प्रतिकित्ता शेयरमूल्य ७१५ रहेको कम्पनीको प्रतिशेयर आम्दानी साढे २ रुपैयाँ !

Feb 08, 2019 Merolagani

शेयर बजार घटेर ११४० बिन्दुमा आएपनि थोरै कमाइ गर्ने कतिपय यस्ता कम्पनीहरुको शेयरमूल्य भने विविध कारणले अहिले पनि उच्च छ। कम्पनीले गर्ने कमाइको आधारमा मूल्य निर्धारण भन्दा माग र आपूर्तिलाई हतियार बनाउँदै कारोबारीको चलखेलका कारण पनि यस्ता कम्पनीहरुको मूल्य बढ्ने गरेको छ ।

सिद्धान्तत मूल्य आम्दानी अनुपात २० गुणा रहेको कम्पनी लगानीका लागि उपयुक्त हुने बताइन्छ । सर्पोट मात्र हैन नेपालका प्राय सबै लघुवित्त कम्पनीहरुको चुक्ता पूँजी कम भएका कारण आम्दानीको तुलनामा शेयरमूल्य निकै उच्च छ । जसले लघुवित्त कम्पनीहरुमा लगानी गर्न पनि उत्तिकै जोखिम देखिन्छ ।

यस्तो छ माईक्रोफाइनान्सको दोस्रो त्रैमास

सपोर्ट माईक्रोफाइनान्स (SMB) को धितोपत्र माघ २४ गते बिहीबार दोस्रो बजारमा प्रतिकित्ता शेयरमूल्य ७१५ रुपैयाँमा कारोबार भएको छ। दोस्रो त्रैमासिक रिर्पोट अनुसार कम्पनीको प्रतिशेयर आम्दानी भने वार्षिक दुई रुपैयाँ ४० पैसा मात्र छ। कम्पनीको शेयरमूल्य र आम्दानीको अनुपात गणना गर्ने हो भने २९७ .९२ गुणाको खाडल देखिन्छ।

चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको सर्पोट माईक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ लाख रुपैयाँ १८ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । गत आवको यसै अवधिको तुलनामा माईक्रोफाइनान्सले ६८ प्रतिशतले नाफा बढाएको हो । गत आवको यसै अवधिमा कम्पनीको खुद नाफा ४ लाख २७ हजार मात्र रहेको थियो ।

कम्पनीको जगेडा कोषको आकार पनि कमजोर छ। माईक्रोफाइनन्सको जगेडा कोषमा ४१ लाख ७२ हजार रुपैयाँ सञ्चित छ । गत आवको १६ लाख ७२ हजार रहेको जगेडा कोष पनि कम्पनीले १४९ प्रतिशत अर्थात दुई लाख ९१ हजारले बढाएर पुर्याएको हो ।

पुस मसान्तसम्ममा १० करोड १९ लाख रुपैयाँ निक्षेप संकलन तथा ४२ करोड ३९ लाख रुपैयाँ रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट सापटी गरेर ४७ करोड ४३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट कम्पनीले एक करोड ३७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गतवर्षको तुलनामा ३१ लाख रुपैयाँ धेरै हो ।

समीक्षा अवधिमा माइक्रोफाइनान्समा खराब कर्जाको अनुपात बढेको देखिन्छ । गत वर्षको यसै अवधिमा १.५३ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर चालू आवको दोस्रो त्रैमासमा ३.५३ प्रतिशत पुगेको छ ।
माईक्रोफाइनान्सको वार्षिक प्रतिशेयर आम्दानी २ रुपैयाँ ४० पेसा र प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ४८ पैसा छ ।

रिर्पोट विश्वास गर्नै गाह्रो

नियामक निकाय नहुने कम्पनीहरुले मात्र विश्वास गर्न गाह्रो हुने वित्तीय विवरण प्रकाशन गर्ने गरेका छन् । यसले कम्पनीका अन्य सहि विवरणमा पनि आशंका गर्नुपर्ने अवस्था सिर्जना भएको छ । तर सपोर्टको हकमा भने नियामक निकाय हुँदा हुँदै पनि यस्तो वित्तीय विबरण सार्वजनिक भएको हो ।

सर्पोट माईक्रोफाइनान्सले नै प्रकाशित गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिको वित्तीय विवरणको प्रमुख वित्तीय अनुपातमा मूल्य आम्दानी ५३५ गुणा बढी देखाएको छ । जुन उसैले प्रकाशित गरेको विवरणले पुष्टि गर्न सक्दैन ।

 

वित्तीय विवरणको बुँदा ४ को 'ख' मा माइक्रोफाइनान्सको यस त्रैमासमा कारोबार भएको शेयरमूल्य उल्लेख गरेको छ । जसमा अधिकतम प्रतिकित्ता ८०३ र न्यूनतम ५६२ रुपैयाँमा यस त्रैमासमा कारोबार भएको उल्लेख छ ।

अधिकतम शेयरमूल्य ८०३ रुपैयाँलाई आधार मान्दा पनि माइक्रोफाइनान्सको मूल्य आम्दानी अनुपात ३३४.५८ गुणा मात्र बढी देखिन्छ । अब प्रश्न उठ्छ कम्पनीले कसरी ५३५ गुणा उल्लेख गर्यो । कम्पनीको आम्दानी अनुपात ५३५ गुणा मूल्य आम्दानी हुनका लागि कम्पनीको शेयर प्रतिकित्ता १२८४ रुपैयाँमा कारोबार भएको हुनुपर्छ ।

यसअघि नयाँ नेपाल लघुवित्तले प्रकाशित गरेको चालू आवको दोस्रो वित्तीय विवरणमा पनि मूल्य आम्दानी अनुपातमा पनि यस्तै गडबढी देखिएको थियो ।

दोस्रो त्रैमासिक प्रतिवेदन एकैपटक धेरै कम्पनीहरुले प्रकाशित गर्ने र कम्पनीहरुका यस्तै गडबढीका कारण आम लगानीकर्ता मात्र यस क्षेत्रमा काम गर्ने आर्थिक पत्रकारहरुबाट पनि कतिपय अवस्थामा लगानीकर्तालाई गलत सूचना प्रवाह हुने गरको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।