आइतबार बरुण हाइड्रोको वित्तीय विवरण हेर्ने अधिकांश लगानीकर्ता पनि यस्तै समस्यामा परेका छन्। कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा ३७ लाख रुपैयाँ खुद नाफा देखाइएको छ ।
अघिल्लो त्रैमासमा १ करोड १५ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको कमाई एकाएक दोस्रो त्रैमासमा कसरी ३७ लाख ४२ हजार रुपैयाँमा झर्यो भन्ने चासो आम लगानीकर्तामा परेको छ ।
यसरी घटेको देखाइयो खुद नाफा
कम्पनीको वित्तीय विवरणमा अलग अलग त्रैमासको मात्र विवरणलाई देखाइएको छ । अर्थात त्रैमासपछि नाफा समायोजन हुँदै जानुपर्नेमा कम्पनीले दोस्रो त्रैमासको मात्र वित्तीय विवरणलाई राखेको छ ।
यसले कम्पनीको कमाई औसतमा बढेको अवस्थामा पनि खुद नाफामा भारी गिरावट आएको जस्तो देखिएकाे छ। कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड १५ लाख ८४ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
दोस्रो त्रैमासमा मात्र कम्पनीले ३७ लाख ४२ हजार रुपैयाँ खुद नाफा गरेको देखाइएको छ। तर विवरणमा उक्त आँकडा अघिल्लो त्रैमासको विवरणमा जोडेर आउने गरेको संस्कार हामीकहाँ हुँदा लगानीकर्तामा अन्यौलता देखिएको हो ।
अरु कम्पनीको वित्तीय विवरणको शैलीलाई हेर्ने हो भने पहिलो त्रैमासको कमाई समेत गरेर बरुण हाइड्रोले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ५३ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको देखिन्छ ।
मेरोलगानीसँग कुरा गर्दै बरुण हाइड्रोका प्रबन्धक विकास गिरीले धितोपत्र बोर्डको निर्देशनमा वित्तीय विवरणमा एउटा मात्र त्रैमासको विवरण राखिएको बताए। यसले कुनै न कुनै रुपमा सामान्य लगानीकर्ता अलमलमा पर्नसक्ने उनको स्वीकारोक्ती छ ।
२५ करोड ५१ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा झण्डै आधा घटेका कारण त्रैमासिक आधारमा कम्पनीको खुद नाफा वृद्धिमा संकुचन देखिएको हो ।
पहिलो त्रैमासमा विद्युत बिक्रीबाट ३ करोड १३ लाख १५ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले दोस्रो त्रैमासमा १ करोड ८२ लाख २३ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ ।
प्रतिशेयर आम्दानी गोलमटोल
अझ कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको प्रतिशेयर आम्दानी तथा मूल्य आम्दानी अनुपातको विवरणमा गम्भिर त्रुटी छ । विवरणमा उल्लेख गरिएको प्रतिशेयर आम्दानी १० रुपैयाँ ७९ पैसा निकालिएको आधार कुनै विवरणसँग मेल खाँदैन ।
अर्थात कम्पनीको अहिलेको खुद नाफाका आधारमा हिसाब गर्दा, अथवा पहिलो र दोस्रो त्रैमासको समायोजित खुद नाफाका आधारमा वा पहिलो त्रैमासको खुद नाफाका आधारमा प्रतिशेयर आम्दानी गर्दा वित्तीय विवरणको प्रतिशेयर आम्दानीसँग मेल खाँदैन ।
कम्पनीका प्रबन्धक विकास गिरीका अनुसार पहिलो त्रैमासको खुद नाफामा दोस्रो त्रैमासको खुद नाफाका साथै गत आर्थिक वर्षको सञ्चित नाफालाई समेत जोडेर प्रतिशेयर आम्दानी गणना गरिएको हो ।
नियमनकारी निकाय के भन्छ ?
प्रत्यक्ष नियमनकारी निकाय नभएका कम्पनीको हकमा नेपाल धितोपत्र बोर्डले नियमनको काम गर्दै आएको छ। बरुण हाइड्रोका साथै अन्य कम्पनीको वित्तीय विवरणका सम्बन्धमा बोर्डसँग जिज्ञासा राख्दा भएको के हो हेरेर मात्र भन्न सकिने प्रतिकृया आएको छ ।
यस सम्बन्धमा मेरोलगानीले अरु कम्पनीहरुको भद्रगोल शैलीको वित्तीय विवरणका साथै धितोपत्र बोर्डको धारणा सहित थप फलोअप गर्नेछ ।