प्यानमा कृतिम आतङ्क: जोसँग प्यान छ उसैले किन गर्छ विरोध ?

Jan 29, 2019 Merolagani

- परमेश्वर अधिकारी
शेयर बजारका लगानीकर्तालाई स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध गराउने विषयमा छलफल मात्र भए यता बजार निरन्तर ओरालो लागिरहेको छ। बजार सुधारका कुरा गर्नेहरु नै प्यानको विरुद्धमा उत्रिएर गलत किसिमका व्याख्या गर्न थालेपछि आम लगानीकर्तामा त्यसको नकारात्मक असर देखिएको कुरालाई नकार्न सकिन्न ।

केही समय पहिले नै प्यानका विषयमा चर्चा नभएको हैन। त्यस बेला पनि प्यान अनिवार्य गरेको खण्डमा बजारबाट सर्वस्व नै गुम्ने भन्दै बिरोधहरु यत्रतत्र सर्वत्र देखिए। तर उनीहरुले आम लगानीकर्तालाई बुझाउन नसकेको मुख्य विषय यो हो कि प्यान अनिवार्य गर्दा के कारणले सर्वस्व गुम्छ ?

जोसँग प्यान छ उसैले गर्दैछ विरोध

यो प्रकरणमा महत्वपूर्ण अनि चुरो कुरो के हो भने जोसँग अहिले नै प्यान छ, अनि उसले शेयर कारोबारका दौरान प्यानलाई प्रणालीमा आबद्ध गराई सकेको छ, उ नै प्यानको विरोध गर्दै हिँडिरहेको छ। यसले सामान्य लगानीकर्ताहरुलाई करप्रणालीमा आबद्ध मात्र हुनबाट पनि बञ्चित गराउन महत्वपूर्ण भुमिका खेलिरहेको छ ।

साथै आफू प्यानमा आबद्ध भैसकेर अरुलाई प्यानमा आउनबाट अवरोध गर्ने खेल किन भैरहेको छ भन्नेमा सामान्य लगानीकर्ताहरु सचेत हुनु पर्ने देखिएको छ। साथै उसले शेयर कारोबारका क्रममा आफ्नो प्यान नम्बर इन्टिग्रेट गर्दाको अनुभव किन आम लगानीकर्तासँग बाँडिरहेको छैन ? भन्ने विषय गम्भिर बनेको छ ।

बजारमा यस्ता पात्रहरुले प्यानको विषयमा मात्र नभई समयसमय हुने कुनै पनि किसिमका कुरालाई नकारात्मक रुपमा व्याख्या गराउँछ। अनि घट्दो बजारमा प्रवेश गर्छ। आम लगानीकर्ताले यदि कोही व्यक्ति जो अलि धेरै कारोबार गर्ने हो भनेर यस्तो अवस्थामा सल्लाह मागेको छ भने उसले आफूले बेच्नुपर्ने शेयर किन्न सल्लाह दिईरहेको हुन्छ। त्यसै गरी आफूले किन्न चाहेको शेयर बेच्न आम लगानीकर्तालाई उक्साईरहेको हुन्छ ।

घटाएर शेयर किन्ने खेल

सरकारले बजेटका साथै नीति तथा कार्यक्रमबाट यो विषयमा गृहकार्य थाल्ने बताइसकेको सन्दर्भ अहिले छलफल चलेको हो। तर बजारमा आज नै प्यान कार्यान्वायनमा आईसक्यो,अनि प्यानकै कारण सबै लगानीकर्ताले आफ्नो कारोबार रकमभन्दा धेरै कर राज्यलाई तिरिसके भन्ने किसिमका सनसनीपूर्ण बिचारहरु प्रवाह भैरहेका छन्।

नेपाल स्टक एक्चेञ्जले प्यान कार्यान्वायनका विषयमा छलफल सुरु गरेका दिनदेखि आज मंगलबारसम्म आई पुग्दा बजार परिसूचक नेप्सेमा फरक-फरक किसिमका गति देखिएका छन्। जहाँ साताको पहिलो दिन दोहोरो अङ्कले घटेको बजार सोमबार झिनो अङ्कले उकालो लाग्यो। मंगलबार फेरी झण्डै ४ अंकले तल झर्यो ।

प्यानको विषयलाई मुद्धा बनाउनेहरुले यो अवधिमा नै बजारमा उल्लेख्य आकारमा शेयर सकारे। अब बजार केही उकालो लाग्दै गर्दा त्यो शेयरको बिक्री चाप आउनेछ। र त्यो दिन पनि प्यानको विषयलाई विभिन्न रुपमा व्याख्या गर्ने निश्चित छ।

तपाईले हरेक दिन तिरेको करबाट के छुट पाइरहनु भएको छ ?

