ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि शुरु गरेको ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कार्यक्रमको पहिलो शेयरधनी आफू बन्ने घोषणा गरेका हुन् ।
प्रधानमन्त्रीले नेपाली जनताको सानोतिनो र निष्क्रिय रहेको पैसाको सदुपयोग गरेर जलविद्युत् क्षेत्रको विकासमा लगानी गर्ने र सुखी नेपाली, समृद्ध नेपालको सङ्कल्प पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले नेपालको विकास र समृद्धिका लागि सबैको साथ र सहयोग जरुरी रहेको स्पष्ट पार्दै “केही मानिसलाई अचम्म लागेको र असम्भव ठानिएका विषयलाई समेत हामी क्रमशः अगाडि बढाउँदै लैजाने बताए ।
प्रधानमन्त्रीले नेपालको समृद्धि र विकासका लागि आन्तरिक स्रोतको परिचालन र व्यवस्थापन नै महत्वपूर्ण भएको उल्लेख गर्दै अपुग भएको पैसा मात्रै विदेशी संस्थाबाट भित्र्याइने बताए ।
प्रधानमन्त्रीले धेरै मुनाफा हुने क्षेत्रमा लगानी गर्न आग्रह गर्दै ससाना र निष्क्रिय बसेका पैसालाई गतिशील क्षेत्रमा परिचालन गर्न वर्तमान सरकार क्रियाशील रहेको उल्लेख गरे ।
नेपाल दक्षिण एशियामा पहिलो पटक विद्युत् उत्पादन गर्ने देश भए पनि विगतका नीति र कार्यक्रमका कारण उल्लेख्य प्रगति हुन नसकेको बताउँदै प्रधानमन्त्रीले वर्तमान सरकारले आधार तयार पारेको र अबको एकाध वर्षभित्रै देशले काँचुली फेर्ने विश्वास व्यक्त गरे ।
हरेक दिन सरकार एक कदम अगाडि बढेको जानकारी दिँदै उनले बुधबार कोही पनि नेपाली बेरोजगार बस्नु नपर्ने कार्यक्रमको शुरुआत भएको, बिहीबार मात्रै नेपालमा पानीजहाज कार्यालय खुलेको र जनताको लगानीमा जलविद्युत् आयोजनाको समेत शुरुवात गरिएको स्पष्ट पारे ।
वर्तमान सरकारले विकासका लागि कानूनी, प्राविधिक र संरचनागत आधार तयार पारेको जानकारी दिँदै प्रधानमन्त्रीले गरीब नेपालको परिचयलाई बदलेर सबै चिज भएको सम्पन्न नेपालीमा रुपान्तरण गर्ने महाअभियान शुरु भएको उनको भनाइ थियो ।
कूल जनसङ्ख्याको ४० प्रतिशत युवा र ६० प्रतिशत बढी सक्रिय जनशक्ति भएको नेपालले एकाध वर्षमा ठूलो प्रगति हासिल गर्नेछ भन्दै प्रधानमन्त्रीले देश बनाउने महाभियानमा सबैको साथ र सहयोगसमेत जरुरी रहेकामा जोड दिए ।
-राससकाे सहयाेगमा