तर आम लगानीकर्ताकोहकमा भने यस्तो बुझाईको अभावमा आत्तिने प्रवृत्ति धेरै देखिन्छ । पहिलो कुरा यो हो कि बजार परिसूचक नेप्से बढेको बेलामा पनि धेरै कम्पनीहरुको शेयर मूल्य घटिरहेको छ ।
त्यसैगरी बजार सूचक घटेका बेला धेरै कम्पनीहरुको शेयरमूल्य बढी रहेको हुन्छ । उल्लेखित अवस्थाका कम्पनीहरुमा आम लगानीकर्ताले ध्यान दिन नसक्दा सूचक घट्यो भन्दा आत्तिने र बढ्यो भन्दा मात्तिने प्रवृत्ति बजारमा देखिने गरेको छ ।
शेयर किन्ने योजना बनाउँदा कम्तीमा बजारमा नियमित कारोबार भएका कम्पनी र पछिल्लो समयमा देखिएको कारोबार प्रवृतिको अध्ययनको अभावमा सीमित व्यक्तिहरुले मात्र नाफा सुरक्षित गरिरहेका छन् । यस्ता लगानीकर्तालाई सूचकमा आउने सामान्य उतार-चढावको खासै असर पर्दैन ।
तर विशेष परिस्थितीमा सूचकमा देखिने तिब्र उतार-चढावका बेला भने अलि चनाखो हुन जरुरी हुन्छ। यस्तो बेलामा सूचकसँगै कम्पनीहरुको शेयरमूल्य पनि तल माथि हुने भएकाले समयमा नै बजार पस्ने वा निस्किने निर्णय गर्न सक्नुपर्छ ।
तर अहिले हामीकहाँ आम लगानीकर्ताहरु अध्ययन गरेर कम्पनी छनौट गर्नेभन्दा पनि हल्लाको भरमा लगानीको निर्णय गर्ने गर्छन् । जसका कारण सही समयमा शेयर बेच्ने निर्णयमा उनीहरु पुग्न सक्दैनन् ।
यदि सामान्य लगानीकर्ताले पनि बजारमा अस्वभाविक रुपमा शेयर मूल्य घटिरहेको वा बढीरहेको कम्पनीको सूक्ष्म अध्ययन गर्ने हो भने धेरै कुरा देख्न सकिन्छ। त्यस्ता कम्पनीको शेयर प्रकृतिक रुपमा बढ्ने वा घट्ने भैरहेको छ वा केही व्यक्तिहरुले शेयर मूल्य घटाउन वा बढाउन अप्राकृतिक शैलीमा काम गरिरहेका छन् भन्ने विषय पनि अध्ययन गर्दा थाहा पाउन सकिन्छ ।
बजार सूचक सामान्य गतिमा हुँदा शेयर मूल्यमा विपरित गति देखिएका कम्पनीमा सिधै लगानी गर्ने नभई त्यसका विविध पक्षलाई हेर्दा अब के हुन्छ भन्ने नतिजा पनि लगानीकर्ताले आंकलन गर्न सक्छन् ।
यसरी घट्दो वा बढ्दो शेयर मूल्यको अध्ययन गर्नेहरुले बजारको गतिका आधारमा थप निर्णयहरु गर्न सक्छन्, जसले समयमै नाफा सुरक्षित गर्ने मौका मिल्छ भने नोक्सान हुन थालिसकेको अवस्थामा समयमै सुरक्षित हुन सकिन्छ ।
नेप्सेमा सूचीकृत भएका साना तथा मझौला किसिमका कम्पनीहरुको शेयरमा विशेष गरी यस्तो असर र त्यसका प्रभावहरु देख्न सकिन्छ। अर्थात धेरै पूँजीकरण भएका कम्पनीको शेयरमूल्य बढ्दा सूचकमा पनि त्यसको सकरात्मक असर पर्छ भने घट्दा सूचकमा नकरात्मक असर पर्छ ।
तर थोरै पूँजीकरण भएका कम्पनीको शेयर संख्या पनि थोरै हुने भएकाले बजारभन्दा उल्टो गतिमा यस्ता कम्पनीको शेयर मूल्य दौडिने गरेको प्रत्येक दिनको कारोबारहरुमा प्रष्टसँग देखिँदै आएको छ ।
यस्ता कम्पनीलाई सक्रिय लगानीकर्ताहरुले एकदम नजिकबाट नियालीरहेका हुन्छन् । सूचक घट्दा एक पटक मात्र शेयरमूल्य बढ्ने कम्पनीमा भने जोखिम हुनसक्छ । पछिल्ला केही दिनको शेयर मूल्य उतार-चढाव, कारोबारमा आएको शेयर संख्या लगायतका तथ्यले माग बढ्दो अवस्थामा छ कि बिक्री चाप धेरै छ भन्ने खुट्याउन सकिन्छ। जसले घट्दो बजारमा पनि शेयर किन्ने वा नाफा सुरक्षित गर्ने भन्ने निर्णय गर्न सजिलो हुन्छ ।
नेप्से घट्यो वा बढ्यो भन्ने समाचार अनि हल्लालाई प्राथमिकतामा नराखी सूचकको उल्टो गतिमा शेयर मूल्य तल माथि हुने कम्पनीहरुलाई नियमित रुपमा वाच गर्दै लगानीको निर्णय गर्न सकिन्छ । यस्तो अवस्थामा सामान्य अवस्थाको भन्दा जोखिम बढी हुने भए पनि नाफा कमाउने आधार पनि उत्तिकै बलियो हुन्छ। त्यस्ता कम्पनीको शेयरमा देखिने कारोबार चापलाई भने नजिकबाट नियालि रहनुपर्ने हुन्छ ।
यसरी कम्पनी छनौट गरेर अरुसँग सल्लाह गर्दा भने सल्लाह दिनेले नै आफुलाई बढ्दो मूल्यमा शेयर बिक्री गराउनेचर्फ सचेत हुनुपर्छ। साथै कम्पनीका सम्बन्धमा आइरहने खबरहरु पाउने बित्तिकै लगानीको निर्णय नगरी त्यसलाइ पुष्टि गरेर मात्र लगानीको निर्णय गर्न सक्नेले घट्दो बजारमा पनि नाफा कमाउन सक्छन् ।
यसरी शेयर कारोबार गर्दै गर्दा सूचकमा भारी अन्तरको परिवर्तन आउँदा भने आफ्नो शेयरमा भएको कारोबार चापको अवस्थालाई ध्यान दिनुपर्ने हुन्छ ।