घरबाट उठेर बाहिर निस्किएपछि पाइलै पिच्छे खर्च गर्ने आम नागरिकले धेरै थोरै जति भए पनि कर तरिरहेका छन्। तर त्यस्ता व्यक्तिले तिरेको करको फाइदा व्यवसायिक घरानाहरुले लिईरहेका छन् ।

आफूले तिरेको कुनै पनि किसिमको कर वापतको सेवा सुविधाको उपभोग गर्ने हो भने आम लगानीकर्ता मात्र नभई सबै सर्वसाधारणले स्थायी लेखा नम्बर लिनुपर्ने अहिलेको आवश्यकता हो । यसले शेयर बजारमा के भयो, कति कर तिरेर नोक्सानी भयो हैन कि वर्ष भरीमा पाइलै पिच्छि गरिने खर्च वापत कति कर तिरियो भन्ने आँकडा कर कार्यालयबाट लिन सकिन्छ। तर हरेक कारोबारमा तपाईले आफ्नो प्यान नम्बरको प्रयोग गर्नुपर्छ ।

रह्यो शेयर बजारको कुरा । सामान्य लगानीकर्ताले थोरै रकमको शेयर कारोबार गर्दा अहिले पनि कर कट्टी भएको रकम मात्र पाउने हो । तर यस्को विवरण कतै पनि छैन । सानो सानो रकमको धेरै कारोबारबाट अहिले पनि राज्यले ठूलो रकम कर पाई रहेको छ । जसको आकार ठूला भनिएका केही कारोबारीहरुले तिर्ने करको भन्दा धेरै हुन आउँछ। अब आफुले तिरेको करको जानकारी राख्दै त्यस वापत पाउने सेवा लिने कुरामा तपाईलाई कसैले बहकाउँछ भने उसैको पछि कुद्ने कि आफ्नो सहजता खोज्ने ?

संस्थागत तथा ठूला कारोबारीहरु अहिले पनि प्यानको दायरमा रहेर शेयर कारेबार गरिरहेका छन् र कर पनि तिरिरहेका छन्। सामान्य लगानीकर्ताको हकमा पनि हुने त्यहि नै हो। प्यानलाई अनिवार्य गरिँदैमा अहिले तिर्दै आएको करको आकार बढेर आफ्नो प्रतिफल शुन्य हुन्छ भन्ने हुँदै हैन । अहिले तिरिरहेको करको सबै जानकारी आफैँले सहज रुपमा पाउन प्यानले सहयोग गर्छ ।

यस कारण हल्ला धेरै

प्यानलाई अनिवार्य गर्दै गर्दा लगानीकर्ताको बैंक खाताको कारोबार विवरण, शेयर कारोबारको विवरण लगायतका विषयलाई इन्टिग्रेट गरेर शेयर बजारमा भैरहेका अनाधिकृत कृयाकलाप निरुत्साहित हुने अवस्था रहन्छ। अहिले बजारमा अधिक मात्रामा यस्तै कारोबार र कृयाकलापहरु भैरहेका छन् । यसमा सामान्य लगानीकर्तालाई फसाउने मात्र गरिँदै आएको छ।

प्यान अनिवार्य भएपछि बजारमा हुने यस्ता चलखेलमा केही मात्रामा भए पनि सुधार आउँछ। जसको प्रत्यक्ष सकरात्मक असर आम लगानीकर्तामा पर्छ। अर्थात अहिले कुनै न कुनै रुपमा आम लगानीकर्तालाई धारमा राखेर कमाई गर्नेहरु त्यस्तो कमाई आम लगानीकर्तासम्म पुगोस भन्ने देख्न चाहँदैनन्। जसका कारण आफू प्यानमा आबद्ध भए पनि आम लगानीकर्तालाई प्यानमा ल्याउन दिनु हुँदैन भन्ने कुतर्क गरेर हिड्छन् ।

