सरकारले लागू गर्न लागेको प्यानलाई आतङ्कको रुपमा उब्जाएर घटेको बजारमा शेयर बिक्री गर्दा लगानीकर्ताहरुले बरु उल्टै घाटा ब्यहोनुपर्ने हुनसक्छ । यसतर्फ सबै लगानीकर्ता सजग हुन आवश्यक छ ।
धेरै लगानीकर्ताको अहिले के बुझाई छ भने प्यान नम्बर लिएपछि धेरै कर तिनुपर्छ र नाफाजति सरकारलाई कर तिर्दैमा सकिन्छ ।
प्यान लिएपनि लगानीकर्ताहरुले अहिले शेयर कारोबारमा तिरिरहेका तोकिएको कमिशन र पूँजीगत लाभकर नै तिर्ने हो जुन अहिले पनि शेयर दलाल मार्फत नै लगानीकर्ताले तिर्दै आएका छन्।
कर कार्यालयले प्रदान गर्ने नौ अंकको प्यान कार्ड करदाताको ब्यक्तिगत परिचय नम्बर हो । जुन लिएमा बरु लगानीकर्ताको आफ्नै नामबाट कर कार्यालयमा दाखिला हुन्छ । जसले आफुले तिरेको कर विवरण प्रमाणको रुपमा पेश गर्न समेत पाइन्छ ।
यसबाट धितोपत्र बोर्ड, नेप्से, सीडीएससी, निक्षेप सदस्य, शेयर रजिष्ट्रार, शेयर दलाल, बैंक लगायतका निकायलाई पनि आफ्ना ग्राहकको पहिचान गर्न र करसम्बन्धी अभिलेख ब्यवस्थित गर्न सघाउ पुग्नेछ । यस विषयमा नियामक निकायहरुले सराेकारवाला सबैमा प्यान नम्बर लिने प्रक्रिया चरणबद्ध र अरु सरल बनाउनु जरुरी आवश्यक देखिन्छ ।
दोस्रो बजारको लगानीकर्ताहरुलाई २०७६ बैशाख १ देखि अनिवार्य प्यान लागू गर्ने सूचनाले लगानीकर्ताहरुमा निराशा पैदा भएको हो । जसले साताको पहिलो दिन आइतबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।
आइतबार नेप्से परिसूचक १०.६८ अंकले घटेर ११६२.०९ बिन्दुमा झरेको छ । यस दिन १६४ कम्पनीका ११ लाख ८५ हजार ८७२ कित्ता शेयर किनबेच हुँदा ३४ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भयो । बिहीबारको तुलनामा कारोबार रकम भने २ करोड ४९ लाख रुपैयाँले बढेको छ । बिहिबार ३१ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आइतबार कारोबारमा आएका सबै १० वटै उपसूचक ऋणात्मक भएका छन् । जसमध्ये सबैभन्दा धेरै निर्जीवन बीमाको सूचक ९३.७५ अंकले घटेको छ । यस्तै जीवन बीमा ६९.९३, उत्पादन तथा प्रशोधन २१.६४, हाइड्रोपावर १६.४१, माइक्रोफाइनान्स १२.६९, होटल्स १२.५२ अंकले ऋणात्मक भएका छन् । यसैगरी विकास बैंक १०.०३, वाणिज्य बैंक ८.३९ अन्य ४.४६ र फाइनान्स १.८ अंकले ओरालो लागेका छन् ।
यसदिन पनि अपर तामाकोशीको सबैभन्दा धेरै कारोबार भएको छ । राष्ट्रिय गौरवको यस आयोजनाको शेयर सूचीकरणपछि नै कारोबार वृद्धि हुँदै आएको छ । आइतबार तामाकोशीको एक लाख २१ हजार ११७ कित्ता शेयर ३ करोड २४ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ।
नेपाल बैंकको एक करोड ६० लाख, जनता बैंकको संस्थापक शेयर एक करोड ४३ लाख, नागरिक लगानी कोषको एक करोड १५ लाख, एनआईसी एशिया बैंकको एक करोड ६ लाख र एनएमबि बैंकको एक करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बाँकी कुनै कम्पनीको शेयर कारोबार रकम करोड नाघ्न सकेन ।
यसदिन सबैभन्दा धेरै समता माइक्रोफाइनान्सको शेयरमूल्य ३.७८ प्रतिशतले बढेको छ । यस्तै आइतबारको बजारबाट कन्काई विकास बैंकका शेयरधनीहरुले ३.२५ र ग्रीन डेभलपमेन्ट बैंकका शेयरधनीले २.८८ प्रतिशतले कमाएका छन् । सामुदायिक लघुवित्त, युनाइटेड फाइनान्स, आरएसडीसि लघुवित्त, प्राइम बैंक र रिडी हाइड्रोपावर कम्पनीको शेयर मूल्य एक प्रतिशत बढीले बढेको छ ।
यता छ्याङदी हाइड्रोपावरको शेयरको मूल्य सबैभन्दा धेरै ६.५४ प्रतिशतले घटेको छ भने जनता बैंकको संस्थापक शेयरधनीहरुले ६.४२ प्रतिशतले गुमाएका छन् । बरुण हाइड्रोपावर, लक्ष्मी लघुवित्त, रिलायन्स फाइनान्स, ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य पनि ३ प्रतिशत भन्दा बढीले घट्न पुगेको छ ।
नेशनल हाइड्रोपावर, श्री इन्भेष्ट एण्ड फाइनान्स, अपर तामाकोशी, फरवार्ड कम्युननिटी लघुवित्तका शेयरधनीहरुले पनि आइतबार २ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।