको योजना बनाउँदै नाफामुलक शेयर कारोबार तथा लगानी गर्ने ? अझ हल्लाखोरको पछि दौडिने कि नदौडिने भन्ने पाठ पनि तामाकोशीले कारोबारको दुई साताको छोटो समयमा नै सिकाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।