प्रणालीको कुरो

आज विश्वका अधिकांश मुलुकका नागरिक मासिक रुपमा होस् वा त्रैमासिक रुपमा होस् वा वार्षिक रुपमा होस्, घरमा बसेर मोबाइलबाट राज्यलाई कर तिर्न सक्छन् । किनकी उनीहरुकोमा प्रणाली त्यस्तै बनाइएको छ। सबै नागरिक करका विषयमा मात्र नभई हरेक विषयमा राज्यको एउटा केन्द्रिकृत प्रणालीमा आबद्ध छन्। जसका आधारमा हरेक नागरिकले गर्ने कुनै पनि किसिमको कृयाकलापको रेकर्ड राज्यसँग हुन्छ। त्यसै आधारमा नागरिक आफ्ना अरु कृयाकलापलाई अघि बढाउँदै लैजान्छन्।

हामीकहाँ यसरी नागरिकलाई जोड्ने कुनै प्रणाली अहिलेसम्म छैन। अलग अलग निकायमा भएका तथ्यांकहरुलाई एकीकृत गर्ने गतिलो माध्यम यहि प्यान बन्न सक्छ।

एउटा प्रणालीको विकास नहुञ्जेल कर प्रणालीमा सहजीकरण हुने कुरामा हामी विश्वस्त हुन सक्दैनौं। र यसको सुरुवात शेयर बजारका लगानीकर्ता मात्र नभई आम उपभोक्ताबाट पनि गरिनुपर्छ । यसका लागि आवश्यक पुर्वाधार, सहजै प्रणालीमा आबद्ध भएर प्यान नम्बर लिने व्यवस्था भने राज्यले गर्नुपर्छ।

अर्थतन्त्र सुधारको चिन्ता गर्ने हामी कर प्रणालीमा आबद्ध हुनबाट नै भाग्ने हो भने आफैँले राज्यलाई तिरेको कर वापतको सुविधा पाउनबाट बञ्चित हुने निश्चित छ ।

विभिन्न विषयलाई जोडेर भएका टीका टिप्पणीको कुनै अर्थ रहन्न। कुन निकायलवे के काम गरिरहेको छ, कसको स्वार्थमा के भैरहेको छ भन्ने विषयलाई पाखा लगाएर स्वेच्छिक रुपमा आम लगानीकर्ताले स्थायी लेखा नम्बर लिने मात्र हो भने प्यान अनिवार्य गरिएका दिन हतारोको सामाना गर्नुपर्दैन ।

अहिले बजार जसरी चलेको छ, प्यान अनिवर्य भए पछि पनि त्यसरी नै चल्नेमा दुई मत रहँदैन। अहिलेको जस्तै केही हल्लाखोरहरुका कारण कुनै एक दिन बजारमा सामान्य असर देखिएला भन्ने आँकलन मात्र हो । लगानीकर्ता सजग हुने हो भने प्यानको वियलाई लिएर शेयर बजार दोहोरो अंकले घटेको एक मात्र दिन अर्थात २०७५ साल मात्र १३ गते आइतबार हो भन्ने अवस्था आम लगानीकर्ताको उत्साहले नै बनाउन सक्छ ।

छलफल र मोडालिटीमा तयारी जरुरी

अहिले हामीले विभिन्न शिर्षकमा फरक फरक दरमा तिर्दै आएको कर प्यानमा आबद्ध भएपछि एउटै दरमा तिर्नु पर्ने हो कि भन्ने चासो आम लगानीकर्तामा छ । यसलाई राज्यले प्रष्ट पार्दै आयस्रोतका आधारमा वर्गीकरण गर्ने, शेयर बजारकै सन्दर्भमा भन्दा लगानीको आकार, कारोबार अवधि लगायत विविध पक्षलाई हेरेर करका दरमा भने प्रष्ट धारण बनाउन जरुरी छ। यसले आम लगानीकर्तालाई प्यानमा आबद्ध हुँदैमा बजार समस्यामा पर्ने हैन भन्ने बुझ्न पनि सहज अवस्था बनाउँछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।