प्रभु बैंकले चालू वर्षको ६ महिना अवधिमा एक अर्ब आठ करोड १२ लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ। गत आवको यस अवधिमा बैंकको यस्ताे नाफा ६३ करोड ४९ लाख मात्र रहेको थियो । समीक्षा अवधिमा बैंकले ७० प्रतिशतले फ्रि प्रोफिट बढाएको हो ।
यस्तै बैंक पहिलो पल्ट गत आवको नाफाबाट शेयरधनीलाई लाभांश बाँड्न सक्ने अवस्थामा पुगेको छ । अघिल्ला वर्षहरुमा सञ्चित नोक्सानीका कारण बैंकले लाभांश वितरण गर्न सकेको थिएन।
खुद नाफा अर्ब माथि
बैंकले बिहीबार प्रकाशन गरेको नेपाल फाइनान्सीयल रिपोर्टिङ्ग स्टान्डर्ड (एनएफआरएस) प्रतिवेदनमा गत आवको पुस मसान्तसम्मको तुलनामा ७३.३२ प्रतिशतले अर्थात २४ करोड ९६ लाख ३९ हजार रुपैयाँले खुद नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ।
गत वर्षको ६० करोड ११ लाखको खुद नाफालाई बैंकले एक अर्ब ४ करोड १८ लाख रुपैयाँमा पुर्याएको हो ।
एनएफआरएस अनुसार बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टबाट ३ करोड ९३ लाख थपिँदा बैंकको खुद नाफा भन्दा लाभांश क्षमता बढेको देखिन्छ ।
राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरण योग्य नाफा (फ्रि प्रोफिट) रकम बैंकले केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न मिल्छ ।
निक्षेप संकलन खर्ब नाघ्यो, ८८ अर्ब कर्जा लगानी
एनएफआरएस वित्तीय विवरण अनुसार प्रभुले दोस्रो त्रैमासमा गत वर्ष ८६ अर्ब १४ करोड १० लाख रहेको निक्षेप संकलनलाई बढाएर एक खर्ब ४ अर्ब ९८ करोड १३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।
कर्जा लगानीतर्फ पनि ७१ अर्ब ७७ करोड १६ लाखबाट ८८ अर्ब १५ करोड ९८ लाख रुपैयाँमा बढोत्तरी गरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन २१.८७ प्रतिशत र कर्जा लगानी २२.८३ प्रतिशतले सुधार भएको छ ।
दुई अर्ब १५ करोड खुद ब्याज आम्दानी
यस अवधिमा बैंकले ५ अर्ब २२ करोड ४९ लाख ब्याज आम्दानी गरेर ३ अर्ब ७ करोड १८ लाख ब्याज खर्च गरेको छ । जसबाट उसले २ अर्ब १५ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
गत वर्ष यसै अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी ७६.८५ प्रतिशतले बढेको हो । गत वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब २१ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
पूँजीसँगै इपिस पनि बढ्यो
हकप्रद जारी गरेर राष्ट्र बैंकले तोकेको पूँजी कायम गरेको प्रभु बैंकले पूँजीसँगै नाफामा बढोत्तरी गरेर प्रतिशेयर आम्दानीमा पनि सुधार गरेको छ ।
यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ४४ पैसाबाट २५ रुपैयाँ ३१ पैसामा बढोत्तरी भएको छ । यस्तै बैंकको चुक्ता पूँजी ५ अर्ब ८८ करोड १४ लाखबाट ८ अर्ब २३ करोड ३९ लाख पुगेको छ भने जगेडा कोष ४ अर्ब ७२ करोड २० लाखबाट ५ अर्ब ६० करोड १२ लाख रुपैयाँ सञ्चित हुन पुगेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ४० प्रतिशत र जगेडा कोष १८.६२ प्रतिशतले सुधार भएको छ ।
नोट:रकमलाई हजारमा देखाइएको छ ।
खराब कर्जा २.४७ प्रतिशतमा झर्यो
खराब कर्जाले नै थलिएको ग्राण्ड बैंक लगायत अन्य साना संस्था गाभेको यस बैंककाे कुशल व्यवस्थापनले समिक्षा अवधिमा खराब कर्जा असुलीबाट पनि आफ्नो नाफा बढाएर आफूलाई सबल बनाउन प्रयासरत देखिन्छ ।
बैंकले आफ्नो बैंकको खराब कर्जा ४.१२ बाट झण्डै आधा घटाएर २.४७ प्रतिशतमा झारेको छ।
न्यून लागतमा निक्षेप संकलन, सस्तोमै कर्जा पाउनसक्ने अवस्था
वित्तीय विवरण अनुसार प्रभु बैंकको कोषको (निक्षेप संकलन) लागत ६.१९ प्रतिशत मात्र रहनुले अन्य वाणिज्य बैंकको तुलनामा न्यून खर्चमा नै निक्षेप संकलन गरेकाले ऋणीहरूमा अन्य बैंकको तुलनामा केही सस्तो ब्याजदरमा नै कर्जा प्रवाह गर्नसक्ने अवस्था बैंकमा रहेको वित्तीय विवरणले देखाउँछ ।
बैंकको आधार ब्याजदर पनि गत वर्ष यसै अवधिमा ९.७१ रहेकोमा ९.३७ प्रतिशतमा झरेको छ ।