खुद नाफा ८१.६९ प्रतिशत बढ्याे
चालु आवकाे ६ महिना अवधिमा छिमेक लघुवित्तले ३९ करोड २३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। गत आवको पुस मसान्तको तुलनामा कम्पनीले ८१.६९ प्रतिशत अर्थात १७ करोड ६४ लाख रुपैयाँ धेरै नाफा कमाएको हो ।
गत आवकाे पुस मसान्तमा लघुवित्तले २१ कराेड ५९ लाख रूपैयाँ मात्र खुद नाफा आर्जन गरेकाे थियाे ।
जगेडा काेष दाेब्बर
गत आर्थिक वर्षकाे पुस मसान्तकाे तुलनामा लघुवित्तकाे जगेडा कोषकाे आकार दोब्बर बनेकाे छ । समीक्षा अवधिमा जगेडा कोषको आकार ७३ करोड १० लाखबाट एक अर्ब ५६ करोड ११ लाख पुगेको हाे। राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीले छिमेक समाज सेवा संस्थाको नाममा गरेका लगानीहरू समेत जगेडा काेषमा सञ्चित गरेकाले जगेडा थप मजबुत बनेकाे हाे ।
चुक्ता पूँजीभन्दा जगेडा कोष मजबुत रहेकाले कम्पनीको लगानीमा जोखिम ब्यवस्थापन धेरै सहज देखिन्छ।
प्रतिशेयर आम्दानी ३५ रुपैयाँ बढ्याे
कम्पनीको चुक्ता पूँजी पूँजी एक अर्बमा स्थिर छ। पूँजी स्थिर रहँदा कम्पनीको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ बढेर ७८ रुपैयाँ ४७ पैसा कायम भएको छ ।
गत आवको पुसमा लघुवित्तको इपिएस ४३ रुपैयाँ १९ पैसा रहेको थियो ।
राष्ट्र बैंकमा पुन: लाभांश प्रस्ताव
नेपाल राष्ट्र बैंकले औंल्याएको कैफियतहरु सच्चाएर लघुवित्तले गत वर्षको कमाईबाट शेयरधनीलाई वितरण गर्ने लाभांश पुन: स्वीकृतीका लागि पठाएको छ। संस्थाले यसअघि प्रस्ताव गरेकै १८ प्रतिशत बोनस तथा २२ प्रतिशत नगद लाभांश गरि कूल ४० प्रतिशत लाभांश वितरण गर्न राष्ट्र बैंकमा प्रस्ताव पेश गरेको हाे ।
राष्ट्र बैंकले छिमेक समाज सेवा संस्थाले सुरक्षण बापत जम्मा भएको रकमबाट गरेका लगानीहरु छिमेक लघुवित्तको नाममा फिर्ता ल्याई सो लगानीहरु विनिवेश नगरुन्जेलसम्म लाभांश स्वीकृत नगर्ने यसअघि निर्णय गरेको थियो । हाल कम्पनीले राष्ट्र बैंकको निर्देशन बमोजिम छिमेक समाज संस्थाको सबै प्रकारको सम्पत्ति तथा लगानी लघुवित्तको मातहतमा ल्याइसकेको जनाएको छ।
१३ अर्ब निक्षेप संकलन,१७ अर्ब ८७ करोड कर्जा परिचालन
छिमेक लघुवित्तले समीक्षा अवधिमा १३ अर्ब १९ करोड ११ लाख निक्षेप संकलन तथा ४ अर्ब ६१ करोड ४६ लाख सापटीबाट १७ अर्ब ८७ करोड १२ लाख कर्जा लगानी गरेको छ । यस अवधिमा कम्पनीले निक्षेप संकलन ३०.२७ प्रतिशत र कर्जा लगानी विस्तार २९.८१ प्रतिशतले बढाएको हो ।
यसबाट कम्पनीले ८० करोड ७५ लाख खुद ब्याज आम्दानी गरेको छ । जुन गत बर्षको तुलनामा ३८ प्रतिशत अर्थात २२ करोड २३ लाख रुपैयाँ बढी हो ।
गुणस्तरिय सेवा प्रदान गरेका कारणले संस्थाके आम्दानी र मौज्दात र तरलता व्यवस्थापनामा सोचे अनुसारको सफलता प्राप्त गरेको कम्पनीले जनाएको छ । ग्रामिण तहमा सिधा कर्जा प्रवाह गर्ने यस लघुवित्तले ६७ जिल्लाका १३४ शाखा कार्यालय मार्फत तीन लाख ६२ हजार सदस्यहरुमा सेवा प्रदान गर्दै आएको जनाएको छ ।
राष्ट्रिय स्तरमा थोक कर्जा प्रवाह गर्ने लघुवित्तको निस्क्रिय कर्जा अनुपात ०.२३ प्रतिशतमा छ । यस्तै लघुवित्तको मूल्य आम्दानी अनुपात ११.०५ गुणा र प्रतिशेयर नेटवर्थ २५६ रुपयाँ १२ पैसा हुनु अर्को बलियो पक्ष हो ।
छिमेकलाई हिमालयन बैंक, बैंक अफ काठमाण्डू लगायतका वाणिज्य बैंकहरुले प्रबद्र्धन गरेका कारण पनि यो संस्था सधै प्रगतिउन्मुख देखिँदै आएको छ ।